s

१० वर्षमा ५ प्रतिशत मात्र वैदेशिक रोजगार बचतपत्र बिक्री

यज्ञ बञ्जाडे 

काठमाडौँ — पाँच वर्षका लागि १० प्रतिशत ब्याज आय सुनिश्चित भएको वैदेशिक रोजगार बचतपत्रको बिक्री आउँदो चैतदेखि खुल्ने भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बेच्न लागेको हो । गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरिएकामा करिब ११ प्रतिशत मात्र विक्री भएपछि यस वर्ष सरकारले आधा घटाएर निष्कासन गर्दै छ । वैदेशिक रोजगारीमा गएकाले मात्र खरिद गर्न पाउने बचतपत्र हो यो । 

वैदेशिक रोजगारीमा गएकाहरूले आफू भएकै राष्ट्रबाट बचतपत्र किन्न सक्छन् । यसमा लगानी गरेको रकममा कर लाग्दैन । ६/६ महिनामा ब्याज भुक्तानी पाइन्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ । विगतका तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा पनि वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले लक्षित आन्तरिक ऋण उठाउन नसक्ने निश्चित जस्तै छ । पछिल्ला १० वर्षमा यो औजारमार्फत सरकारले कुनै पनि वर्ष लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सकेको छैन । यही कारण यस वर्ष पनि नसक्ने जानकारहरूको विश्लेषण छ । गएको १० वर्षमा सरकारले कुल १३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरेको छ । यसमध्ये ६७ करोड ९२ लाख रुपैयाँ मात्र बिक्री भएको छ । यो कुल आह्वान भएको रकमको करिब ५ प्रतिशत मात्र हो ।

हरेक वर्ष अपेक्षाभन्दा धेरै कम मात्र विक्री भएपछि सरकारले गत वर्षभर नै वैदेशिक रोजगार बचतपत्र विक्री गरेको थियो । यति गर्दा पनि आह्वान गरिएकोमध्ये करिब ९० प्रतिशत बिक्री भएन । यहीकारण यस वर्ष गत वर्षको तुलनामा आधा घटाएर ५० करोड रुपैयाँमा झारिएको हो ।

बचतपत्रको बिक्री बढाउन यस वर्ष अनलाइनबाट पनि खरिद गर्न सकिने व्यवस्था गर्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए । विगतमा अनलाइनमार्फत आवेदन दिन मात्र सकिने व्यवस्था थियो । बचतपत्र खरिद गर्नुअघि आवश्यक सबै कागजात भौतिक रूपमै बुझाउनुपर्थ्यो । अब भने स्वदेश र विदेश जहाँबाट पनि बचतपत्र खरिदका सबै काम अनलाइनबाटै हुने व्यवस्था गर्न लागिएको शाक्यले जानकारी दिए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको थियो । सोहीअनुसार मुद्रा व्यवस्थापन विभागले आन्तरिक तयारी अघि बढाएको हो । ‘यो नीति पारित भएपछि नागरिक बचतपत्र र वैदेशिक बचतपत्रका लागि खरिद गर्न सबै काम अनलाइनबाटै गर्न सकिन्छ,’ शाक्यले भने, ‘बचतपत्र डिम्याट भइनसकेकाले अझै प्रमाणपत्र लिन मात्र बैंकमै पुग्नुपर्नेछ ।’ 

प्रचारप्रसार नै कम भएकाले अपेक्षित रूपमा वैदेशिक रोजगार बचतपत्रको बिक्री हुन नसकेको नेपाली मुद्रा विप्रेषक संघका पूर्वअध्यक्ष सुमन पोखरेलले बताए । खासगरी विकसित राष्ट्रमा मध्यम र उच्च स्तरको काम गर्न जाने नेपालीलाई लक्ष्य गरेर प्रचारप्रसार गरेका बचतपत्र बिक्रीमा समस्या नहुने उनको बुझाइ छ । ‘यो धेरै राम्रो र सुरक्षित लगानीको औजार हो । राम्रो ब्याज पाइन्छ । लगानी भएको रकममा कर छुट हुन्छ,’ उनले भने, ‘चाहेको समयमा बिक्री गर्न सकिन्छ ।’ लगानीको सुरक्षित औजार हुँदाहुँदै पनि सम्बद्ध मानिसहरूलाई पर्याप्त प्रचारप्रसार र शिक्षा दिन नसक्दा निकै कम मात्र बचतपत्र बिक्री भएको पोखरेलको भनाइ छ । ‘सरकारले हरेक देशमा रहेको राजदूतावाससँग समन्वय गरेर व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्छ,’ उनले भने, ‘यो कार्यमा हरेक पाइलामा सहकार्य गर्न रेमिट्यान्स कम्पनी तयार छन् ।’

गत आर्थिक वर्षमा बजारमा ब्याजदर कम थियो । त्यति बेला बैंक ब्याजदरभन्दा बचतपत्रबाट प्राप्त हुने ब्याज धेरै थियो । यस वर्ष ब्याजदर बढेको छ । यसकारण बचतपत्रको ब्याजदरभन्दा बैंकको ब्याजदर उच्च हुने सम्भावना रहेको जानकारहरू बताउँछन् । वैदेशिक रोजगार बचतपत्र कार्यक्रम पूर्ण रूपमा असफल भइसकेको राष्ट्र बैंकका एक पूर्वकार्यकारी अधिकृतको विश्लेषण छ । ‘यो पूर्ण रूपमा असफल कार्यक्रम हो,’ ती अधिकारीले भने, ‘राष्ट्र बैंकले प्राण जोगाएर जीवत राखेको मात्र हो ।’

बचतपत्र बिक्री सुरु गरिएको करिब दशक हुँदा पनि लक्षित वर्गसम्म नपुगेको उनको दाबी छ । वैदेशिक रोजगारीमा गएका बहुसंख्यक नेपालीसँग बचतपत्र किन्ने पैसा अलिअलि भए पनि घरघडेरीलगायतमा खर्च गर्छन् । ‘अलिअलि बिक्री भएका बचतपत्र पनि संयुक्त राष्ट्र संघलगायत राम्रो विदेशी नियोगमा काम गर्ने नेपालीले खरिद गरेका हुन्,’ उनले भने, ‘विदेशमा कमाएको रकम पठाएरै घरबार चलाउने नेपालीले बचतपत्र किन्न सक्दैनन् । यही कारण बचतपत्र कम बिकेको हो ।’ बहुसंख्यकको पहुँचमा नपुगेकै कारण बिक्री नहुने अवस्था आएको उनले बताए ।

वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीले खरिद गर्न पाउँछन् । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् ।

बचतपत्र पाँच वर्ष अवधिको हो । यसमा लगानी गरेबापत वार्षिक १० प्रतिशत ब्याज पाइन्छ  । ब्याज ६/६ महिनामा भुक्तानी हुन्छ । लगानीकर्ताले घटीमा ५ हजार र बढीमा ५ हजारले भाग गर्दा निःशेष हुने गरी लगानी गर्न पाउँछन् । बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन पाइन्छ । वैदेशिक रोजगार बचतपत्र नयाँ अवधारणा होइन । आव ०६६/६७ देखि नै यस्तो बचतपत्र निष्कासन सुरु भएको हो ।

Published on: 22 February 2022 | Kantipur

Link

Back to list

;