s
होम कार्की
काठमाडौँ — ओमानमा अलपत्र परेका एक सय ६६ जना नेपाली कामदारलाई लिएर सलाम एयरको पहिलो विमान उडेको छ ।मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय ८:१५ मा उडेको हो । यो जहाज त्रिभुवन विमानस्थलमा दिउँसो साढे २ बजे अवतरण हुनेछ ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अनुसार पीसीआर परीक्षण गरी पठाएको बताइन् । राजदूत ढकालले रोजगारदाता र कामदार आफैले टिकट खर्च बेहोरेको जानकारी दिइन् । दूतावासको सेल्टरमा रहेका १३ जना महिलाको टिकट खर्च भने दूतावासले नै प्रबन्ध गरेको ढकालले बताइन् ।
सरकारले तय गरेको भन्दा झन्डै ८ हजार रुपैयाँ कम ३६ हजार रुपैयाँमा सलाम एयरले उडान गरेको हो । सरकारले मस्कटबाट चार्टर गर्दा नेपाल एयरलाइन्सको लागि ३ सय ६६ डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा कायम गरेको थियो ।
ओमानबाट अर्को उडान असार ४ गते बिहीबार हुनेछ । ओमानबाट स्वदेश फर्कन चाहनेको संख्या करिब ६ सय रहेको छ ।
Published on: 15 June 2020 | Kantipur
GET IN TOUCH