हाउसमेडले जहाजमै छोरो जन्माइन्

13 September, 2012

घरेलु कामदार हाउसमेडमा ओमन आएकी एक नेपाली महिलाले बुधबार बिहान उड्दै गरेको जहाजमा छोरो जन्माएकी छन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

साउदी अरबस्थित नेपाली दूतावासको ओमन प्रतिनिधि दीपक श्रेष्ठका अनुसार घर फिर्ता हुने क्रममा ओमनको दोस्रो सहर सल्लालबाट राजधानी मस्कट आउने क्रममा ती महिलाले जहाजमा छोरो जन्माएकी हुन् । २४ वषर्ीया महिलाले बुधबार बिहान साढे १ बजे  जहाजको शौचालयमा बच्चा जन्माएकी हुन् । उनी बिहान सात बजेको नेपाल जाने ओमन एयर भेट्न मस्कट आउँदै थिइन् । उनलाई थप उपचारका लागि रोयल अस्पतालमा भर्ना गरिएको छ । सुरुमा भिसा रद्द भइसकेको भन्दै अस्पतालले उपचार गर्न मानेको थिएन ।  

उनले आफू काम गर्ने घरमालिकको छोराले राखेको जबर्जस्ती सम्बन्धबाट गर्भ बसेको प्रहरीलाई बयान दिएकी छन् । उनी एक वर्षअघि ओमन आएकी थिइन् । ‘ओमन आएर काम गरेको पहिलो घरमा मालिकको छोराले जबर्जस्ती गरेको रहेछ । त्यसविरुद्ध उनलाई नेपालबाट पठाउने म्यानपावरमा उजुरी दिएकी रहिछन्,’ श्रेष्ठले कान्तिपुरलाई भने, ‘त्यस म्यानपावरले स्वदेश नपठाई अर्को घरमा काम गर्न पठाएको रहेछ ।’

दोस्रो घरमालिकले गर्भवती भएको दुई साताअघि मात्रै थाहा पाएको हो । ‘दोस्रो मालिकले पहिलो मालिकलाई बोलाएर समस्या सुल्झाउन दबाब दिएको रहेछ । पीडितलाई स्वदेश फर्काउने जिम्मेवारी लिएपछि बुधबार नेपाल पठाउन लाग्दा उनले जहाजमै बच्चा जन्माइन्,’ श्रेष्ठले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024