४३ लाख ब्लड मनी तिरेर स्वदेश फिर्ता

10 June, 2018

रुद्र खड्का

नवलपरासी, मध्यबिन्दु–४ का थानेश्वर भुसाल शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा निकै खुसी थिए। वृद्ध आमा, दिदी, भाइ लगायत आफन्तलाई भेटेलगत्तै उनले स्वदेशमा पाइला टेक्न पाएकोमा निकै खुसी लागेको प्रतिक्रिया दिए।

११ वर्षअघि (सन् २०११ मा ) साउदी अरबको जेद्दा पुगेका भुसाल करिब पाँच वर्ष त्यहाँको जेल बसेर शुक्रबार राति घर फर्केका हुन्। उनले चलाइरहेको गाडीलाई पछाडिबाट आइरहेको अर्को ट्रकले ठक्कर दिँदा दुई साउदी नागरिकको ज्यान गएको थियो। उनको गाडी धकेलिएर साउदी नागरिकको ज्यान गएपछि अदालतले भुसाललाई दोषी ठहर गरेको थियो।

 

अदालतले मृतकका परिवारलाई एक लाख ५० हजार रियाल  (करिब ४३ लाख रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। राजधानीको इनोभेटिभ मेनपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर साउदी पुगेका भुसालको त्यो रकम बुझाउनै हैसियत थिएन। ‘जेलमा परेपछि नेपाल फर्कन पाइएला जस्तो लागेको थिएन,’ उनले भने, ‘साथीभाइको सहयोगमा स्वदेश फर्कन पाएपछि दोस्रो जीवन पाएजस्तो लागेको छ।’

 

भुसाल जेल परेपछि वृद्ध बुवा, आमाले उद्धारका लागि गरेका अनेक प्रयास स्वरुप प्रवासी नेपाली समन्वय समितिले ‘थानेश्वर भुसाल उद्धार अभियान’ चलाएको थियो। सोही अभियान अन्तर्गत दाताको सहयोगमा आवश्यक रकम  संकलन भएपछि भुसाल घर फर्कन पाएका हुन्। उनले अब वैदेशिक रोजगारीमा नजाने बताएका छन्। उनले वैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवालाई बुझेर मात्र विदेश जान सल्लाह दिएका छन्। ‘विदेशमा पैसा फल्ने रुख छैन,’ उनले भने, ‘विदेशमा गर्ने मेहनत नेपालमा गर्ने हो भने धेरै प्रगति गर्न सकिन्छ।’

 

वैदेशिक रोजगारीमा जानै परे कुन कम्पनी र कुन देशमा जाने हो राम्रोसँग बुझेर मात्र प्रक्रिया थाल्नुपर्ने भुसालको सुझाव छ । भुसालले जेलमा तुच्छ व्यवहार खेप्नुपरेको बताए। ‘जेलमा रहँदा हेपाहा व्यवहार हुन्थ्यो,’ उनले भने, ‘जेलमा रहँदा बिरामी पनि भएँ। तर, उनीहरूले उपचारमा ध्यान दिएनन्।’ लामो समय जेलमा बस्दा ढाडको रोग निस्केको उनको भनाइ छ।

 

बिहे गरेको केही महिनामै साउदी पुगेका भुसाल जेल परेपछि पत्नी अन्यत्रै हिँडे्काले अब चाँडै विहे गर्ने उनको योजना छ। ‘अब विहे गरेपछि वुद्ध बुवा, आमाको सेवा गर्नेछु,’ उनले भने। ११ वर्षपछि छोरा घर फर्कंदा आमा यमकला निकै हर्षित थिइन्। उनले पनि अब छोरालाई वैदेशिक रोजगारीमा पठाउने चाहना नभएको बताइन्।

 

‘अब म सकेसम्म छोरालाई जुन पायो त्यही कम्पनीमा काम गर्न पठाउने पक्षमा छैन,’ यमकलाले भनिन्, ‘छोरालाई देशमै केही गर्न जोड दिनेछु।’ भुसाललाई साउदी कम्पनीले सवारी चालक अनुमतिपत्र नलिँदै गाडी चलाउन लगाएको थियो। जेल परेपछि भने त्यो कम्पनीले कुनै सहयोग नगरेको भुसालले बताए। मासिक एक हजार पाँच सय रियाल पारिश्रमिक दिने सम्झौता गरेको कम्पनीले सुरुमा पारिश्रमिक दिए पनि पछि नदिएको उनको भनाइ छ। कम्पनीकै कामको सिलसिलामा दुर्घटनामा भए पनि जेल परेपछि कम्पनी मालिक कहिल्यै भेट्न नआएको उनले बताए।

 

भुसाललाई उद्दारमा सघाएको समितिले उद्दार अभियानको क्रममा ४७ लाख ५१ हजार दुई सय ८१ रुपैयाँ संकलन भएको र जसमध्ये ४० लाख ९८ हजार रुपैयाँ जेद्दा पठाइएको जनाएको छ। संकलन भएकोमध्ये ६ लाख ५३ हजार दुई सय ८१ रुपैयाँ समितिको खातामा रहेको अध्यक्ष कुलप्रसाद कार्कीले जनाए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024