‘हाम्रो मानव अधिकार खोइ ?’

11 December, 2018

अर्जुन राजवंशी

स्वदेश फिर्तीको माग गर्दै भुटानी शरणार्थीको एउटा समूहले मानव अधिकारकर्मी गुहारेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा सोमबार शरणार्थी शिविर बेलडाँगीमा र्‍याली प्रदर्शन गर्दै स्वदेश फिर्तीको माग गरेका हुन् ।

भुटान स्वतन्त्र जनमञ्च र नेसनल रिकन्सिलेसन कमिटी भुटानको नेतृत्वमा करिब दुई सय भुटानी शरणार्थीले स्वदेश फिर्तीको नारा लगाए । उनीहरूले आफूहरू जस्तोसुकै अवस्थामा भुटान फर्किन चाहेकाले आफ्ना मागप्रति अधिकारकर्मीलाई सघाउन आग्रह गरे ।

 

नेसनल रिकन्सिलेसन कमिटी अध्यक्ष कृष्णवीर तामाङले स्वदेश फर्किन पाउने आफूहरूको अधिकार हनन गर्न कसैले नपाउने बताए । उनले अढाई दशकदेखि स्वदेश फिर्ती माग उठाउँदै आए पनि अधिकारकर्मीले आफूहरूको मुद्दालाई बेवास्ता गरेको गुनासो गरे ।

 

बेलडाँगी २ सेक्टर ‘इ’–टु छाप्रो नं. १२ का दलबहादुर दर्जीले आफूहरू मानव अधिकारको सामान्य सिद्धान्तबाट पनि वञ्चित बनेको बताए । ‘हामी २६ वर्षदेखि भुटान फर्किने माग गर्दै निरन्तर संघर्ष गरिरहेका छौं । तर, हाम्रो माग न नेपाल सरकारले सुन्यो न राष्ट्रसंघीय दातृ निकायले’ दर्जीले भने, ‘अधिकारको क्षेत्रमा काम गर्नेहरूबाटै हामीले सहयोग पाउन सकेनौं ।’ शरणार्थी शिविरमा मानव अधिकारको चरम हनन भएको उनीहरूको आरोप छ ।

 

लीलाधर आचार्यले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, अस्ट्रेलियाजस्ता देश लान जबरजस्ती श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद बाध्यात्मक अवस्था सिर्जना गरेको गुनासो गरे । आफू श्रीमती, सात छोराछोरी र नातिनातिको अभिभावक भए पनि अहिले एक्लै बस्नुपरेको उनले दुखेसो सुनाए ।

 

‘परिवारमा सबै भएर पनि आज एक्लो भएको छु,’ ७२ वर्षीय आचार्यले भने, ‘यो बुढेसकालमा आफ्ना लागि एक गिलास पानी दिने कोही छैन ।’ उनले आफू स्वदेश फर्किने अडान लिएकै कारण परिवारबाट एक्लिन बाध्य बनेको बताए ।

 

सेक्टर ‘इ’–टु छाप्रो नं. ४०/५० मा बस्दै आएका चन्द्रबहादुर चौहानले आफ्नो देश फर्किन पाउने अधिकार सुरक्षित गरिदिन अधिकारकर्मीसँग गुहार मागे । उनले आफूहरू मानवीय संकटको अवस्थामा रहे पनि अधिकारकर्मीले खोजीनीति नगरेकामा दुखेसो पोखे । ‘आफ्नै देश फर्किन हामीलाई किन रोकिन्छ । किन, कुनै संघसंस्थाले सहयोग गर्दैन । अधिकारकर्मीले हामीलाई किन हेर्दैन,’ उनको प्रश्न छ ।

 

सेक्टर ‘ए’–थ्री छाप्रो नं. ४ का ७१ वर्षीय वीरबहादुर खड्काले स्वदेश फिर्तीको लडाइँमा ज्यान दिन तयार रहेको बताए । उनले भने, ‘हामीलाई आफ्नो देशको माया छ । पुस्तौं हुर्किएको देशले त लखेट्यो । भविष्यमा अमेरिका, अस्ट्रेलियाले पनि नलखेट्लान् भन्ने के ग्यारेन्टी ?’ उनले कुनै हालतमा आफूहरू ससम्मान स्वदेश फर्कन पाउनुपर्ने माग राखे । भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बाले आफूहरू एकसूत्रीय मागमा अडिग रहेको बताए ।

 

‘हामी संघर्षबाट थाकेका छैनौं,’ उनले भने, ‘विश्व मानव अधिकार दिवसमा अधिकारकर्मीलाई हाम्रो अधिकारबारे जानकारी गराउनमात्र खोजेका छौं ।’ उनले शरणार्थीलाई विभिन्न विकल्पमध्ये तेस्रो देश पुनर्वास कार्यक्रममा मात्र समेटेको बताए । उनले नेपाल सरकार, यूएनएचसीआर र अधिकारकर्मीले इच्छुक शरणार्थीलाई भुटान फर्किने वातावरण बनाइदिनुपर्ने माग गरेका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024