रोल्पा नगरपालिका थबाङका दिलबहादुर घर्ती ६७ लाख ब्लडमनी तिरेर नेपाल फर्किएका छन् । उनी ०७२ मा साउदी अरब पुगेका थिए । रियादमा साउदी नागरिकले चलाएको कार ठोक्किन आउँदा ती नागरिकको मृत्यु भएको थियो ।
त्यहाँको अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाउँदै ६७ लाख नेपाली रुपैयाँ ब्लडमनी बुझाउनुपर्ने र नबुझाए मृत्युदण्ड हुने सजाय सुनाएको थियो । परराष्ट्र मन्त्रालयमार्फत ब्लडमनी बुझाएपछि शनिबार दिलबहादुर नेपाल फर्किएका हुन् । ‘मेरो जीवन बचाएर नेपाली दाजुभाइले यति ठूलो गुण लगाएकोमा म हर्षविभोर छु,’ दिलबहादुरले भने, ‘मैले नयाँ जीवन पाएको छु ।’
भावुक मनिका श्रीमान् व्यक्ति हत्यामा जेल परेपछि श्रीमती मनिका बुढालाई निकै तनाव भयो । अनि उनले सुरु गरिन् रोल्पा–काठमाडौं यात्रा । सामाजिक सञ्जाल र मिडियाका कारण यतिसम्म होला भन्ने मनिकालाई विश्वासै थिएन ।
जहाँजहाँ जान्थिन् मृत्यु पर्खिरहेका श्रीमान्को यादमा आँसु बगाउँथिन् । कतिले ‘कठै’ भन्थे त कतिले ‘सडकछाप’को व्यवहार गर्थे । घरव्यवहार थाती राखी नेता, मन्त्री, संघसंस्था तथा विभिन्न व्यक्तिहरूलाई भेट्न रोल्पादेखि काठमाडौंका गल्लीगल्ली छोरा र छोरीको साथ लागेर हिँडिन् । ‘धेरै दुःख पाएँ, तर यति छिटो होला भन्ने कल्पना पनि गरेको थिइनँ,’ शनिबार श्रीमान्को छेउमै उभिएर मनिकाले भावुक हुँदै भनिन् ।
उपराष्ट्रपति पुत्रले गरे सहयोग करिब दुई वर्ष साउदी जेलमा बसेका दिलबहादुरलाई बचाउन उनकी श्रीमती मनिका बुढालाई उपराष्ट्रपति पुत्र दीपेश पुनले विशेष साथ दिए । उनलाई जेलमुक्त गर्न सामाजिक सञ्जालमार्फत करिब एक दर्जन देशमा अभियान नै सञ्चालन गरिएको थियो ।
‘देश तथा विदेशमा रहनुभएका नेपालीले आफ्नै पीडा सम्झेर सहयोग गर्नुभयो,’ अभियान संयोजक दीपेशले भने, ‘दिलबहादुर बचाउ अभियान नेपालीको भावनात्मक एकता पनि हो ।’ अभियानमा मन्त्री वर्षमान पुनले समेत साथ दिएका थिए । पूर्वजनसेनासमेत रहेका दिलबहादुरले आगामी जीवन नेपाल र नेपालीका लागि समर्पित गर्ने बताए । अभियानका क्रममा उठेको करिब एक करोड रकम पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सचिव जीवन रोका मगरले बताए ।
विदेशमा मृत्यु भएपछि परिवारको बिचल्ली रोल्पा/ रोजगारीका लागि कतार पुगेका सुनीलस्मृति गाउँपालिका–३ फर्साचौरका लंकबहादुर महराको मृत्यु भएपछि परिवार बिचल्लीमा परेको छ । भाग्यमै निर्भर रहेको उनको परिवारलाई हातमुख जोर्न पनि समस्या भएको श्रीमती हरिकलाले बताइन् । ‘ऋण गरेर विदेश जानु भएको थियो । उतै ज्यान गुमाएपछि अप्ठ्यारो भएको छ,’ हरिकलाले भनिन् ।