s

अमेरिका जाने सालघारीको बाटो

काशी जाने कुतिको बाटो भन्ने उखान पुरानो भएको छ, अहिले नेपालीका लस्कर अमेरिकातिर सोझिएका छन् । त्यो पनि अन्तर्राष्ट्रिय विमानस्थलको मार्गबाट होइन, गाउँको सालघारी हुँदै ओरालो लागेर भारत पस्ने र विभिन्न मुलुकमा हन्डर र ठक्कर खाँदै सके गन्तव्यमा पुग्ने, नसके फर्कने, फर्काइने ।

जसरी पनि अमेरिका पुग्ने र मनग्य कमाउने हुटहुटीले नेपाली युवालाई यसरी ग्रसित पारेको छ कि उनीहरू दलाललाई ८० लाखसम्म सहजै बुझाउन र ज्यान माया मारेर कैयौं महिना हिँड्न तयार हुन्छन् ।

केहीले यसरी अमेरिका पुगेर कानुनी प्रक्रिया पुर्‍याएपछि आर्थिक हैसियत उकासेका पनि छन् तर अरू कैयन् बाटामै अलपत्र पर्छन्, कतिले ज्यान गुमाउँछन् । अमेरिका पुगेपछि पनि कागजी प्रक्रिया नमिलेर स्वदेश फर्काइएकाहरू प्रशस्तै छन् । त्यस्ता व्यक्तिहरूमा अमेरिका जाँदाको ऋण कसरी चुक्ता गर्ने अर्को चिन्ता थपिन्छ । तैपनि अवैध मार्गबाट अमेरिका जान खोज्ने युवाको संख्या न कम भएको देखिन्छ न उनीहरूको अवैध यात्रा रोक्न सरकारले नै गम्भीर चासो दिएको छ ।

बेरोजगारी समस्या र कामधन्दा भए पनि न्यून आम्दानीका बीच गुज्रिरहेका युवालाई मनग्य कमाइको सपना देखाएर अवैध बाटो अमेरिकातर्फ हिँडाउने दलालहरू गाउँ तहसम्मै सक्रिय देखिन्छन् । अमेरिका पुगेकाको प्रगतिका कथा सुन्दै आएका युवालाई दलालहरूले सजिलै ‘जाल’ मा पार्ने गरेका छन् । अमेरिकामा पुग्ने र उतै बस्ने लालसा युवामा कुन हदसम्म छ भन्ने त नक्कली शरणार्थी प्रकरणले नै प्रस्ट पारिसकेको छ । अवैध प्रपञ्चलाई रोक्न होइन, सहयोग गर्न राजनीतिक र प्रशासनिक तहमा कसरी मिलेमतो गरिन्छ भन्ने पनि त्यही प्रकरणले खुलाइसकेको छ । यस्तो विडम्बनापूर्ण स्थितिका माझ आफ्नो सञ्जालमार्फत युवालाई अमेरिका छिराइदिने प्रलोभन देखाएर लाखौं असुल्ने दलालहरूको धन्दा मौलाइरहेको छ । र, राज्यले यसमा अनदेखा गरिरहेको छ ।

दाङ, रुकुम पश्चिम, रुकुम पूर्वलगायत जिल्लामा दलालको पछि लागेर अवैध बाटो अमेरिकातर्फ जाने ‘लहर’ नै चलेको देखिन्छ । युवाले अमेरिका जानका लागि महँगो ब्याजदरमा ऋण काढेर यहाँका दलाललाई ३०–४० लाख रुपैयाँ बुझाउँछन् । अमेरिका पुग्न सफल भएर कानुनी प्रक्रिया पूरा गर्दासम्म ७०–८० लाख खर्च भइसकेको हुन्छ । त्यति गरेर पनि त्यहाँबाट तत्कालै स्वदेश फिर्ता (डिपोर्ट) गरियो भने परिवारमा अर्को समस्या थपिन्छ । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ यताका पाँच वर्षमा मात्रै अवैध रूपमा अमेरिका छिरेका १७८ नेपाली डिपोर्ट भएका छन् । यसरी फर्किएकामध्ये कतिपय युवा ऋण चुक्ता गर्ने आधार नभएर परिवारसहित गाउँ छाडेर हिँडेका दृष्टान्त छन् । अमेरिकाको सपनाले बढाइरहेको यस्तो सामाजिक समस्या गम्भीर चिन्ताको विषय हो ।

दलाललाई पैसा बुझाउनासाथ युवाले सहजै अमेरिका पस्न पाउने होइनन्, पसे पनि त्यहीं बस्न पाउने सुनिश्चित पनि छैन । दलालले नेपाली युवालाई नयाँदिल्लीबाट प्रायः थाइल्यान्ड वा सिंगापुर वा दुबई वा रुस हुँदै ब्राजिल वा आसपासका मुलुक पुर्‍याउँछन् । त्यसपछि कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला पार गरेर मेक्सिको पुग्नुपर्छ । ट्रान्जिट, भिसा र अन्य प्रक्रिया स्थानीय दलालले नै मिलाउँछन् । तर एक मुलुकबाट अर्को मुलुक पार गराउने बेला उनीहरूले थप रकम माग्छन् । यस क्रममा कतै बस, ट्रक र कन्टेनरमा बसेर, कतै जंगलैजंगल पैदल, डुंगा चढेर प्रहरी–प्रशासन छल्दै जोखिमपूर्ण यात्रा गर्नुपर्छ । पैदल यात्रामा कोही बाटो पत्तो नपाएर हराउँछन्, कोही लुटिन्छन् । कतिपयलाई प्रहरी–प्रशासनले बीचमै स्वदेश पठाइदिन्छ । कैयौंले बाटामै ज्यान गुमाउँछन् ।

दुई वर्षअघि मात्र पनामास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा अमेरिका हिँडेका सात नेपालीको मृत्यु भएको थियो । कैयन् दिनको हन्डरपछि मेक्सिको पुगेकाहरू मौका मिलाएर अमेरिका छिर्छन् । त्यसपछि शरणार्थी (असाइलम) को मान्यताका लागि कानुनी प्रक्रियामा थप खर्च लाग्छ, मान्यता नपाए डिपोर्ट गरिन्छ । यसबीचमा अमेरिकी अध्यागमनको हिरासतमा कैयौं दिन बस्नुपर्ने हुन सक्छ । शारीरिक र मानसिक रूपमा आकुलव्याकुल भएर अमेरिका पुगेका युवाले हिरासतमै पनि ज्यान गुमाउन सक्छन् । जस्तो– अवैध रूपमा अमेरिका छिरेका सिन्धुपाल्चोक, बाह्रबिसेका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकास्थित अध्यागमन हिरासतमा गत सोमबार मृत्यु भयो ।

दलालले अमेरिकाको सपना देखाउँदै युवालाई अवैध बाटो अमेरिका पठाउने धन्दा वर्षौंदेखि चलाइरहँदा राज्यका सम्बन्धित निकायहरू भने बेखबरजस्तै देखिन्छन् । लाखौं खर्च गरेर ज्यान जोखिममा पार्दै कैयन् दिनपछि अमेरिका पुगिसक्दा पनि त्यहीं बस्न पाउने सुनिश्चित नहुने थाहा पाउँदापाउँदै पनि युवाले किन ज्यान र धनको बाजी लगाइरहेका छन् भन्ने विषयमा गम्भीर विश्लेषण गर्ने र समाधानको उपाय पहिल्याउने चासो पनि देखाइएको छैन । यो धन्दा यसरी नै मौलाइरह्यो भने सीमितले लाभ लिन सक्लान् तर अरू कैयन्को उठीबास लाग्नेछ, ज्यान गुमाउने शृंखला पनि चली नै रहनेछ । त्यसैले अवैध बाटो अमेरिका पठाउने दलालहरूको धन्दा जतिसक्दो छिटो रोक्न राज्यका संयन्त्रहरू परिचालित हुनुपर्छ ।

रोजगारीलगायतका अवसरमा नातागोता तथा राजनीतिक निकटता हेर्ने प्रवृत्ति, उद्योग–व्यवसाय दर्ता एवं सञ्चालनमा झन्झटिलो प्रक्रिया, राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने खबरले सिर्जना गर्ने निराशा जस्ता कारण युवामा जसरी पनि अर्को मुलुक जाने लालसा बढाइरहेको देखिन्छ । त्यसैले शासकीय सुधार गर्दै रोजगारी र व्यापार–व्यवसायका लागि अनुकूल वातावरण निर्माण गरिदिए धेरै युवा मुलुकभित्रै थामिन सक्छन् । कोही वैदेशिक रोजगारमा जान चाहन्छ भने उसलाई वैध बाटो पछ्याउन प्रेरित गर्नुपर्छ ।

Published on: 20 November 2023 | Kantipur

Link

Back to list

;