होटलमा काम गर्न भनेर भारत लगेर मिर्गौला निकालिएको घटनामा पीडित खोज्दै प्रहरी

13 August, 2025

होटल काम गर्न भनेर भारत लगेर मिर्गौला निकालिएको घटनामा प्रहरीले पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरिरहेको छ।

प्रलोभनमा पारेर रोजगारीका लागि भारत पुर्‍याएर मिर्गौला निकालिएकाहरूलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको हो।

होटलको काममा लगेर मिर्गौला निकालिएको भन्दै सिन्धुलीका दधौली नगरपालिका-१ का खिलबहादुर भुजेलले साउन २१ गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका थिए।

उनीमाथि सोधपुछ गर्दा मिर्गौला निकाल्ने ठाउँमा धेरै नेपालीहरू भएको र लैजाने गिरोहबारे बताएका थिए। त्यसपछि ब्युरोले भुजेलको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरेको थियो।

काभ्रे पाँचखाल नगरपालिका-१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समिर नेपाली र बेलकोटगढी नगरपालिका-४ का ४७ वर्षीय राकेश नेपालीलाई पक्राउ गरेको थियो।

‘यस घटनामा दुई/चार जना मात्र होइन। गिरोह नै भएको आशंका गरिएको छ,’ ब्युरो स्रोतले भन्यो, ‘अरूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं।’

धेरै व्यक्तिहरूको मिर्गौला निकालिएको हुनसक्ने भनिएकाले उनीहरूलाई प्रहरीको सम्पर्कमा आउन भनिएको हो। अहिलेसम्म थप एक जना मात्र पीडित सम्पर्कमा आएको र उजुरी दिने बताएको ब्युरोका एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

‘हामीले यस घटनामा पीडित र गिरोह दुवै पक्षलाई खोजिरहेका छौं,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024