s

राजदूत शेर्पालाई सरकारले राजीनामा गराउने

सरकारले अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पालाई राजीनामा गराउने भएको छ। गत वर्ष राजदूत भएर निजी चालक काठमाडौंबाट क्यानबेरा लैजाँदा पैसा खाएको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले उनलाई गत महिना काठमाडौं बोलाएको थियो।
 
राजदूत शेर्पाबारे लागेको आरोप छानबिन गर्न मन्त्रालयले गठन गरेको समितिले दिएको प्रतिवेदनका आधारमा सरकार उनको राजीनामा माग्ने बिन्दूमा पुगेको हो। सेमबार राति मन्त्रिपरिषद बैठकले उनलाई वर्खास्त गरेको प्रचार व्यापक भएपछि मन्त्रिपरिषद स्रोतहरूलाई सम्पर्क गर्दा एक अधिकारीले भने, ‘राजनीतिक नेतृत्वले राजदूत शेर्पासँग कुरा गरेर राजीनामा माग्ने भन्ने सरकारको पोजिसन हो।’
 
शेर्पालाई कारवाही हुनेबारे गत मंसीर तेस्रो साता स्पष्टीकरणका लागि बोलाइएसँगै अनुमान हुँदै आएको थियो।परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार सम्पादकहरूसँग अनौपचारिक अन्तर्कियामा छानबीन प्रतिवेदन अध्ययन भैरहेको बताएका थिए। राजदूत शेर्पाले निजी चालक बनाएर लगेका वांग्छु शेर्पासँग लाखौ रूपैयाँ लिएको आरोप लागेको थियो। चालक शेर्पा केही महिनाअघि राजदूतलाई छाडेर अष्ट्रेलियामै बस्न थालेका थिए।नेपालमा रहेकी उनकी श्रीमती मानव तस्करीको अभियोग लागेर काठमाडौंमा प्रहरी हिरासतमा छिन्।
 
Published on: 8 January 2019 । Kantipur

Back to list

;