s

१२५ नेपालीले तलब पाएनन्

होम कार्की

रोजगार करार सम्झौताअनुसार तलब नदिइएको भन्दै कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोकेका छन् । 

नियमित तलब नदिएको, दुर्घटनामा पर्ने कामदारलाई बिमाको सुविधा नदिएको र मोटरसाइकलमा पेट्रोल हाल्ने पैसासमेत नदिएको भन्दै उनीहरूले काम छाडेका हुन् । उनीहरू 'बाइक राइडर' हुन् । उनीहरू अधिकांश स्यारोन म्यानपावर कम्पनीमार्फत कुवेत गएका हुन् ।'म जनवरी ११ मा कुवेत आएको हुँ । आजसम्म ३९ कुवेती दिनार मात्रै पाएको छु,' कम्पनीमा कार्यरत मोरङका एकेन्द्र राईले कान्तिपुरलाई भने, 'हामी जहाँबाट अर्डर आउँछ । त्यहाँ खाना पुर्‍याउने काम गर्ने हो । पछिल्लो समय कम्पनीले तलबसमेत नदिएको मात्र नभई मोटरसाइकल चलाउनसमेत पैसा दिएको छैन । कहाँबाट पेट्रोल हाल्ने पैसा जुटाउने ? कसरी काममा जाने ?'
 
कामदारहरूले आफूहरूलाई म्यानपावरले सम्झौता गरेर पठाएअनुसार कम्पनीले सेवा सुविधा नदिएको बताए । 'बाहिर सडकमा मोटरसाइकल कुदाउने काम निकै खतराजनक छ । बिमा कार्ड छैन । कति साथीहरूको त हेल्थ कार्ड र परिचय पत्रसमेत बनाइदिएको छैन,' उनले भने, 'काम गर्न चाहिने न्यूनतम आधार नै बनाइदिएन ।'कामदारहरूले आफूहरू सामाजिक सेवा गर्न कुवेत नआएको बताए । 'मैले १ सय २० दिनार पाउने सर्तमा एक लाख ७० हजार रुपैयाँ एजेन्टलाई बुझाएर आएको हुँ । यहाँ पैसा कमाउन आएको हो । कम्पनीको सेवा गर्न होइन,' राईले भने, 'पैसा नै नदिने भए किन काम गर्ने ?'
 
कम्पनीले काम गरेपछि पैसा दिने बताइरहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गरी विवाद समाधान प्रयास भइरहेको जनाएको छ । 'मार्च १० तारिखभित्र तलब दिन्छु भनेर कम्पनीले बताइरहेको छ । कम्पनीले कामदार नै काममा नफर्केको गुनासो गरिरहेको छ,' श्रम सहचारी ज्ञानेन्द्र शर्माले भने, 'हामीले कम्पनीलाई छिट्टै श्रम विवाद सल्टाउन अनुरोध गरिरहेका छौं ।' सबै कामदारलाई कम्पनीले काम दिन नसकेको कामदारको दाबी छ । उनीहरू कुवेतस्थित महावुल्लाको सडक नम्बर १४४ मा बस्दै आएका छन् ।
 
'सबैले काम पाएको छैन । नियमित तलब नदिने यो कम्पनीमा बसेर काम गर्न मन छैन । नेपालमै फर्किन चाहेका छौं,' अर्का कामदार पदम माझीले भने, 'नेपाल फिर्न १ सय ५० दिनार मागिरहेको छ । आउँदा पनि डेढ लाख रुपैयाँ सकिएको छ । फेरि र्फकंदा पनि झन्डै ५५ हजार तिर्नुपर्छ ।' कम्पनीले कुवेती श्रम कानुनअनुसार सेवा सुविधा नदिएको भन्दै कुवेतको श्रम कार्यालयमा उजुरी दिएको पनि उनीहरूले बताए ।
 
Published on: 6 May 2019 | Kantipur

Back to list

;