२७ युवती भोलि फर्काइँदै

1 August, 2015

देवेन्द्र भट्टराई

दिल्ली विमानस्थल हुँदै संयुक्त अरब इमिरेट्सको दुबई जान खोजिरहँदा पक्राउ परेका २७ नेपाली युवतीलाई मंगलबार काठमाडौं फिर्ता गरिने भएको छ । नेपाल बायुसेवाको नियमित उडानबाट सोमबार बिहान काठमाडौं जाने तयारी भएपनि भारतीय विदेश मन्त्रालयको ‘क्लियरेन्स’ कागजात आउन बाँकी रहेकाले मंगलबार मात्रै फिर्ता लगिने भएको हो ।  

‘अदालती प्रक्रिया पूरा गरेर सामाजिक संस्था नारी निकेतनको जिम्मा लगाइएका युवतीलाई नेपाली दूतावासको समन्वयमा घर फिर्ता गरिने भएको हो,’ दूतावासकी द्वितीय सचिव शिवानी बस्नेतले कान्तिपुरसँग भनिन्, ‘तत्कालका लागि ट्राभल डकुमेन्टका भरमा काठमाडौं पठाइने युवतीहरूको हवाई खर्च पनि दूतावासले बेहोर्दै छ ।’

युवतीलाई साथमा लिएर बस्नेत स्वयं सोमबार बिहान काठमाडौं जँँदैछिन् । काठमाडौंमा तत्कालका लागि सबै युवतीको जिम्मेवारी परराष्ट्र र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले लिने भएको छ । तीन चरणमा पक्राउ परेका २८ मध्ये एक युवती फूलमाया लामा  अभिभावकको साथ लागेर यसअघि नै काठमाडौं फिरिसकेकी छिन् ।

दुई साताअघि नक्कली कागजातसहित इन्दिरा गान्धी विमानस्थलको टर्मिनल–३ बाट पक्राउ परेका युवतीले दिएको सुराकीका आधारमा अरू २१ जनालाई पक्राउ गरिएको थियो । यी २१ जनालाई अघिल्लो साता विमानस्थलनजिकै महिपालपुरस्थित होटेलमा छापा मारेर पक्राउ गरिएको हो । युवतीलाई ‘एयरपोर्ट सेटिङ’ बाट खाडी मुलुक पठाउने गिरोहका नेपाली एजेन्ट विष्णु तामाङ र ईश्वर न्यौपाने प्रहरी छानबिनका क्रममा तिहाड जेलमा थुनामा छन् । यी दुईमाथि मानव बेचबिखन र ओसारपसारको अभियोगमा मुद्दा चलाइने सम्भावना छ ।

‘फरक–फरक रुट र समय गरेर यी २८ युवतीलाई दिल्ली ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ बस्नेतले भनिन्, ‘गाउँघरमा रहेका एजेन्टको सहयोगमा लखनउ, गोरखपुर तथा रक्सौलका नाकाबाट युवतीहरूलाई दुई महिनायता दिल्ली ल्याएर महिपालपुर क्षेत्रमा राखिएको थाहा भएको छ ।’ पक्राउ युवतीका साथमा रहेका सबै कागजात छानबिनका लागि विमानस्थल प्रहरीको साथमा रहेकाले सबैलाई ट्राभल–डकुमेन्टका भरमा काठमाडौं लगिँदै छ । दिल्ली ल्याइएका केही युवती काठमाडौं, पोखरा र बुटवलबाट दिल्लीका लागि चल्ने बसमा परिचय लुकाएर आउने पनि छन् ।

बस्नेतका अनुसार आफूलाई के काम, कहाँ लैजान लगेको भन्नेसम्म थाहा नपाउने युवती धेरै छन् । यीमध्ये ७ जनालाई एयर इन्डियाबाट सिधै दिल्ली–दुबई र बाँकी ९ लाई दिल्ली–कोलम्बो हुँदै दुबई जाने टिकट तयार भइसकेको थियो । अरूको भिसा र टिकट प्रक्रिया बाँकी थियो । बिनाआधिकारिक कागजात र प्रक्रियामा दुबई लैजान लागिएका नेपाली युवतीलाई ‘बोर्डिङ पास’ उपलब्ध गराउने लगायतका प्रक्रियामा सहयोग गर्ने एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनीषलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमध्ये गोरखा, आरुघाटकी मोनिका भण्डारीले आफूले स्थानीय एजेन्टलाई वैदेशिक रोजगारीमा जानका लागि १ लाख रुपैयाँ बुझाएको बयान दिएकी छिन् । गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङका अधिकांश युवतीले ‘आफूहरू भूकम्पपीडित बनेपछि कामको खोजीमा निस्किएको’ प्रारम्भिक बयान दिएका छन् । यी युवतीहरूलाई प्रहरी अनुसन्धानपछि तिहाड जेल रोडको नारी निकेतन संस्थामा राखिएको थियो ।

‘पक्राउ गरेकालाई घर फिर्ता गर्दैमा तस्करीको नेटवर्क रोकिने स्थिति देखिन्न,’ राजदूत दीपकुमार उपाध्यायले कान्तिपुरसँग भने, ‘काठमाडौंमा पनि प्रहरी–प्रशासन, अध्यागमन र गृह, परराष्ट्रसहितका सम्बद्ध मन्त्रालयलाई यो गम्भीर घटनामा आवश्यक छानबिन अघि बढाइदिन आग्रह गरेका छौं । अब युवतीहरूको बयानका अनुसार स्थानीय एजेन्टलाई पक्रने, रकम असुली गर्ने र मानव तस्करीअन्तर्गत मुद्दा चलाउने प्रक्रिया एकसाथ अघि बढ्नेछ ।’ भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर नेपालीलाई अनधिकृत तवरमा विदेश उडाउने ‘सेटिङ’को अनुसन्धानमा दिल्ली प्रहरीले काम थालिसकेको सूचना आफूले पाएको उपाध्यायले बताए ।

नाम      उमेर      स्थान १. मालती राई (२६) खोटाङ, बाक्सिला २. लक्ष्मी राई (३९) खोटाङ, सोल्मा ३. पूजा तामाङ (२०) सिन्धुपाल्चोक, मर्मिङ ४. शोभाकुमारी परियार (२९) उदयपुर, त्रियुगा ५. कृष्णदेवी बीके (२९) नवलपरासी, सुनवल ६. उमा भुजेल (२१) झापा, दमक ७. शर्मिला थापा (२३) सिन्धुपाल्चोक, फुल्पिङकोट ८. फूलकुमारी (४५) नवलपरासी, गैंडाकोट ९. कमला (२२) उदयपुर, बसाहा १०. कल्पना खवास (२९) झापा, गयल्डुब्बा ११. सविता (१९) सिन्धुपाल्चोक, गुम्वा १२. सोनम डोल्मा (१८) सिन्धुपाल्चोक, तातोपानी १३. अम्मो (३५) सिन्धुपाल्चोक, मुनबाजो १४. सम्झना (२७) काभ्रे, खनालचोक १५. शिला (३२) दाङ, दुर्रा १६. मसलोमाया तामाङ (२५) काभ्रे, खनालचोक १७. किस्नु (३०) रुपन्देही, लुम्बाले १८. कालीमाया तामाङ घले (३०) धादिङ, तिप्लिड १९. सुकमाया घिसिङ (२३) रामेछाप, गौश्वारा २०. छेगु डोल्मा तामाङ (२२) नुवाकोट, उर्लैनी २१. पेमा झोकी (२०) सिन्धुपाल्चोक, नारानथान २२. याङ्जी लामा (३३) सिन्धुपाल्चोक, सेरमाथाम २३. शारदा तामाङ (३०) नुवाकोट, ककनी २४. मोनिका भण्डारी (३४) गोरखा, आरुघाट २५. लक्ष्मी तामाङ (२०) सोलुखुम्बु, ताप्किन २६. अनसोपा शेर्पा (१९) सोलखुम्बु, चाचवा २७. उरमाया थिन (३४) चितवन, मरी २८. फूलमाया लामा (३६) काठमाडौं । Published on: 1 August 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024