s

रारा चाउचाउ उद्योग दुई सातापछि सुचार

सन्तोष पोखरेल

माओवादी मजदुरले तालाबन्दी गरेपछि करिब दुईसातादेखि बन्द रहेको देशकै पहिलो चाउचाउ उद्योग हिमश्री फुड्स शुक्रबारदेखि संचालनमा आएको छ। आन्दोलित मजदुर र उद्योगका विभागीय प्रमुखबिचको वार्तापछि उद्योग खुलाउने सहमति भएको हो।

विभिन्न २० सुत्रीय माग राख्दै आन्दोलनमा उत्रेका मजदुरले दुईसातादेखि उद्योगमा तालाबन्दी गरेका थिए। उद्योगमा तालाबन्दी हुँदा उत्पादित सामग्री समेत बजार जान पाएको थिएन। लामो समयसम्म उद्योग बन्द हुँदा लाखौं रुपैयाँ नोक्सान बेहोर्नुपरेकेा व्यवस्थापनले जनाएको छ। 
 
भदौ महिनाको पारिश्रमिक र दशैं पेश्की उपलब्ध गराउने सहमति भएपछि उद्योग सुचारु भएको आन्दोलनरत अखिल नेपाल औद्योगिक मजदुर संघ, हिमश्री फुड्स ईकाईका सचिव प्रताप पौडेलले बताए। 
 
'हाम्रा माग पुरा भएका होईनन्, अहिलेलाई दशैं नजिकिएकोले पनि भदौंको पारिश्रमिक सहित दशैं पेश्की पाउने भएपछि उद्योग सुचारु गरेका हौ' पौडेलले भने, 'दशैपछि अन्य माग पुरा गराउन दवाव दिँदै जाने हो।' उनले मजदुरहरुका कुनैपनि माग पुरा नभएपनि चाँडबाँड नजिकिएकोले आफुहरुले लचकता अपनाएको बताए। 
 
व्यवस्थापनले सूचना जारी गरेर उद्योग घाटामा सञ्चालन हुँदाहुँदै पनि अन्य उद्योगले भन्दा बढि सुविधा दिएको दावी गरेको थियो। साथै सूचनामा उद्योगको उत्पादनमा वाधा उत्पन्न गराई उत्पादित बस्तु समेत बजार लैजान नदिएको भन्दै भदौको तलब र दशैं खर्च समेत उपलब्ध गराउन नसकिने चेतावनि दिएको थियो। 
 
उद्योगबाट रारा, आहा, फेवा, ए-वन, हिमाली लगायतका चाउचाउ उत्पादन हुन्छन्। दैनिक ८ घण्टा उद्योग संचालन हुँदा करिब २ लाख प्याकेट चाउचाउ उत्पादन हुन्छ। करिब २८ वर्षअघि संचालित यो उद्योगको मुख्य उत्पादन रारा चाउचाउ हो। 
 
सचिव पौडेलकाअनुसार उद्योग व्यवस्थापनले मजदुरहरुसँग वार्ताको पहल नगरेपछि उद्योगका केही विभागीय प्रमुखहरुसँग यो सहमति गरिएको हो। 'बजारमा बाँकी रहेको पैसा संकलन गरेर र उद्योगमा केहीदिनदेखि रोकिएको सामान बेचेर भएपनि तलब र पेश्की खुवाउने वचन पाएपछि काममा फर्केका हौ' पैाडेलले भने, 'हामी आन्दोलनबाट पछि हटेका होईनौ। कामसँगै विरोध गर्दै जाने हो।' 
 
उनले दशैंपछि पनि आफुहरुका माग सुनुवाई नभए झनै कडा आन्दोलन गर्ने चेतावनि समेत दिए। व्यवस्थापनले चाँसो नदेखाएपनि केही विभागीय प्रमुखहरुले ठुलो चुनौतीका बाबजुत उद्योग खुलाउने प्रयास गरेको पौडेलले बताए। 
 
सरकारले गत फागुनदेखि मजदुरको पारिश्रमिकमा वृद्धि गरेको १ हजार ५ सय रुपैयाँलाई तलब र भत्तामा समायोजन गर्नुपर्ने मजदुरको मुख्य माग रहेको छ। पेश्कीको रुपमा उक्त रकम पाएपनि १ हजार रुपैयाँलाई भत्ता र ५ सय रुपैयाँलाई तलबमा गाभ्नुपर्ने माग छ। 
त्यसैगरि दशैंपेश्की पाउनुपर्ने, गतवर्षको भन्दा बोनस बढाउनुपर्ने, महंगी बढेकोले खाजाभत्ता, पोशाक, यातायात भत्ता बढाउनुपर्ने, मुल्यांकनको आधारमा बढुवा गर्नुपर्ने लगायतका माग मजदुरले राखेका छन्। 
 
मजदुरहरुसँग शुक्रबारको वार्तामा सहभागि उद्योगकी लेखाप्रमुख लक्ष्मी गिरीले आफुहरुले भदौको तलब र दशैं पेश्की दिनका लागि सक्दो पहल गर्ने बताएपछि उद्योग सुचारु भएको बताईन। उद्योगमा रहेको सामान बजार पठाएर र बजारको पैसा उठाएर भएपनि सकेसम्म पैसा दिने पहल गर्ने गिरीले जानकारी दिईन।
 
'उद्योग व्यवस्थापनसँग कुनै सहमति भएको होईन, दशैंको मुखमा उद्योग बन्द गर्नु राम्रो नहुने भनेपछि हामीले ले 'रिस्क' लिएर सुचारु गराउन पहल गरेका हौ' उनले भनिन, 'यसमा हामीहरुको सक्दो पहल हुनेछ।' उनले मजदुरहरुका सबै माग आफुहरुले पुरा गर्न नसक्ने भएकोले त्यसलाई व्यवस्थापनले हेर्नुपर्ने बताइन। 
 
मजदुरले पोखरा औद्योगिक क्षेत्रभित्र रहेको उक्त उद्योगमा कर्मचारी र मजदुर गरि करिब २ सय जनाले काम गर्छन। उनीहरुका लागि मासिक १५ लाख रुपैयाँ बढि तलबमा खर्च हुन्छ।
 
Published on: 25 September 2011 | Nagarik 

Back to list

;