s

१० वर्षदेखि श्रीमान्‌को पर्खाइ

रूपा गहतराज

नेपालगन्ज — कोहलपुर नगरपालिका–२ गौरीडाँडाकी ३४ वर्षीया मीना रानाको १८ वर्षमै मागी विवाह भयो । दुई सन्तान जन्मिए । जसोतसो गुजारा चलिरहेको थियो । भविष्य सुरक्षित गर्न भन्दै पतिलाई मलेसिया पठाइन् । थोरै रहर र धेरै बाध्यताका बीच उनका पति मलेसिया गएका हुन् । एक–दुई गर्दै वर्षहरू थपिंदै गए । पति फर्किएनन् । एक–एक वर्ष भिसा थप गर्दै उनका पति उतै बस्न थाले । १० वर्ष बितिसक्दा पनि पति अहिलेसम्म घर नफर्किएको उनले बताइन् ।

‘छोराछोरी बाबुबिनाका सन्तानजस्तै भए,’ उनले भनिन्, ‘पतिले दुःख गरेर कमाएको भन्दै राम्रो लगाउन र मिठो खान सकिनँ, पखाईमै जवानी बित्यो ।’

मलेसिया गएको केही वर्षपछि पति राजेन्द्र रानाले फोन गर्न छाडेको मीनाले बताइन् । ‘पैसा पनि पठाउन छाडे,’ उनले भनिन्, ‘करकापपछि छोराछोरीको पढाइका लागि भन्दै थोरै पैसा पठाउँथे ।’ अहिले पैसा पनि पठाउन नसक्ने बताएको उनले सुनाइन् । ‘अहिले त नेपाल आउन नसक्ने भन्छन्,’ उनले भनिन्, ‘मन बेचैन छ ।’ सोच्दा सोच्दै मानसिक रूपमा बिरामी पर्न थालेको उनले सुनाइन् । ‘अहिले मलाई पेटसम्बन्धी समस्याले सताएको छ,’ उनले भनिन्, ‘पैसा अभावले उपचार गर्न सक्ने अवस्था छैन ।’

‘जसका लागि भनेर मैले परिवार हेरेर १० वर्ष पर्खें, उसैले तँसँग मेरो कुनै सरोकार छैन, म अब फर्किन्न भन्यो,’ उनले आँशु खसाल्दै भनिन्, ‘अब मैले कसरी गुजारा गर्ने ? छोराछोरी कसरी पाल्ने ? ममाथि अन्याय भयो ।’ मीना अहिले छोराछोरीका साथ नेपालगन्जमा कोठा भाडामा लिएर बसेकी छन् । छोरी अढाइ वर्ष र छोरा पाँच वर्षको हुँदा पति मलेसिया गएका थिए । छोरो अहिले १५ वर्षको भयो भने छोरी साढे १२ वर्षकी भइन् । ‘मेरा छोराछोरीले बाबाको माया पाउन सकेनन्,’ उनले भनिन्, ‘स्कुलमा बुबालाई बोलाऊ भन्दा छोरी रुँदै घर फर्केर आउँछे । त्यो आँसुको मूल्य कसले बुझिदिने ?’

जाजरकोटबाट नेपालगन्ज झरेकी मीनाले गिट्टी–बालुवा बोक्दै छोराछोरी पढाएको बताइन् । पति फर्केर आएपछि परिवारसँगै मिलेर बस्ने सुन्दर सपना बुनेकी थिइन् । तर, त्यो सपना कहिल्यै विपना नबनेको उनले बताइन् । ‘उतै बिहे गरेको सुनेकी छु । आफ्नो दुःख कसलाई सुनाऊँ ?’ उनले भनिन्, ‘मेरा लागि नभए पनि छोराछोरीको मुख हेरेर भए पनि फर्केर आए हुन्थ्यो ।’ पतिको व्यवहारले आजित भएर उनले विदेश जाने निधो गरिन् । पासपोर्ट बनाइन् । तर, छोराछोरी एक्लै छाडेर जाने अवस्था भएन । ‘म त घर न घाटकी भएँ, विदेश नजाऊँ छोराछोरी कसरी हुर्काऊँ, पढाऊँ ?,’ उनले भनिन्, ‘जाऊँ भने छोराछोरीलाई कसरी एक्लै छाडेर जाऊँ !’

जानकी–२ भैयापुरकी सोनु सुनारका पति पनि २० वर्ष भयो, मलेसिया गएको । बिहे भएपछि दुईपटक घर आए । त्यही बीचमा उनका दुई छोरा भए । सुत्केरी हुँदा सोनुले पतिको माया र साथ पाइनन् । सुत्केरी व्यथा लागेर

छट्पटाउँदा होस् या दुःखसुखमा पतिलाई खुब सम्झिइन् । घर आउने भन्दा भन्दै १० वर्ष बितिसकेको थियो । एक वर्षअघि मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भयो । अहिले ११ र ६ वर्षका छोरासँग जीवन बिताइरहेकी सोनुलाई पतिलाई वैदेशिक रोजगारीबाट समयमै फर्काउन नसकेको पीडाले पोल्छ । फोनमा जतिबेला पनि फर्कनुभन्दा पनि एक वर्ष अरू बस्छु भन्दै टारिरहनु भयो । बिहे गरेर पनि सँगै बस्न पाइएन,’ उनले भनिन्, ‘अहिले छोराहरू टुहुरा भए । मलाई पनि जिन्दगी चलाउन मुस्किल छ ।’ जिल्लामा रोजगारीका विदेश जाने थुप्रै छैन । वैदेशिक रोजगारीमा गएकाहरूका श्रीमती कसरी बाँचेका होलान्, अवस्था कस्तो होला भनेर समाजले नबुझेको उनीहरूको गुनासो छ । ‘राम्रो भयो भने भाग्यमानी भन्ने समाज पतिको मृत्युपछि पतिलाई खाई भनेर टोकेसो गर्छन्,’ उनले भनिन्, ‘हाम्रो भावना बुझिदिने त कोही छँदै छैन ।’

जति नै हिंसा भए पनि सामाजिक इज्जतका कारण पनि वैदेशिक रोजगारमा गएका पुरुषका पत्नीहरू खुलेर नआउने अधिकारकर्मी निर्मला पौडेलले बताइन् । ‘शंका गर्ने, पैसा नपठाउने र घरै नफर्कने कारणले कति महिला मानसिक रूपले पीडित बनेका छन्,’ उनले भनिन्, ‘तर, समाजमा आफ्नै इज्जतका कारण महिलाहरू खुल्न सक्दैनन् ।’ वैदेशिक रोजगारीमा गएका पतिहरूले पैसा नपठाउँदा र घर–परिवारप्रति वास्तै नगर्दा पनि महिलाहरू न्यायका लागि प्रहरीसम्म पुग्दैनन् । जिल्ला महिला बालबालिका सेवा केन्द्रकी सई दिलसरा राना क्षत्रीले विदेशमा बेपत्ता भएका वा घर नआउने पतिबारे अहिलेसम्म कुनै उजुरी नपरेको बताइन् । ‘हामीले विदेश बसेको पतिलाई झिकाउन त सक्दैनौं,’ उनले भनिन्, ‘तर, सम्झाउने र महिलाको न्यायका लागि सहयोगी बन्न त सक्छौं नि ∕ महिलाहरू सचेत र जागरुक नबन्दासम्म केही हुँदैन ।’

Published on: 21 February 2023 | Kantipur

Link

Back to list

;