s

दैनिक ज्यालादारीको बिजोग

जितेन्द्र साह, विराटनगर
 
सय दिनभन्दा बढीको मधेस आन्दोलनले दैनिक श्रम गरेर ज्याला थाप्ने निम्न वर्ग निकै नै प्रताडित हुन थालेको छ। गाडीमा सामान लोड गर्ने, झार्ने र गोदामसम्म पुर्‍याउने भरियादेखि अन्य सानो रोजगारी र व्यवसाय गर्ने थला पर्न थालेका छन्। यात्रुवाहक बस र मालवाहक गाडीको आवागमन पातलिँदा काम नभएर भरियाको आम्दानी घटेको छ।
 
निरन्तर जारी तराई आन्दोलनमा मुस्किलले ७/८ दिन मात्र काम पाएको भरिया ६२ वर्षे रिठ्ठेबहादुर विकले बताए। अरू बेला विराटनगरको ढाट र मुख्य सडकमा उभेर गाडीहरूलाई हात हल्लाइहल्लाई रोक्ने उनी अचेल अधिकांश समय घरमै बस्छन्।
 
विराटनगर ५ का स्थानीय विकले भरिया भएर काम गरेको २० वर्ष भइसकेको छ। उनले स्थिति सामान्य रहेको बेला दैनिक ४ सय रुपैयाँ कमाउँछन्। ‘यत्रो उमेरसम्म यस्ता दिनहरू कहिल्यै भोगिएन,’ उनले भने, ‘काम छैन, दिनभरि त्यत्तिकै बस्यो, ऋण वा सापटी पनि कोसँग माग्ने?’ विकको समूहमा ६२ जना भरिया छन्। गाडी नचलेपछि केही भरिया र उनको परिवार ज्यालादारी मजदुरीमा धान कटनीमा जाने गर्छन्। ‘एक्लो कमाइले घर चल्ने केही भरिया परिवारको अवस्था खराब छ,’ विकले भने, ‘उनीहरूलाई औषधि उपचारमा पनि धौधौ पर्छ।’
 
हडतालका कारण सहज ढंगले सार्वजनिक यातायात चल्न सकेको छैनन्। इँटा, सिमेन्ट एवं बालुवाको अभावमा निर्माणकार्य ठप्प छ। यसबाट सबै वर्ग एवं समूह प्रभावित भए पनि यसको मारमा सबैभन्दा बढी दैनिक ज्यालादारी श्रमिक छन्। मोरङ ३ कदमाहाका निर्माण मजदुर ३४ वर्षीय विश्वनाथ महतोलाई दुई सातादेखि घरको चुलो बाल्न पनि कठिन भएको छ। उनी सानैदेखि एउटा आँखाले मात्र देख्छन्।
 
उनले यो अनिश्चितकालीन आम हडतालको अवधिमा मुस्किलले १८/१९ दिन काम पाए। गाडी नचल्नाले बजारमा इँटा, सिमेन्ट एवं बालुवाको अभाव भएर महतोजस्ता वर्ग बेरोजगार भएका हुन्। काम पाइएला कि भन्दै उनी साइकल गुडाउँदै बिहान ७ बजे विराटनगर आइपुग्छन्। विराटनगरका चोक र बजारमा रोजगारदाता एवं ठेकेदार कुर्छन्। काम नपाएपछि बिहान १० बजेतिर घर फर्कन्छन्।
 
पन्ध्र वर्षदेखि ज्यालादारी श्रमिकको जीवन बिताउँदै आएका महतोको दुई छोराहरू स्थानीय बोर्डिङ स्कुलमा पढ्छन् भने छ वर्षीया छोरी अपांग छिन्। उनले कक्षा १ र कक्षा ४ मा पढ्ने छोराका लागि मासिक १ हजार २ सय रुपैयाँ विद्यालय शुल्क बुझाउनुपर्छ। उनले अपांग छोरीको जीवनको बन्दोबस्तीका लागि पनि रकमको जोहो गर्नुपर्नेछ।
 
महतोले घरखर्च टार्न र विद्यालयको शुल्क बुझाउन सक्ने हरथोक गरिरहेका छन्। ‘ऋण र सापटी लिएर एवं श्रीमतीको गहना बेचेर घर खर्च चलाइरहेको छु,’ उनले भने, ‘जसोतसो यस पटक चाडपर्व मनाएँ।’ उनले अझै केही दिन यो स्थिति कायम रहेमा भोकभोकै बस्नुको विकल्प नहुने बताए। सरकार एवं मधेसी मोर्चाले आफूहरूजस्ताको बारेमा सोचेर सक्दो चाँडो जनजीवन सामान्य बनाउनेतर्फ लाग्नुपर्ने महतोले बताए।
 
यहाँको मुख्य बजार ट्राफिक चोकस्थित होटेल व्यवसायी ५० वर्षे पुरुषोत्तम ताम्राकारले ३ लाख रुपैयाँ नोक्सानी भइसकेको बताए। अहिलेको माहौलमा उनले बिहान र साँझ एउटा ढोका खोलेर होटल चलाइरहेका छन्। ‘बन्दको अवधिमा १० दिन पनि आनन्दले होटल खोलिएन,’ उनले भने, ‘औपचारिकताका लागि मात्र खोल्छौं, दुई/चार हजार रुपैयाँको बिक्रीले के हुन्छ?’ ताम्राकारको मासिक होटल भाडा ३८ हजार रुपैयाँ छ। स्टाफहरूको तलब समेत जोड्दा उनले खर्च धान्नलाई पनि महिनामा कम्तीमा पनि १ लाख रुपैयाँ कमाउनैपर्छ। ‘गाडी नचल्दा र बजार नखुल्दा खान आउने नै हुन्न, पकाएको खाना पनि फाल्नुपर्छ,’ ताम्राकारले भने, ‘बन्द गर्न पनि सकिन्न, यताउतिबाट रकम लिएर चलाउँदा ३ लाख रुपैयाँ ऋण भइसक्यो।’
 
विक, महतो र ताम्राकार त बन्दबाट पीडित प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्ता हजारौं व्यवसायी, श्रमिक एवं श्रमजीवीले बन्दमा बन्दी भएर जीवन बिताउनुपरिरहेको छ।
 
Published on: 2 December 2015 | Kantipur
 

Back to list

;