s

११७ कामदारलाई अवकाश

लालप्रसाद शर्मा
 
व्यवस्थापन र मजदुर संगठनको सहमतिपछि पोखराको पाँचतारे होटल ‘दि फूलबारी रिसोर्ट एन्ड स्पा’ बाट सबै १ सय १७ मजदुरले एकैसाथ अवकाश पाएका छन् । 
 
गत फागुनदेखि ठप्प उक्त होटलको व्यवस्थापन र मजदुर संगठनबीच खाइपाई आएको सेवा सुविधा दिएर कामबाट बिदाइ गर्ने सहमतिअनुसार शनिबारदेखि कामदार एकैसाथ बाहिरिएका हुन् । मजदुरलाई पहिलो चरणमा ४० प्रतिशत र बाँकी दुई महिनापछि दोस्रो चरणमा रकम पाउने गरी व्यवस्थापनले चेक दिएको छ । बन्द भएको ६ महिनाको हकमा बेसिक तलब मात्रै उपलब्ध गराइएको छ । 
 
समस्या आइसकेपछि दुवै पक्ष एउटा बिन्दुमा पुगेर निकास निकालेको रिसोर्टले जनाएको छ । महाप्रबन्धक समिर कपिलले पहिलो चरणमा एक करोड रुपैयाँभन्दा बढी उपलब्ध गराइएको बताए । ‘दुई महिनापछि बाँकी सबै रकम मजदुरले पाउने व्यवस्थासहित बिदाइ गरिएको छ,’ उनले भने, ‘यसका लागि साढे तीन करोड रुपैयाँ वितरण हुनेछ ।’ रिसोर्टमा १ सय ४५ कर्मचारी कार्यरत रहेकामा बन्दपछि केहीले आफैं जागिर छाडेका थिए । एक्जुकेटिभ पदका भने यथावत् रहनेछन् । 
 
मजदुर संगठनको आन्दोलनका कारण रिसोर्ट गत फागुन १७ देखि ठप्प छ । मजदुरले कुनै पनि काम नगरेपछि यो अवस्था आएको हो । कांग्रेस निकट नेपाल पर्यटन तथा होटल मजदुर संघ, एमाले निकट नेपाल स्वतन्त्र होटल मजदुर संघ र माओवादी केन्द्र निकट अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ सेवा सुविधा कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रेका थिए । दुई महिनाको तलबभत्ता, २६ महिनाको सञ्चय कोष, १४ महिनाको सेवा शुल्क, ७ वर्षको स्वास्थ्य बिमा नपाएको मजदुरले बताउँदै आएका थिए ।
 
अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघका उपाध्यक्ष नवराज गिरीले सहमतिअनुसार एकैसाथ बिदा लिएको बताए । ‘व्यवस्थापनले होटलै बन्द गर्छु भनेपछि बसिरहने कुरा भएन,’ उनले भने, ‘सञ्चय कोष, सामाजिक सुरक्षा कोषको रकम भने श्रम कार्यालयमार्फत दिने सहमति भएको छ ।’ नेपाल स्वतन्त्र होटल मजदुर संघका अध्यक्ष गोपाल गिरीले अनिर्णयको बन्दीजस्तो भएकाले निकास निकाल्न सहमति भएको बताए । ‘सधैंभरि अविश्वासको वातावरणमा काम गर्नुभन्दा निस्कनै राम्रो देख्यौं,’ उनले भने । मजदुर काममा फर्किसकेको अवस्थामा पनि दुवै पक्षबीच विश्वासको संकट पैदा भइसकेकाले के गर्ने भनेर अवसर र विकल्प खोज्न भनेपछि मजदुरले अहिलेसम्मको रकम दिए जागिर छाड्ने बताएका थिए । 
 
६ महिनादेखि बन्द रिसोर्ट यतिबेला ‘भूतबंगला’ जस्तो भएको छ । रिसोर्ट परिसर, भवनको छत, भित्ता झारपातले ढाकिएको छ । कोठामा ढुसी पलाएको छ । स्विमिङ पुललगायत संरचना जीर्ण बनेका छन् । रङ खुइलिएको, पानी चुहिएर सामान बिगारेको छ । 
 
लामो समयदेखि रिसोर्ट बन्द हुँदा व्यवस्थापनले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नुपरेको छ । एकातिर बुकिङ रद्द गर्नुपरेको र अर्कोतर्फ भौतिक संरचना बिग्रिएकाले मर्मतका लागि करोडौं रुपैयाँ व्ययभार व्यवस्थापनलाई परेको छ । महाप्रबन्धक कपिलले भूकम्प र नाकाबन्दीका बाबजुद पनि मासिक तलब समयमै दिइरहेको र अरू सेवा सुविधा छिट्टै दिन्छौं भन्दा पनि बन्दै गर्नुपर्ने अवस्था आएको बताए । बन्दका कारण केकति क्षति भयो भन्नेबारे पछि हिसाब हुने उनको भनाइ छ ।
 
४ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा १ सय ६४ कोठा छन् । सन् १९९८ देखि यो सञ्चालनमा थियो । 
 
Published on: 13 September 2017 | Kantipur

Back to list

;