s

११ महिनामा काम गर्न झन्डै ५ लाख बिदेसिए

चालू आर्थिक वर्षको पहिलो ११ महिनामा काम खोज्दै झन्डै ५ लाख नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार पहिलो पटक र पुनः श्रम स्वीकृति लिने कामका लागि बिदेसिनेको संख्या यस अवधिमा ४ लाख ८० हजार पुगेको हो ।

मुलुकमा रोजगारको अवसर सृजना नहुँदा र भएका अवसर पनि गुम्दै जाँदा पहिलो ११ महिनामा बिदेसिनेको संख्या बढेको हो । विभागका अनुसार यस अवधिमा पहिलो पटक श्रम स्वीकृति लिएर ३ लाख ५० हजार युवा बिदेसिए ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ३ लाख ९ हजार नेपाली युवा काम खोज्दै बिदेसिए । यस्तै काम गरेर आई पुनः श्रम स्वीकृति लिने कामदारको संख्या १ लाख ३१ हजार छ ।

मुलुकमा वाषिर्क झन्डै ४ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । त्यसमा धेरैजसो युवाहरू बिदेसिने गरेको विभागको तथ्यांकले देखाएको छ । बढ््दो श्रम समस्या, उत्पादन मुलुक उद्योग बन्द हुने जस्ता कारण यस्तो समस्या आएको हो । ग्रामीण क्षेत्रमा पनि वैदेशिक रोजगारीको बारेमा चेतना बढ््दै जाँदा बिदेसिनेको संख्या वृद्धिमा अझ सहयोग पुगेको व्यवसायीको भनाइ छ ।

पहिलो पटक श्रम स्वीकृति लिएर जानेको संख्या वर्षको अन्ततिर अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । वर्षको सुरुमा बिदेसिनेको संख्यामा उच्च वृद्धि भएकाले समग्रमा बिदेसिने बढेका हुन् । चालू आवको पहिलो महिना असारमा अघिल्लो आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बिदेसिने बढेका थिए । 

यस अवधिमा सबैभन्दा बढी कामदार कतार गएका छन् । विभागका अनुसार ९८ हजार ८ सय २१ जना कामदार कतार गएका छन् । यो संख्या पहिलो श्रम स्वीकृति लिएर जानेको मात्र हो । यस्तै यस अवधिमा मलेसियामा ८४ हजार ३ सय ५१ कामदार काम खोज्दै पुगेका छन् । त्यसपछि साउदी अरबमा ७२ हजार २ सय २६ जना गए । संयुक्त अरब इमिरेट्समा जानेको संख्या ५१ हजार ५ सय ९ रह्यो । कुवेतमा २३ हजार कामदार गएका छन् । सरकार आफैंले रोजगार अनुमति प्रणाली अन्तर्गत पठाउँदै आएको दक्षिण कोरियामा यस अवधिमा ४ हजार ९ सय गएका छन् ।

Published on: 22 June 2012 | Kantipur

Back to list

;