s

१० वर्ष सँगै, १२ वर्षदेखि एक्लै

सन्तोषकुमार राई

आमा म बाबाको यो फोटो ठुलो बनाएर राख्छु’ हलेसी तुवाचुङ नगरपालिका – ६ मंगलटारकी मनिषा बस्नेत बुवाको अनुहार सम्झिराख्न यस्तो भन्दैछिन् ।

उनी अहिले १३ वर्षकी भइन् । उनलाई बुवाको अनुहार कस्तो छ केही थाहा छैन । त्यसैले आमालाई ‘आमा, हाम्रो बाबा, काका जस्तै अनुहारको हुनुहुन्थ्यो हो ?’ भनेर सोध्छिन् । लेखकुमारी छोरीलाई हो भन्ने उत्तर दिनुहुन्छ ।
 
तर, अनि हाम्रो बाबा खै त ? यो प्रश्नको उत्तर चाहिँ छैन लेखकुमारीसँग । उहाँले पनि त श्रीमानलाई नदेखे र नभेटेको १० वर्ष भइसक्यो । २०५२ सालमा देवबहादुरसँग बिहे गरेकी लेखमायाले श्रीमानको साथमा भन्दा लामो समय एक्लै बिताइसक्नुभएको छ । ‘सँगै १० वर्ष त बसियो, टाढा भएको त १२ वर्ष भइसक्यो’ लेखमाया भन्नुहुन्छ ।
 
१२ वर्षअघि विदेश जाने बेलामा लेखकुमारीका श्रीमान देवबहादुरले पुरानो घर नयाँ बनाउने सपना साँच्नुभएको थियो । तर अहिलेसम्म यो घरको रुप फेरिएको छैन । उस्तै छ पुरानो शैलिको घुमाउने घर ।
 
अहिले यो घरमा लेखकुमारी १७ वर्षका छोरा पुष्पसँग बस्नुहुन्छ । श्रीमान् सहित उहाँको परिवार पाँच जनाको हो । कमाउन कतार गएका देवबहादुर उतै हराउनुभयो । जेठी छोरीको बिहे भइसक्यो । कान्छी छोरी मनिषा अहिले मावलमा बस्छिन् । घरमा त आमा छोरा मात्रै ।
 
छोराछोरीलाई पढाउने र घरको आर्थिक अवस्था सुधार्ने सपना बोकेर २०६२ साल पुस ५ गते घरबाट हिड्नु भएको थियो देवबहादुर । घरबाट हिँडेका उहाँ कतार उडेको कुरा एक महिनापछि मात्रै थाहा पायो परिवारले । त्यो पनि गाउँकै काका पर्ने व्यक्तिले भनेपछि मात्रै । कतार पुगेको २ बर्षसम्म चिठ्ठीसँगै जाँदा लिएको एक लाख रुपैयाँ ऋण तिर्ने गरी पैसा पनि पठाउनुभयो घरमा ।
 
दुई वर्षपछि घर आउने भन्दै फोन गर्नुभएको थियो देवबहादुरले । ‘पैसा छैन भने केही समयका लागि छिमेकीहरुसँग सापटी लिएर चलाउनु म आएपछि तिरौंला भन्नुभएको थियो फोनमा ।’ लेखकुमारी भन्नुहुन्छ ।
 
तर भनेको समयमा देवबहादुर फर्किनुभएन । त्यो भन्दा पछि कतार गएका गाउँले फर्किए । देवबहादुरको भने अत्तोपत्तो हरायो । त्यसैले कतै गाउँहरुले पो देखे कि भनेर सोध्न जानुहुन्थ्यो लेखकुमारी । तर फर्किएका मध्ये कसैले पनि देखे भेटेको सुनाएनन् ।
 
श्रीमानको बेखबरको पीडा त थियो नै तीन जना छोराछोरीको पालनपोषण र पढाउन चाहिने खर्चले सताउन थाल्यो । त्यसबाट आत्तिनु त भयो तर हार खानुभएन् । त्यसैले त अहिले उहाँका छोरा १२ कक्षामा पढ्ने भएका छन् । ठुली छोरीको बिहे गरिदिनु भयो । कान्छी छोरी भने मामा घरमा बसेर कक्षा ७ मा पढ्दै छिन् ।
 
देवबहादुर विदेश जाने बेला कान्छी छोरी ६ महिनाकी मात्रै थिइन् । सानो हुँदा त छोरीले खासै बाबाको बारेमा चासो लिएकी थिईनन्  । तर आजभोलि त मामा घरबाट घर आयो कि सोधिहाल्छिन ‘विदेश गएका अरुका बाबा त आउँछन हाम्रो बाबा चैं किन नआउनु भको ?’ ‘म आफैंलाई त सम्हाल्न सक्दिन छोरीको उत्तर कसरी दिउँ’ लेखमाया रुनुभयो ।
 
यस्ता रुने दिन कति आए लेखमायासँग हिसाब छैन । तर ठूली छोरीको बिहे गर्दा भने लेखमाया मात्रै होइन परिवारका कसैले पनि मन थाम्न सकेनन् । उहाँलाई सम्झिएर घरमा रुवाबासी नै भएको थियो ।
 
‘हुन त दाईको छोरी पनि मेरो छोरी नै हो तर कन्यादन दिँदा दाईको यादले कसैले पनि मन थाम्न सकेनौं’ तोयाबहादुर बस्नेत भन्नुहुन्छ । 
 
तोया पनि पाँच वर्ष मलेसिया बसेर फर्किनुभएको हो । मलेसियामै हुँदा दाजुभाइको गफ भएको थियो फोनमा । त्यति बेला देवबहादुरले भाइलाई आफू केही समयमा आउने भन्दै घर फर्किन भन्नुभएको थियो ।
 
‘तँ घर जा बा, आमा अब बुढाबुढी हुनुभयो घरमा खेती गर्ने कोही छैन म पनि अब आउँछु भन्नुभएको थियो’ तोयाले सुनाउनुभयो । तोया घर फर्किनुभयो । तर देवबहादुर भने उतै हराउनुभयो । श्रीमान जाँदा लेखमायासँग मोबाइल थिएन । अहिले त मोबाइल किन्नुभएको पनि छ । कहिलेकाहिँ फोनको घण्टी बच्छ । फोनमा बज्ने प्रत्येक घण्टीले लेखमायालाई झस्काउँछ ।
 
आफू र परिवारलाई बिर्सिए पनि छोराछोरीलाई त कसरी बिर्सिन सकिन्छ र भन्ने लाग्छ लेखमायालाई । ‘त्यतिबेला ठूली छोरी र ठुली छोरालाई डोहो¥याउँदै स्कूल पुर्याउन जानुहुन्थ्यो । त्यो कुरा सम्झिएर पनि फर्किनुहुन्छ कि भन्ने आश छ ।’ लेखमायाले भन्नुभयो ।
 
लेखमाया कतारमा भएका कसैले श्रीमानलाई देखे वा भेटेमा दिक्तेलमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको ०३६–४२०५२७ मा फोन गरिदिन आग्रह गर्नुहुन्छ । 
 
Published on: 1 March 2018 | Ujyaaloonline

Back to list

;