४ युवतीको उद्धार

12 November, 2017

समसी नाकाबाट भारत लैजाँदै गरिएका ४ युवतीको उद्धार गरिएको छ । महिला बेचबिखनमा सक्रिय गिरोहका एकजना सदस्य पनि पक्राउ परेका छन् ।

 

२० देखि २२ वर्ष उमेर समूहका युवती सिन्धुपाल्चोक र सिन्धुलीका हुन् । सीमा नजिक भेटिएका युवतीसँग सोधपुछ गर्दा फरकफरक बयान दिएपछि समसीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । उद्धार गरिएकामा  सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ५ की २० वर्षीया उषा तामाङ, फूलमाया तामाङ र पाँचपोखरी गाउँपालिका ८ की रञ्जना तामाङ छन् । यस्तै सोही समूहमा रहेकी सिन्धुलीको मरिन गाउँपालिका ५ की २२ वर्षीया कान्छीमाया लो छिन् । उनीहरूलाई लगिरहेका सर्लाही हरिवन नगरपालिका ८ का ३६ वर्षे टेकबहादुर कालिकोटेलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई 

 

बुझाएको छ । कालिकोटेले युवतीलाई दिल्ली विमानस्थलमा पासपोर्ट र भिसा दिएर कुबेत पठाइदिन लागेको बताएका छन् । वैदेशिक रोजगारीमा लगाइदिने भन्दै भारत लैजाने गिरोहका केही व्यक्ति दिल्लीमा रहेको बयान उनले दिएका छन् । सशस्त्र प्रहरी निरीक्षक विदुर ढकालका अनुसार थप अनुसन्धान र कारबाहीका लागि जलेश्वरस्थित जिल्ला प्रहरीमा बुझाइएको छ । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका निरीक्षक केदार खड्काले उद्धार गरिएका युवतीलाई जिम्मा लगाउन अभिभावकलाई खबर गरिसकेको बताए ।

 

युवतीहरूसँग तेस्रो मुलुक जाने कुनै कागजात नभएको र कालिकोटेको शंकास्पद बयानका आधारमा उनीहरूलाई गलत नियतले भारततर्फ लैजान लागेको हुन सक्ने खड्काको भनाइ छ । प्रहरीसमक्ष कालिकोटेले आफू पनि कुवेत जान लागेको र युवतीहरूलाई दिल्लीसम्म पुर्‍याइदिए उनको खर्च नलाग्ने आश्वासन एजेन्टले दिएपछि लैजान लागेको बयान दिएका छन् । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024