s

'बेचबिखनविरुद्ध लागौं'

महिला तथा बालबालिका बेचबिखन र ओसारपसारका घटना दिन प्रतिदिन बढ्दै गएको भन्दै यहाँका महिलाले चिन्ता व्यक्त गरेका छन् । गाउँगाउँमा विवाहित, अविवाहित महिला तथा बालबालिकालाई अवैध यौन धन्दामा लगाउन सहरी क्षेत्र तथा भारतमा पठाउने क्रम बढेको भन्दै उनीहरूले नियन्त्रणका लागि प्रशासन गुहारेका छन् । 'पूर्ण रूपमा प्रमाणित नभएसम्म कसैलाई आरोप लगाउन नसकिने भएकाले यकिन तथ्यांक दिन सकिएन,' महिला विकास अधिकृत लक्ष्मी जीसी कार्कीले भनिन्, 'अघिल्लो वर्ष बेचबिखनमा परेका ६ महिलालाई कार्यालय र अल्पकालीन महिला सेवा केन्द्र पहलमा सामाजिक पुनस्र्थापन गरिएको थियो ।'

तत्कालका लागि कार्यालय, अन्तरपार्टी महिला समिति र गाविस सचिवको पहलमा तथ्यांक संकलन गरिने कार्कीले बताइन् । बेचबिखन न्यूनीकरणका लागि प्रहरी र प्रशासनले कडाइ गर्नुपर्ने र शंकास्पद गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उनीहरूले गरे । अहिले अशिक्षा, उच्छृंखलता र आर्थिक अभावमा महिला बेचबिखन र यौन सिकार भएकाले चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा समिति सदस्यहरूले माग गरेका छन् । 'त्यसका लागि महिला विकासको अगुवाइमा सञ्चारकर्मी, अधिकारकर्मी, कर्मचारी र गाविस सचिवको संयुक्त पहल आवश्यक छ,' अन्तरपार्टी महिला समिति सदस्य मना केसीले भनिन्, 'समितिले पनि अप्रत्यक्ष रूपमा बेचबिखनमा परेका, जोखिममा रहेकाको निगरानी गरेको छ ।'

Published on: 7 September 2011 | Kantipur

Back to list

;