लक्ष्मण घिमिरे
अर्घाखाँची- सुनौली नाकाको नौतुना क्वारेन्टाइनमा रहेका जिल्लाका १ सय ३० जना घर फर्किएका छन् । नेपाल–भारत सीमा नाका सुनौलीबाट उनीहरुलाई स्वदेश ल्याइएको हो । लकडाउनका कारण विगत २६ दिनदेखि उनीहरु नौतुनाको एक विद्यालयमा क्वारेन्टाइनमा बसेका थिए । १ सय ३० जनामध्ये ९१ जना मालारानी गाउँपालिका, २५ जना सन्धिखर्क नगरपालिका, १० जना पाणिनी गाउँपालिकाका ३ जना छत्रदेव गाउँपालिका र १ जना शितगंगा नगरपालिकाका रहेका छन् ।
स्थानीय प्रशासन र जनप्रतिनिधिको पहलमा स्वदेश फर्काइएका उनीहरुलाई १४ दिन सम्बन्धित नगरपालिका वा गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ । केही दिन क्वारेन्टाइनमा बसेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिने र उपयुक्त देखिए घर पठाइने मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
ढिलै भएपनि स्वदेश फर्काएको भन्दै पीडितहरूले खुसी व्यक्त गरेका छन् । ‘चौध दिन भनेर राखिएको थियो, मालारानी–३ का पवित्रा पोख्रेलले भनिन्,‘ ढिलै भएपनी उद्वार भयो, यसैमा खुसी छौं ।’ ४० जनालाई शुक्रबार सिमानामै स्वास्थ्य परीक्षणपछि ल्याइएको थियो भने ९० जनालाई शनिबार ल्याइएको छ ।
गत बैशाख ५ गते जिल्ला प्रशासन कार्यालयमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, प्रदेश सांसद चेतनारायण आचार्यसहित बसेको सर्वदलिय, सर्वपक्षीय बैठकले उनीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको थियो । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले जिल्लावासीलाई फर्काउन आफूहरुले निरन्तर छलफल गरेको बताइन् । आफूहरुले दवाब दिइराख्दा पनि दुई सिमानाबीचको कुरा नमिल्दा ढिलाई भएको भुसालको भनाई छ ।