s

१० लाख दैनिक ज्यालादारी यातायात मजुदर समस्यामा

जीवन बस्नेत

पाँच वर्षदेखि लामो दूरीका सवारीसाधन चलाएर परिवार पालिरहेका दोलखाका तिला खड्का पछिल्लो पाँच महिनादेखि बेरोजगार छन् । काठमाडौंको जडीबुटीमा भाडाको कोठमा बस्ने उनलाई दैनिक जीविकोपार्जन गर्न नै अहिले समस्या हुन थालेको छ । 

‘सरकारले भदौदेखि बस चलाउन दिने भनेर तयारी पनि गरियो, तर अब त अनिश्चित हुने भयो भनेर भन्छन्, कसरी बाँच्ने होला ?’ उनी भन्छन् । उनीजस्तै अहिले देशभरका करिब १० लाख यातायात मजदुरको अवस्था नाजुक बन्दै गएको छ । चैतदेखि सवारीसाधन चलाउन नपाएपछि यातायात क्षेत्रमा संलग्न मजदुर बेरोजगार छन् । 

कोरोनाको संक्रमण बढ्दै गएका कारण यातायात मजदुर भोकभोकै पर्ने अवस्था सिर्जना भइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ‘लगातार कामविहीन बनेपछि दैनिक जीविका चलाउन कठिन बन्दै गएको छ,’ अध्यक्ष राईले भने । 

सरकारले लकडाउन खुला गरेर लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक स्वास्थ्य सुरक्षादेखि सवारीसाधनको निर्मलीकरण गर्ने काम समूह बनाएर गर्ने तयारी भइरहेको थियो । तर, बुधबार बेलुकादेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । देशकै राजधानी उपत्यकामा सवारी बन्द हुनेबित्तिकै देशभर यसको प्रभाव पर्नेछ ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लामो दूरीका सवारीसाधन काम नलाग्ने गरी विभिन्न पार्टपुर्जा बिग्रिएको बताएको छ । ‘दैनिक सञ्चालन गर्नुपर्ने सवारीसाधन पाँच महिनादेखि काम नगरी राखेपछि के हालत भयो होला ?’ महासंघका महासचिव सरोज सिटौलाले भने । अति नै संवेदनशील पार्टपुर्जा कुहिन थालेको उनको भनाइ छ । विशेष गरी सवारीसाधनको टायर, सिट तथा मुख्य मेसिनले काम गर्न छाडेको सिटौलाको भनाइ छ । ‘अर्बौँ रुपैयाँको लगानी अहिले खेर गइरहेको छ,’ सिटौलाले भने । 

Published on: 20 August 2020 | Nayapatrika

Link

Back to list

;