४ सय २७ नेपाली कतारमा अलपत्र

23 Apr, 2018

होम कार्की

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल–थानीको हो ।

कतारका महत्वपूर्ण परियोजनाहरू बनाउने जिम्मा लिएको एजकेएचले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । उनीहरूको चारदेखि ७ महिनाको तलब रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ । त्यस कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् ।

 

अलपत्र परेका कामदारको गत मार्च २७ देखि काम रोकिएको हो । उनीहरूलाई कम्पनीले कतारको सनैयास्थित ३६, ४१ र अल्खोरस्थित क्याम्पमा राखिएको छ । ‘तलब नदिएपछि भोको पेटले काम गर्न सकिँदैन,’ ११ वर्षदेखि पेन्टिङको काम गर्दै आएका लमजुङका गणेशबहादुर तामाङले भने, ‘लेबरको चार महिनाको तलब र तीन महिनाको ओभरट्याम पाउन बाँकी नै छ ।’

 

कम्पनीमा उनीहरुलाई नियमीत छाक टार्न नै मुस्किल भइरहेको छ । ‘हामीले नजिकैको पसलबाट उधारोमा खाद्यान्न खरिद गर्ने गरेका थियौं । पसलेले उधारोमा सामान दिनसमेत बन्द गर्‍यो,’ उनले भने, ‘अरू कम्पनीमा काम गर्ने नेपाली साथीसँग पैसा माग्दै दही र रोटी खाएर छाक धानिरहेका छौं ।’

 

कम्पनीको व्यवस्थापन कामदारसित सम्पर्कमा छैन । कम्पनीमा कार्यालय सहयोगीबाहेक उच्च कर्मचारी कोही भेटिँदैन । प्रमुख व्यवस्थापकले जिम्मेवारी छाडिसकेको बताउँछन् । पीडित कामदारले तलब दिलाइदिनका लागि सनैया–११ स्थित श्रम कार्यालय (लेबर कोर्ट) मा मार्चको २५ तारिखमा नै उजुरी दिएका थिए । कम्पनीको कार्यालयमा कार्यरत कर्मचारीले भने दफनास्थित श्रम लेबर कोर्टमा उजुरी गरेका थिए । ‘सुरुमा प्रहरी कार्यालयमा पुग्यौं । प्रहरीले लेबर कोर्ट जाऊ भन्यो । हामी लेबर कोर्टमा गएर उजुरी गर्‍यौं । लेवर कोर्टले पहिलो चोटी एक साता, दोस्रोपटक १५ दिन र तेस्रो पटक २१ दिनको समय दिएको छ,’ स्याङ्जाका बाबुराम खनालले भने,‘एकपछि भाका सर्दै गएपछि हाम्रो स्थिति झन दयनीय बन्दै गएको हो ।’

 

पीडितले नेपाली दूतावास, कतार राष्ट्रिय मानव अधिकार समिति र अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालयमा तलब दिई उद्धार गरी पठाउन निवेदन दर्ता गरेका छन् । अधिकांश पीडितले तत्काल रोकिएको तलब दिई र टिकट काटेर स्वदेश पठाइदिन अनुरोध गरेका छन् । झन्डै ४० जनामात्रै अर्को कम्पनीमा काम गर्न तयार देखिएका छन् ।

 

‘पहिलादेखि नै तलब नियमित थिएन । एक महिनाको तलब दिएपछि अर्कोपटक दुई महिनापछि दिन्थ्यो । यसपालि निरन्तर तलब नदिएपछि हामीलाई छाक टार्न नै गाह्रो भयो । कम्पनीबाट सुख्खा १२ सय रियाल (३२ हजार रुपैयाँ) आउँथ्यो । त्यसैबाट खाना खर्च कटाएर परिवारलाई पठाउने गरिन्थ्यो । तलब नै नआएपछि आफुलाई यता समस्या छ । उता परिवारलाई गाह्रो भइसक्यो,’ तामाङले भने, ‘एक महिनाअघिसम्म कम्पनीको प्रतिनिधि आएर हामीलाई आश्वासन दिने गर्थ्यो । अहिले उनी पनि सम्पर्कमा छैनन् ।’

 

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार कतारको श्रम मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्न पहल भइरहेको छ । ‘हाम्रो कम्पनीको मालिकसँग सम्पर्क स्थापित भएको छैन । यहाँको श्रम विभागका अधिकारीहरूसँग नियमित छलफल भइरहेको छ,’ उनले भने, ‘कतारी निकायले यस विषयलाई गम्भीर रूपमा लिएको देखिन्छ ।’

 

उनले कतारी निकायबाट खानाका लागि प्रबन्ध मिलाउने काम भइरहेको बताए । ‘खाना अभाव हुन नदिन आवश्यक खाद्यान्न उपलब्ध गराउन कतारी निकाय तयार देखिएका छन्,’ उनले भने, ‘नेपाल नपठाउँदासम्म खानाको अभाव हुने छैन ।’

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024