s

१० वर्षदेखि बन्धक बनाइएकी कुमालको उद्धार

होम कार्की

श्रममा मुद्दा हालेर ७ वर्षको तलब उपलब्ध गराइदिएका छौं, प्रक्रिया पूरा गरेर चाँडै नेपाल पठाउँछौं : महावाणिज्य दूत

साउदी अरबमा १० वर्षदेखि बन्धक बनाएर घरेलु काममा लगाएकी महिलाको उद्धार गरिएको छ । १० वर्षअघि साउदी पुगेकी नुवाकोटको विदुर नगरपालिका–४, बट्टार फेदीगाउँकी गंगामाया कुमालको नेपाली महावाणिज्य दूतावासले उद्धार गरेको हो । काम गर्ने घरको साहुले उनलाई नेपालस्थित घरपरिवारसँग सम्पर्क गर्न नदिई बन्धक बनाएर राखेका थिए ।

कुमालको राहदानी नवीकरणका लागि जेद्दास्थित महावाणिज्यदूतको कार्यालयमा निवेदन आएपछि उनको अवस्थाबारे जानकारी भएको हो । कुमालका छोरा विनोदले आफूहरूले आमाको अवस्थाबारे कुनै जानकारी नपाएको र आस मारिसकेको बताए । ‘आमा ठीक हुनुहुन्छ भनेको सुन्दा साह्रै खुसी लागेको छ,’ उनले कान्तिपुरसँग भने ।
 
‘कुमाललाई नलिई पासपोर्ट बोकेर साउदी मात्रै आयो,’ कार्यबाहक महावाणिज्य दूत रेवती पौडेलले भने, ‘हस्तलिखित पासपोर्टमा १० वर्षदेखि एकपटक पनि नेपाल फर्किएको नदेखिएपछि जबरजस्ती राखेको हो कि जस्तो लाग्यो ।’ महावाणिज्य दूतावासले जसको पासपोर्ट हो, उसैलाई ल्याउनू भनेपछि गंगामायालाई उपस्थित गराएको थियो । सुरुमा उनले अरबीको डरले आफू साउदी नै बस्ने बताइन् तर पछि नेपालीमा कुरा गरेपछि आफूलाई यातना दिएर जबरजस्ती राखिएको बताएकी थिइन् ।
 
‘मेरो श्रीमान् र बुबाको मृत्यु हँुदा पनि नेपाल जान दिएन,’ उनले भनिन्, ‘अब नेपाल जान पाउँदिनँजस्तो लागेको थियो । यहीँ मरिन्छ कि भनेर पीर लाग्थ्यो ।’ उनले आफूसँग भएको परिवार र आफन्तको फोन नम्बरसमेत खोसेर राखिएको बताइन् । ‘परिवारसँग सम्पर्क गर्दा नेपाल लैजान्छ भनेर हो कि ? कसैसँग सम्पर्क गर्न दिएन,’ उनले भनिन्, ‘घरमा एउटा छोरा र एउटी छोरी छाडेर आएको थिएँ । अहिले कस्ता भइसके होलान् ?’
 
कुमाललाई झन्डै ७ वर्षको तलब ३० हजार रियाल श्रम अदालतमा मुद्दा हालेर दिलाइदिएको पौडेलले बताए । गंगामाया दूतावासको सेल्टरमा रहेको र उनलाई प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
 
Published on: 3 April 2018 | Kantipur

Back to list

;