हाईड्रो परियोजनालाई ईपीएस कार्यालयले सहजीकरण गर्ने

16 November, 2015

लिलु डुम्रे

 

दक्षिण कोरियामा आर्जित रेमिटेन्समा आधारित नमुना हाईड्रो परियोजनाका लागि ईपीएस कार्यालयले सहजीकरण गर्ने भएको छ। 

 

कोरियामा कार्यरत र फर्केकाहरूको संयुक्त पहलमा दुईदेखि १० मेघावाट क्षमताको परियोजना निर्माणका लागि कार्यालयले समन्वय गर्नेछ। 

 

वैदेशिक रोजगार विप्रेषण सम्बद्ध नमुना परियोजना निर्माणका लागि ईपीएस कार्यालयले श्रमलगायत अन्य मन्त्रालयसँग समन्वय गरी सहज वातावरण निर्माण गर्ने कार्यालयले जनाएको छ।

 

कोरियामा रहेका र फर्केकाहरूको प्रत्यक्ष संलग्नता रहने उक्त आयोजना निर्माण गर्न कार्यालयले रचनात्मक सुझाव संकलन गरिरहेको छ।

 

उपयुक्त परियोजनाको पहिचान, व्यवस्थापन र लगानीकाका लागि कार्यालयले सुझाव प्राप्त गरिरहेको ईपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी गराए।

 

कोरियामा कार्यरत, फर्केका साथै व्यवस्थापन र हाइड्रोमा अनुभवी संलग्न रहेको एक फोरम निर्माण पश्चात परियोजना निर्माण समिति गठन गर्ने प्रक्रियामा कार्यलय लागेको छ। 

 

हाइड्रोका विषेशज्ञ ,इन्जिनिएर र कोरियाबाट फर्केकाको संस्था अंकुर नेपालसँग छलफल गरिरहेको निर्देशक बास्तोलाले जानकारी दिए।

 

सरकारको प्राथमिकताको परियोजनाको रूपमा अघि बढाउन कार्यालय अघि बढेको बताउँदै बास्तोलाले भने कानुनी प्रक्रियाका लागि सम्बद्ध मन्त्रालयमा पत्राचार गरी निर्माण कार्य अबिलम्ब अघि बढाइनेछ।

 

ईपीएस शाखाले परियोजनाको वैधानिक प्रक्रियाका लागि सहजीकरण गरिदिने तर प्रत्यक्ष सहभागी कार्यालय नहुने स्पष्ट पारेको छ । ईपीएस शाखा क्षेत्र अधिकार बाहिर नजान सचेत रहेको निर्देशक बास्तोलाले प्रस्ट्याए।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024