s

१२ वर्ष विदेश बसेर फर्केपछि गाईपालनबाट उन्नति

दीपक बोहरा

 

कुनै समय विदेशमा चर्को घाममा पसिना बगाउँदै मजदुरी गर्थे, दाङ–तुलसीपुर उपमहामनगरपालिका वडा नं. ३ डाँडाखुट्टीनिवासी तेजबहादुर केसी । तर, अहिले उनको आफ्नै गाई फार्म छ । १२ वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले उनलाई आत्मसम्मान, इज्जत, प्रतिष्ठाका साथै आम्दानी पनि बढाएको छ । उनले रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष दुबई र तीन वर्ष साउदीमा बिताएका छन् । 

अर्काको देशमा पसिना बगाउँदा उनलाई लाग्यो, ‘यति मिहिनेत नेपालमै गरे त आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ ।’ त्यसपछि उनले आफ्नै गाउँ फर्केर पशुपालन गर्ने सोच बनाए । ०६१ सालदेखि लगातार १२ वर्षको विदेश बसाइ टुंग्याएर ०७४ सालदेखि व्यावसायिक गाईपालनमा लागे । ‘मिहिनेत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, हामीले अहिले जुन पसिना विदेशमा खेर फालिरहेका छौँ, त्यो पसिना नेपालमै बगाउनुपर्दो रहेछ,’ उनले भने, ‘अब विदेश जाने व्यक्तिहरूले यो विषयमा सोच्नुपर्छ ।’ 

उनले अहिले मासिक करिब एक लाख २० हजारको कारोबार गर्छन् । सबै खर्च कटाएर ५० देखि ८० हजारसम्म मासिक आम्दानी हुने उनको भनाइ छ । घरपरिवारसँग पनि छुट्नुनपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनी बताउँछन् । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गरेका हुन् । अहिलेसम्म उनले उक्त संस्थाबाट पाँच लाखसम्म ऋण लिइसकेका छन् । आफूसँग पैसा नहुँदा ऋण लिएर भए पनि व्यवसाय गर्न सकिने उनी बताउँछन् ।

उनले हाल १८ वटा गाई पालेका छन् । तीमध्ये सातवटा गाईले दूध दिन्छन् । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुने र बिक्री गर्ने गरेका छन् । हाल उनले होलिस्टेन र जर्सी गाईपालन गरेका छन् । गाईपालन मात्रै नभई उनले बाच्छा बेच्ने पनि गरेका छन् । उक्त व्यवसायमा ३०–३५ लाखको हाराहारीमा लगानी भएको छ । ‘अहिलेसम्म जति लगानी भएको थियो, त्यो सबै लगानी उठिसकेको छ,’ उनी भन्छन्, ‘लगानी उठेर पनि चार कट्ठा जग्गा लिइसकेको छु ।’ बुबाआमाले पनि कृषि तथा पशुपालन नै गरेकाले आफूले पनि त्यही पेसा अँगालेको उनी बताउँछन् । उनले अहिले १० हजार तलब दिएर कर्मचारी पनि राखेका छन् । उनले चितवनबाट ८० हजारदेखि एक लाख रुपैयाँसम्ममा गाई खरिद गरेर ल्याएका हुन् ।

बोयर बाख्रापालन

उनले बोयर बाख्रा पनि पालन गरेका छन् । मुलुकमा भएको कोभिड संक्रमणका कारण गाईको दूध बिक्री हुने अवस्था नभएपछि पहिलो लकडाउनको समयमा उनले बाख्रापालन पनि सुरु गरेका हुन् । उनका खोरमा २६ वटा बाख्रा छन् । बाख्राबाट हाल वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन् । ‘लकडाउनमा गाईको दूध बिक्री हुने अवस्था नभएपछि ब्यालेन्स गर्नलाई बाख्रा पनि पालन सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले त्यसैलाई निरन्तरता दिएको छु, यसलाई अझै व्यवस्थित बनाएर लैजाने योजना बनाएको छु ।’ 

परिवार पनि खुसी

यो व्यवसायबाट परिवार पनि त्यतिकै खुसी छन् । ‘श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो,’ श्रीमती सरिताले भनिन्, ‘तर, अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।’ पहिले दूध किनेर खाने उनीहरू अहिले आफैँले गाईपालन गरेपछि घरमै खान पनि सजिलो भएको छ ।  

व्यवसायी प्रोत्साहन गर्न कर्जा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले व्यवसायीहरूलाई हौसला प्रदान गर्न कर्जाहरू प्रदान गर्दै आएको छ । यही कर्जाले व्यवसायीहरूलाई ऊर्जा थप्ने गरेको संस्थाका तुलसीपुर शाखा प्रबन्धक चन्द्रबहादुर थापाले बताए । ‘हामीले व्यावसायिक रूपमा जोडिन चाहनेलाई ऋण दिने गरेका छौँ,’ उनले भने, ‘यसले व्यवसायीहरूको मुहान नै परिवर्तन गरिदिएको छ ।’ संस्थाको तुलसीपुर शाखामा पाँच हजार दुई सय सदस्य छन् । तीमध्ये तीन हजारजनालाई यस्तो ऋण लगानी गरिएको प्रबन्धक थापा बताउँछन् । उनका अनुसार ग्रामीण क्षेत्रमा जो विकास बैंकको पहुँचमा हुँदैनन्, उनीहरूलाई कर्जा दिने गरिएको छ । सुरुमा ५० हजार ऋण लगानी गर्ने र व्यवसायीहरूको मिहिनेतअनुसार ऋण थप्दै लगिएको उनको भनाइ छ ।

नियतवश कर्जाको किस्ता नतिर्ने प्रवृत्ति ठूलो समस्या

स्वावलम्बन लघुवित्तले गरिबी निवारण र विपन्न वर्गलाई कसरी योगदान पुर्‍याइरहेको छ ?

०४८ सालदेखि सञ्चालनमा रहेको स्वावलम्बन विकास केन्द्रको बैंकिङ कार्यक्रम ०५८ सालदेखि स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा हस्तान्तरण भएदेखि वित्तीय पहुँच अभिवृद्धिका लागि ग्रामीण तथा सहरी क्षेत्रमा लघुवित्त सेवा विस्तार गर्दै आएको छ । विपन्न तथा न्यून आय भएको वर्गलाई विनाधितो कर्जा प्रवाह गरी उनीहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन योगदान पुर्‍याएको छ । उनीहरूलाई कर्जा उपलब्ध गराई विभिन्न सीपमूलक तथा क्षमता अभिवृद्धिका तालिम प्रदान गर्दै आएको छ । यसैगरी वित्तीय साक्षरता, राम्रो परियोजना अध्ययन–अवलोकन भ्रमण, सदस्यका छोराछोरीको उचित शिक्षाका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सदस्यको भविष्य सुनिश्चित गर्नका लागि सानो–सानो बचत गर्ने बानी विकासमा जोड दिँदै आएको छ ।  हालै मात्र स्वावलम्बन विकास केन्द्रले तुलसीपुर शाखामा आबद्ध एक ग्राहक सदस्यलाई उत्कृष्ट लघु उद्यमीका रूपमा पुरस्कृतसमेत गर्ने निर्णय गरेको छ । 

नेपालमा हाल ६६ वटा लघुवित्त छन्, यसमध्ये स्वावलम्बनको विशिष्टता के हो ?

 वित्तीय संस्थाले देशको हिमाल, पहाड र तराईका विभिन्न ग्रामीण तथा सहरी स्थानमा कार्यक्रम सञ्चालनमा रहेको छ । संस्थाले हिमालका जुम्ला, ताप्लेजुङ, सल्लेरीजस्ता विकट स्थानहरू र पहाडका अधिकांश स्थान र तराईमा कार्यक्रम विस्तार गरेको छ । सदस्यहरूको गोष्ठी, तालिम गरी उनीहरूको राय लिने, समस्या समाधान गर्ने, वित्तीय रूपमा साक्षर बनाउने, विभिन्न सीपमूलक तालिम दिने, अवलोकन–अध्ययन भ्रमणमा पठाउने, प्रत्येक शाखा कार्यालयबाट सदस्यका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउनेजस्ता कार्यक्रम गर्दै आएको छ । ज्येष्ठ सदस्य सम्मान, पुरस्कृतलगायतका क्रियाकलापसमेत बर्सेनि गर्दै आएको छ । 

नेपालमा अहिले लघुवित्तको समेत मर्जरको लहर चलेको छ । यसमा तपाईंहरूको योजना केही छ ?

संस्थाले अन्य संस्था प्राप्ति तथा एक्विजिसन सम्बन्धमा विभिन्न चरणमा छलफल गर्दै आएको छ । सञ्चालक समितिका सञ्चालकको संयोजकत्वमा मर्जर समिति गठन गरी यस कार्यलाई अगाडि बढाएको छ । उपयुक्त संस्था छनोट गरी दिगो तथा गतिशील लघुवित्त सेवा प्रवाहका लागि अन्य संस्थासँग मर्जर नीतिलाई संस्थाले प्राथमिकतामा राखी छलफल गर्दै आएको छ । 

लघुवित्त क्षेत्रका अहिलेका समस्या र चुनौती के हुन् ?

हाल लघुवित्त क्षेत्रमा सदस्य दोहोरोपन, धेरै संस्थाबाट कर्जा लिने परिपाटी, लघुवित्त संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा, सेवामुखीभन्दा पनि नाफामुखी हुने प्रवृत्ति, प्रविधिमैत्री भएर प्रोपर अटोमेसनमा जान नसक्नुजस्ता विषयहरू जल्दाबल्दा समस्या र चुनौती हुन् । नेपाल राष्ट्र बैंकले ब्याजदरमा लगाएको सीमा, हालको देशव्यापी तरलता अभावका कारण विपन्न वर्ग कर्जाका लागि स्रोतको प्राप्तिमा कठिनाइ, सदस्यहरूबाट पर्याप्त बचत रकम संकलनमा देखिएको कमीलगायतका समस्या र चुनौती लघुवित्तले झेल्दै आएको छ । सदस्यहरूले नियतवश कर्जाको किस्ता नतिर्ने प्रवृत्ति पनि ठूलो समस्या र चुनौतीका रूपमा देखा परेको छ । 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको स्थापनादेखि हालसम्मको अवस्थालाई कसरी लिनुभएको छ ?

स्वावलम्बन लघुवित्तले ०५८ माघ १ देखि वित्तीय संस्थाका रूपमा कारोबार सञ्चालनमा ल्याएको हो । विपन्न समुदाय खास गरी महिलालाई दिगो लघुवित्त सेवा प्रदान गर्न ०४८ सालदेखि नै विविध सेवा गर्दै आएको स्वावलम्बन विकास केन्द्रको अगुवाइमा यस वित्तीय संस्थाको प्रवद्र्धन भएको हो । हाल यस वित्तीय संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार छ । ०७८ फागुनसम्म दुई लाख ६० हजार दुई सय ४६ जना सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रवाह गर्दै आएको छ । दुई दशकको अवधिमा वित्तीय संस्थाले ६१ जिल्लाका एक सय ४५ शाखा कार्यालय, नौ इलाका कार्यालयका सात सय पाँच कर्मचारीहरूमार्फत लघुवित्त सेवा विस्तार गरी विपन्न समुदायलाई वित्तीय तथा गैरवित्तीय–सामाजिक सेवा पुर्‍याउँदै आएको छ । 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अहिलेको वित्तीय अवस्था कस्तो छ ?

संस्थामा एक लाख ६१ हजार पाँच सय ९४ जना ऋणी  सदस्य रहेका छन् र २० अर्ब ५३ करोड ९२ लाख कर्जा लगानी छ । त्यस्तै, सदस्यहरूको बचत ११ अर्ब ३८ करोड ५७ लाख रहेको छ । कोभिडलगायतका कारण सदस्यहरूको व्यवसायमा भएको मन्दीका कारण वित्तीय संस्थाको कर्जा असुलीमा केही समस्या आए पनि सदस्यहरूको व्यवसायमा सुधार आई आर्थिक अवस्थामा समेत सुधार आउँदै गएकोे छ । वित्तीय संस्थाले गत आवमा जम्मा ६८ करोड रुपैयाँ नाफा गर्न सफल भएको थियो भने सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्न सफल भएको थियो । विगतका वर्षहरूमा राम्रो लाभांश वितरण गर्दै आएको यस संस्थाले ग्राहक सदस्यलाई सर्वसुलभ र दिगो लघुवित्त तथा सामाजिक सेवा  प्रवाह गरी सेयरधनीलाई उचित लाभांश वितरण गर्न सदैव सक्षम रहने देखिन्छ ।

Published on: 11 April 2022 | Nayapatrika

Link

Back to list

;