s

१० हजारमा सहमति गरेर ९५ हजार माग

-रुद्र खड्का
 काठमाडौं- नवलपरासी, नारायणी-६ का नारायण तिवारीका लागि बिहीबार अरुभन्दा फरक दिन थियो। उनी बिहान पाँच नबज्दै उठे। पशुपतिनाथ पुगे रविदेश यात्रा सफल होस् भन्दै प्रार्थना गरे। पशुपतिमै भेटिएका ज्योतिषीले बिहीबार उनका लागि निकै राम्रो दिन रहेकोबताए। यही दिन विदेश जाने तयारीमा रहेका उनलाई ज्योतिषीको त्यो भनाइले झन् खुसीबनायो।
 
तिनै ज्योतिषीको हातबाट सयपत्रीफूलको मालामा सजिएर उनी सिनामंगलस्थित मेनपावर लिंकको कार्यालय पुगे। लिंकले त्रिपाठीलाई साउदी पठाउने भन्दै केही दिनअघि नै पासपोर्ट लिइसकेको थियो। मेनपावरका प्रतिनिधिले पासपोर्ट लिइसकेको र अघिल्लो साता नै बिहीबार उड्ने पक्का भइसकेको जानकारी दिएपछि उनले घरमा रहेकी पत्नीलाई पनि खबर गरिसकेका थिए।
 
पशुपतिनाथ मन्दिरको दर्शन, घरपरिवारलाई जानकारी दिएपछि सिधै साउदी पठाउन पासपोर्ट दिएकोमेनपावर लिंकको कार्यालयमा पुग्दा त्यहाँको माहौल निकै फरक भइसकेको थियो। केही बेरअघिसम्मको खुसी अब बाँकी रहने अवस्था थिएन। गलामा माला, पिठ्युँमा झोला बोकेर मेनपावर कार्यालयमा पुगेका त्रिपाठीलाई देख्नेबित्तिकै मेनपावरका कर्मचारीले ९५ हजार रुपैयाँ मागे। 'एक्कासि ९५ हजार रुपैयाँ माग्दा जिस्क्याएको जस्तो लाग्यो,' बिहीबार साउदी उड्नबाट वञ्चित तिवारीले भने, '९५ हजार रुपैयाँ नदिए पठाउनै नसकिने अडान लिए।'
 
उनका अनुसार सोही मेनपावरले पासपोर्ट लिनेबेला साउदीबाट आएको माग निःशुल्क भिसा र टिकटको भएकाले १० हजार रुपैयाँमा उडाउने सहमति भएको थियो। 'पहिलाको सहमतिअनुसार १० हजार रुपैयाँ बोकेर मेनपावर कार्यालयमा पुगेको थिएँ,' उनले भने, 'त्यहाँ त ९५ हजार रुपैयाँभन्दा एक पैसा पनि कममा पठाउन नसकिने भन्दै धम्क्याए।' मेनपावरले पूर्वसहमति अनुसार साउदी पठाउन नसकिने बताएपछि त्रिपाठी सोझै वैदेशिक रोजगार विभागपुगे।
 
विभाग कर्मचारीसँग गुनासो गरेपछि कानुन निर्देशक गोविन्दप्रसाद उपाध्यायले उक्त मेनपावर सञ्चालकलाई फोन गरेर कामदारलाई दुःख नदिन निर्देशन दिए। मेनपावर सञ्चालकले पठाइदिने आश्वासन दिँदैत्रिपाठीलाई पुनः बोलाए। फेरि उत्साहित हुँदै मेनपावर लिंक पुग्दा त्यहाँका कर्मचारीले उल्टै विभाग किन पुगेको भन्दै कुटपिट प्रयास गरे।
 
'मेनपावरका दुई कर्मचारीले हिर्काउन खोज्दै थिए,' त्रिपाठीले भने,'भागेर ज्यान बचाएँ।' मागे जति रकम नदिएको निहुँमा साउदी जान नदिएपछि त्रिपाठीले उक्त मेनपावरविरुद्ध विभागमा उजुरी दिएका छन्। विभागका कानुन निर्देशक उपाध्यायले मागेजति रकम नपाउँदा अन्तिम समयमा कामदार नउडाएको भन्दै मेनपावर लिंकविरुद्ध उजुरी परेकाले अब कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।
 
...
 
वैदेशिक रोजगारीमा जाने तय भइसकेकाले बिहीबार पत्नी राधिकाले पटकपटक फोन गर्दा त्रिपाठीले मोबाइलै उठाएनन्। उनले भने, 'अन्तिम समयमा मेनपावरले धोका दियो भन्ने खबर पत्नीलाई सुनाउन सकिरहेको छैन।'
 
पत्नी राधिकाले ११ पटक फोन गर्दा मोबाइल नउठाएका तिवारीधोका दिने मेनपावरलाई कारबाही गरेपछि मात्र घरपरिवारसँग कुरा गर्ने बताउँछन्। वैदेशिक रोजगारीमा नपाएपछि कानुनी सहयोगका लागि पिपुल फोरमको कार्यालय पुगेका उनलेदेशमा कानुनी शासन छ भने सर्वसाधारणलाई अनावश्यक दुःख दिने मेनपावरलाई कारबाही हुनुपर्ने माग गरे।
 
वैदेशिक रोजगारीका नाममा ५९ हजार रुपैयाँ खर्च भएको बताउने उनलेअन्तिम समयमा मेनपावरले धोका दिएकाले त्यो रकम असुली हुनुपर्ने, नभए सहमति अनुसार १० हजार रुपैयाँमा साउदी जान पाउनुपर्ने माग गरे। 'मसँग एकातिर मेनपावरले १० हजार रुपैयाँ लिने सहमति गरेको अवस्था छ, अर्कोतर्फ सरकारले पनि वैदेशिक रोजगारीमा जानेबाट १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने नियम बनाएकोले त्यो मेनपावरलाई कारबाही हुनुपर्छ,' उनले भने, 'त्यसो नहुने हो भने निःशुल्क भिसा र टिकटबारे हावादारी कुरा गर्ने अधिकारकसैलाई छैन।'
 
श्रम तथा रोजगार मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारसँग १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने नियम बनाएपछि पछिल्लो समयमा कामदार पीडित हुने घटना बढ्न थालेका छन्। वैदेशिक रोजगारीको क्रममा पीडित भएका कामदारलाई कानुनी सेवा उपलब्ध गराउँदै आएको पिपुल फोरमका अधिवक्ता कृष्णप्रसाद न्यौपाने सरकारले निःशुल्क भिसा र टिकट कार्यक्रमलाई या प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्नुपर्ने नभए खुला बजार नीति अन्तर्गत नै छोड्नु पर्ने बताउँछन्।
 
फोरमकै अर्का अधिवक्ता विरवलकाजी राई सरसर्ती हेर्दा निःशुल्क भिसा टिकट कामदारको पक्षमा देखिए पनि कार्यान्वयनको कमजोरीले श्रमिक झन् पीडित भएको बताउँछन्।सरकारी अधिकारीहरू पनि निःशुल्क भिसा र टिकट कार्यक्रमले वैदेशिक रोजगारीमा विकृति बढिरहेको गुनासो गर्छन्। 'कुनै पनि मेनपावरले अहिलेको अवस्थामा प्रतिव्यक्ति १० हजार रुपैयाँमा कामदार पठाउन सक्ने देखिँदैन,' विभागका एक अधिकृतले भने, 'सरकारले लागू गरेको कार्यक्रमको विरोेध गर्न गाह्रो छ। यथार्थमा कार्यान्वयन गर्न सक्ने अवस्था पनि छैन।'
 
निःशुल्क भिसा र टिकटको घोषणा हुनुअघि नै ७०–८० हजार रुपैयाँ उठाउन दिएको सरकारले एकैचोटि १० हजार रुपैयाँमा झार्दा समस्या भइरहेको ती अधिकृतले बताए। निःशुल्क भिसा र टिकट भनिए पनि साउनयता वैदेशिक रोजगारीमा गएका अधिकांशले विगतमा लिँदै आएको शुल्क नघट्ने गरी रकम लिइरहेको धेरैलाई थाहा छ। तैपनि विभागका कर्मचारीले अहिलेसम्म एकजना मेनपावर व्यवसायीलाई कारबाही गर्न सकेका छैनन्। गएको असारअघिसम्म कामदार विदेश पठाउँदा प्रतिव्यक्ति ७०–८० हजार रुपैयाँ असुल गरेको रसिद दिने मेनपावरले यतिखेर १० हजार रुपैयाँ असुल गरेको रसिद दिने गरेका छन्। अधिवक्ता राजेश खनाल भन्छन्, 'निःशुल्क भिसा र टिकट घोषणापछि त कुनै कामदार पीडित हुँदा१० हजार रुपैयाँ मात्र दाबी गर्न पाउने अवस्था आएको छ।'
 
बिहीबार साउदी जान नपाएका त्रिपाठीले सरकारले घोषणा गरेको निःशुल्क भिसा र टिकटले आफूलाई झुक्याएको बताए। 'वैदेशिक रोजगारीको तयारीमै धेरै रकम सकियो,' उनले भने, 'निःशुल्क भिसा र टिकट चहार्दाचहार्दै साढे एक महिना बित्यो।' त्यस अवधिमा धेरै रकम सकिएको उनको भनाइ छ। त्रिपाठीलाई साउदी पठाउन खोजेको मेनपावर लिंकका प्रतिनिधिसँगसम्पर्क गर्दा फोन उठेन।
 
Published on: 19 February 2016 | Nagarik

Back to list

;