s

कम्बोडियामा जागिर दिने भन्दै ठगी

जनकराज सापकोटा

काठमाडौँ — तस्करले पर्यटक भिसामा थाइल्यान्डको बैंकक बोलाउने र त्यहाँबाट सेटिङ मिलाएर कम्बोडिया छिराएपछि थप पैसा असुलेर अलपत्र पारिदिने गरेका छन् । साउदी अरबमा २७ महिना र कतारमा २ वर्ष बसेर एक वर्षअघि फर्केपछि सर्लाहीको वाग्मती नगरपालिकाका २९ वर्षीय मनोज (नाम परिवर्तन) गाउँमै सानोतिनो काम गरेर बसिरहेका थिए । 

कमाइबाट चित्त नबुझेपछि उनी फेरि एकपटक वैदेशिक रोजगारीमा जाने ताकमा थिए । त्यही मेसोमा उनले विभिन्न म्यानपावर कम्पनीले फेसबुकमा राखेको सूचनामा आफूसँग खाडी देशको सवारी चालक लाइसेन्स रहेको र उपयुक्त कोटा भए जान इच्छुक रहेको भन्दै कमेन्ट लेख्ने गरेका थिए । यसरी कमेन्ट लेख्दा आफूलाई मिल्ने कोटा रहेछ भने म्यानपावरबाट फोन आउला भन्ने उनको आशा थियो ।

महिना दिनअघि स्टाटसमा कमेन्ट लेखेको एकाध दिनमै मनोजलाई कम्बोडियाबाट एक जना नेपालीले इमोमा कल गरे । सुमन थापा बताउने तिनले आफू कम्बोडियामै बस्ने र नेपालीलाई राम्रो जागिर मिलाइदिने काम गरिरहेको बताउँदै सुनाए । उनले भने, ‘सानो गाडी चलाउने काम छ । खान, बस्नसहित मासिक ९ सय डलर तलब हुन्छ । म कम्पनीको अफर लेटर पठाइदिन्छु ।’ आकर्षक जागिरको प्रस्ताव सुनेर मनोज खुसी नहुने कुरै थिएन ।

मनोजले हुन्छ भनेको केही दिनमै सुमनले कम्पनीको अफर लेटर पठाइदिए र भने, ‘अब भिसाको प्रक्रिया सुरु हुन्छ । मैले भनेको खातामा ५० हजार हालिदिनु ।’ सुमनले काठमाडौं बस्ने विवेक बस्नेतको नाम र फोन नम्बर दिएर उसलाई मनी ट्रान्सफरमार्फत ५० हजार पठाइदिन भने । मनोजले काम बन्ने आशामा पैसा हालिदिए । नभन्दै केही दिनमा सुमनले श्रम स्वीकृति र ई–भिसा पठाइदिए र भने, ‘असोज ३० को टिकट छ । काठमाडौं आइहाल्नु ।’ मनोज घरमा बिदावारी भएर विदेश उड्ने भन्दै काठमाडौं आए । यसअघि नै उनले पटकपटक गरेर डेढ लाख रुपैयाँ विवेकलाई मनी ट्रान्सफरमार्फत पठाइसकेका थिए । अझै ५० हजार रुपैयाँ विमानस्थल पुगेपछि दिने र अरू दुई लाख भने कम्बोडिया पुगेर काम थालेपछि तिर्ने सर्त उनले स्विकारेका थिए ।

म्यानपावरका फेसबुक स्टाटसहरूमा आफू वैदेशिक रोजगारीमा जान इच्छुक रहेको भन्दै आफ्नो नम्बरसहित कमेन्ट लेख्ने गरेका भोजपुरका रनबहादुर (नाम परिवर्तन) लाई पनि मनोजकै शैलीमा सुमन फसाइसकेका थिए । उनी त विभिन्न मितिमा गरेर सुमनले भनेकै मान्छेलाई २ लाख बुझाइवरी असोज ३० मा उड्ने भनेर भोजपुरबाट ३ हजार भाडा तिरेर २९ गते नै काठमाडौं आए । रनबहादुरले भने, ‘अरू बेला १५/१६ सय भाडा पर्थ्यो । अहिले कोरोनाले गर्दा दोब्बर भाडा तिरेर भए पनि हतारिँदै आए ।’

काठमाडौं आएपछि मनोज र रनबहादुरको भेट भयो । उनीहरू दुवैले थाहा पाए, कम्बोडियाबाटै सुमनले दिलाइदिएको व्यक्तिगत श्रम स्वीकृति त नक्कली पो रहेछ । मनोजले सुमनलाई फोन गरे । सुमनले आफूले सधैं यसैगरी मान्छे उडाउने गरेको र एयरपोर्टमा आफ्नो सेटिङ भएकाले चिन्ता नगर्ने बताए ।

पैसा ठगेको निष्कर्षमा पुगेर मनोज र रनबहादुर विमानस्थल पुग्नुपर्ने दिन बिहान मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगे । मनोजले कान्तिपुरसित भने, ‘ठगिएको थाहा पाएपछि उसलाई केही नभनी म ब्युरो पुगेको थिएँ । ब्युरोले अनुसन्धान थालिहालेको भए विमानस्थलको सेटिङ कस्तो रहेछ भनेर पत्ता लगाएर ठगलाई समात्न सक्छ कि भन्ने लागेको थियो । तर ब्युरोले त हाम्रो मुद्दा दर्ता गर्नै मानेन ।’ उनीहरूका अनुसार ब्युरोले यो मानव बेचबिखन नभएर ठगी भएको भन्दै उनीहरूलाई मुद्दा दर्ता गर्न महानगरीय अपराध महाशाखामा पठाइदियो । मनोज र रनबहादुरले गत बिहीबार महाशाखामा गएर मुद्दा दर्ता गराए ।

महाशाखाका एक प्रहरी अधिकारीका अनुसार पछिल्ला महिनामा म्यानपावर कम्पनीको फेसबुकमा जागिरको खोजी गर्दै आफ्नो मोबाइल नम्बर छाड्नेहरूलाई कम्बोडिया, लाओस र थाइल्यान्ड बसेका संगठित मानव तस्करका गिरोहले ‘टार्गेट’ गर्ने गरेका छन् । उनीहरूले फेसबुकमार्फत फोन नम्बर पाएपछि भाइबर, इमो वा ह्वाट्सएपमार्फत फोन गरेर ठगीको जालो बिछ्याउँछन् । ती प्रहरी अधिकारीले भने, ‘मानव बेचबिखनको संगठित जालोसँग प्रत्यक्ष साइनो भएको यस्तो मुद्दा मानव बेचबिखन ब्युरोले नै किन दर्ता गरेन भनेर हामी छक्कै पर्‍यौं ।’

प्रारम्भिक अनुसन्धानअनुसार कम्बोडिया बस्ने सुमनले सप्तरीका पाँच जनालाई पनि कम्बोडिया उडाइदिने भनेर ठगी गरिसकेको देखिन्छ । पर्यटक भिसामा थाइल्यान्डको बैंकक बोलाउने र त्यहाँबाट सेटिङ मिलाएर कम्बोडिया छिराउने र थप पैसा असुलेर अलपत्र पारिदिने शैली तस्करहरूले अपनाएको पाइएको छ । जनही ४ देखि ६ लाख रुपैयाँ बुझाएर थाइल्यान्डसम्म पर्यटक भिसामा पुगेर कम्बोडिया छिरेका मोरङको सुन्दर हरैचा नगरपालिकाका ६ सहित २८ जना अलपत्र परेको खबर साउन पहिलो साता सार्वजनिक भएको थियो । गत वर्षको साउन पहिलो साता पनि तनहुँ ऋषिङका ५ सहित ६ जनालाई मानव तस्करको गिरोहले कम्बोडिया पुर्‍याएर अलपत्र पारेको खबर सार्वजनिक भएको थियो । बैंककसम्म सजिलै पर्यटक भिसामा झिकाउने र त्यहाँबाट कसैलाई कम्बोडिया, कसैलाई लाओस त कसैलाई भियतनामसम्म पुर्‍याएर अलपत्र पारिदिने घटना निरन्तर भइरहेको छ ।

मनोजले भने, ‘कम्बोडिया जाने भनेर कोरोना संक्रमणका बेला पनि दुःख गरेर काठमाडौं आइयो । यहाँ आएपछि पो ठगको फन्दामा परेको थाहा पाइयो ।’ रनबहादुरले भने आफूले ऋण गरेर लिएको पैसा ठगले खाइदिएपछि आफू आपत्मा परेको सुनाए । मनोजले यही गिरोहबाट अरू पनि ठगिएको अड्कल काट्दै सुनाए, ‘अब गाउँमा गएर के पो भन्नु ? ठगिएको थाहा पाए भने अब फलानो त ठगिएछ भनेर जिस्काउँछन् ।’

Published on: 9 November 2020 | Kantipur

Link

Back to list

;