हास्यास्पद नियम : पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस

21 December, 2018

नितु घले

पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।

बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन ।’

 

अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीको कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाए । आक्रोश भावमा उनले भनिन्, ‘यस्तो नियम कतै छैन, कति तनाव दिएका ? ’

 

रामेछापकी सुनिता लामाले पनि त्यस्तै समस्या झेलिन् । उनको कपाल खैरो थियो । निधारमुनिसम्म काटेको खैरो कपालमा पुगेकी लामा उसरी नै प्रहरी क्यान्टिन पुगिन् । भन्दै थिइन्, ‘कस्तो दिक्क लाग्यो, यो नियम । थाहा पाएको भए पहिले नै कालो बनाउने थिएँ ।’

 

क्यान्टिनमा मःमः बनाउँदै गरेकी साहुनीले कालो पालिसको बट्टा र एउटा दाँत माझ्ने ब्रस हातमा थमाइन् । पाठक र लामा दुवैले रबरले कपाल बाँधे । देखिनेजति रातो कपालमा कालो बुटपालिस लगाए । यसरी कपाल रंगाएबापत प्रतिव्यक्ति सय रुपैयाँ तिर्नुपर्ने रहेछ । पाठक र लामा दुवैले सय रुपैयाँ तिरे । बाँकी रहेको पालिस आफैसँग ल्याए ।

 

जोरपाटीबाट आएकी डोमा लामालाई कपालमा जुत्ताको पालिस लगाएर करिब चार घण्टा बस्नुपर्दा निकै समस्या भयो । पुरानो पासपोर्ट हराएर पुनः बनाउन गएकी उनलाई यस्तो नियम थाहै थिएन । उनी मंगलबार विभाग पुगेकी थिइन् । त्यो दिन उनले कपाल रंगाएपछि बत्ति काटियो । ११ बजे कपालमा बुटपालिस लगाएकी उनले तीन बजे मात्रै फोटो खिचाउन पाइन् । त्यतिन्जेल पालिसको गन्धले टाउको दुखेको भन्दै बारम्बार कागजले हम्किरहेकी थिइन् । भनिन्, ‘जुत्ताको पालिस टाउकोमा लगाउनुपर्दा लज्जित महसुस भइरहेको छ ।’

 

पासपोर्ट बनाउँदा महिलाले गरगहनाका कारण पनि दुःख पाइरहेका छन् । रामेछापकी लामालाई बाल्यकालदेखि लगाएका कानका मुन्द्रा फुकाउन निकै हम्मे प¥यो । उनीसँगै पासपोर्ट बनाउन पुगेकी मेरिना तामाङले कपाल च्याप्ने फलामको चिम्टीले बेस्सरी बल गर्दै सुनमुन्द्रीमा भएको गाँठो फुकाउन सघाइन् । लामा दुख्यो भन्दै चिच्याइरहेकी थिइन् । उनले भनिन्, ‘वर्षौं भयो नफुकालेको, कानैमा सेट भइसकेको रहेछ ।’

 

जिल्लाजिल्लाबाट आएका धेरै महिलाले उस्तै समस्या भोगिरहेका थिए । वर्षाैैंदेखि लगाएका नाकको फुली, ढुंग्री, बुलाकी, कानको टपलगायत गरगहना फुकाल्न नसक्दा तनावमा देखिन्थे । पासपोर्ट बनाउन पुगेका सेवाग्राहीहरू कोही नङ काट्ने (नैनी)ले मुन्द्रा काटिरहेका देखिन्थे भने कसैले धागोले बाँधेर तानिरहेका थिए । केही पुरुषहरू पनि कानको टप र रिङ फुकाइरहेका देखिन्थे ।

 

जिल्लाबाट सिफारिस लिएर राहदानी विभाग पुगेका सेवाग्राहीहरू सूचना नभएका कारण यस्ता समस्या झेलिरहेका थिए । जोरपाटीकी शेर्पाले भनिन् ‘पहिले पासपोर्ट बनाउँदा यस्तो नियम थिएन । नियमबारे प्रचारप्रसार भएको भए सेवाग्राहीले दुःख पाउने थिएनन ।’

 

विभागको फोटो खिच्ने ठाउँ अगाडि भित्तामा एउटा टिभी राखिएको छ, जसमा पासपोर्ट बनाउन आउँदा केकस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने सूचना प्रसारण भइरहेको थियो । गरगहना फुकाएर सुरक्षित राख्न सूचना टाँस गरिएको भएपनि त्यो जनतासमक्ष नपुगेको गुनासो गरिन्, रामेछापकी लामाले ।

 

झट्ट हेर्दा ससाना लाग्ने समस्याका कारण सेवाग्राहीले असहज महसुस गरिरहेका छन् । राहदानी विभागका निर्देशक तीर्थराज अर्यालले भने यसबारे अहिले नै केही भन्न नसक्ने बताउँछन् । अर्यालले भने, ‘यसबारे हामी बैठक बसेर छलफल गर्नेछौं ।’राहदानी बनाउन जाँदा ध्यान पुर्याउनुहोस् !

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024