s

१० बर्षपछि एनआरएन संघ दर्ता

कृष्ण आचार्य

विधानमा गैर अवासीय सम्बन्धी परिभाषा कानुनसँग फरक परेर दर्ता प्रक्रिया रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियान शुरु भएको १० बर्षपछि आईतबार परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ ।

परिभाषाको बिषयमा विधान संसोधन गरि कानुन सरह मिलाएपछि संस्था दर्ता भएको हो । गैर अवासीय नेपाली सम्बन्धी ऐन २०६४ ले २ वर्षभन्दा बढी विदेश बस्नेलाई एनआरएन मान्ने व्याबस्था गरेको छ । एनआरएनको विधानले विदेशमा १ सय ८३ दिन बसेकालाई एनआरएनको सदस्य बन्न पाउने प्रावधान राखेको थियो । उक्त प्रक्रिया पुरा गरेपछि एनआरएन औपचारिक रुपमा दर्ता भएको पराराष्ट्र मन्त्री माधब घिमिरेले बताए । 'आईतबार संघ दर्ता भएको हो,' घिमिरेले भने ।

कानुनसंग परिभाषा बाझीएपछि एनआरएनको महाधिबेशनले शनिबार विधान संसोधन गरेको हो । 'संस्था दर्ताका लागि परराष्ट्रमा हामीले पटक पटक निवेदन दिएका थियौ,' एनआरएन प्रबक्ता हेमराज शर्माले भने, 'तर विधान संसोधन नभई संस्था दर्ता नगर्ने भनेपछि संसोधन गरेर त्यो विवरण मन्त्रालयाम पेश गरेका हौ । अब सबै प्रक्रिया पुरा भयो ।'

संस्था स्थापनाकालदेखि नै विधानकै कारण दर्ता नभएको उनले बताए । अन्य विवरण यस भन्दा पहिले नै एनआरएनले मन्त्रालयमा पेश गरिसकेको थियो । दर्ता सम्बन्धी औपचारिक घोषणा सोमबारको विश्व सम्मेलनको औपचारिक उद्‌घाटन कार्यक्रममा गरिने संघका अध्यक्ष जिवा लामिछानेले बताए । संस्था दर्ताकै लागि एनआरएनले शनिबार विधान संशोधन गरेको हो । संसोधिन विधान एनआरएनले आईतबार नै मन्त्रालयमा पेश गरको थियो । शनिबार देखि शुरु भएको महाधिवेशन अन्तर्गतको वन्दसत्रले विधान संशोधनको प्रस्ताव पारित गरेको हो ।

संघका अध्यक्ष लामिछानेले विधान संशोधनको प्रस्ताव बन्दसत्रमा पेश गरेका थिए । संघ दर्ता हुन नसक्दा उसले सामुहिक रुपमा नेपालमा गर्ने लगानीमा अवरोध आइरहेको पदाधिकारीहरु वताउदै आएका थिए । संघले विधान संसोधनको सट्टा ऐन नै संसोधनको प्रयास गरेको थियो । संसद नभएका कारण ऐन संसोधनको प्रक्रिया रोकिएको थियो । सन २००३ बाट सुरु भएको एनआरएन अभियानमा लगानी र समाजसेवाका धेरै प्रतिवद्धता आए पनि कार्यान्वयन नभएकाले देशभित्र आलोचना बढिरहेको थियो । अब भने संघ दर्तासंगै कार्यालय स्थापना गरेर लगानीको बाटो खुलेको एनआएन अधिकारीहरुले बताएका छन् ।

सम्मेलनमा पनि विगतमा झैं एनआरएनले नेपालमा पुर्‍याउन सक्ने योगदान, नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारीमा रहेका नेपालीको काम र पारिश्रमिकको सुरक्षा र गैरआवासीय नेपाली संघ दर्ता नै मुख्य छलफलको विषय राखेको छ । सम्मेलनमा सहभागिता जनाउन ५० देशका करिब १३ सय जना राजधानी आइपुगेका छन् । सम्मेलनको औपचारिक उद्‌घाटन राष्ट्रपति रामवरण यादवले सोमबार बिहान गर्ने कार्यक्रम छ । सोहि कार्यक्रममा संस्था दर्ताको औपचारिक घोषणाको तयारी परराष्ट्र मन्त्रालयले गरेको छ । एनआरएन दर्ता र प्रमाणपत्र वितरणको अधिकारी गैर अवासीय नेपाली सम्बन्धी ऐन २०६४ ले परराष्ट्र मन्त्रालयलाई दिएको छ । उक्त व्यबस्था अनुसार संस्था दर्ताको घोषणा मन्त्रालयले सोमबार गर्ने भएको हो ।

Published on: 21 October 2013 | Kantipur

Back to list

;