स्वदेश फर्केका महिला कामदारलाई सुरक्षित गृहमा राखिने

22 Sep, 2011

वैदेशिक रोजगारमा नयाँ कार्यक्रम-

वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले विदेशमा समस्यामा परी स्वदेश फर्केका महिला कामदारलाई तीन महिनाका लागि सुरक्षित गृहको व्यवस्था गर्ने भएको छ। 

 

बोर्डले कामको खोजीमा संसारका विभिन्न देशमा पुगी समस्यामा परेका व्यक्तिको प्रबर्द्धनका लागि नयाँ कार्यक्रम सञ्चालन गर्ने बताएको हो। 

 

बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने- ‘तत्काल आफ्नो परिवारमा स्थापित हुन नसक्ने महिलाका लागि हामीले पौरखी सुरक्षित गृह र समाज कल्याण मन्त्रालयले सञ्चालन गरेको सुरक्षित गृहमा पुनःस्थापना गर्ने तयारी गरेका छौँ।

 

उनले सुरक्षित गृहमा बस्दा ती महिलाका लागि लाग्ने सबै शुल्क प्रबर्द्धन बोर्डले व्यहोर्ने जानकारी दिए। यसै आर्थिक वर्षमा बोर्डले विदेशबाट फर्केका कामदारका बालबालिकालाई छात्रावृद्धिका लागि रु ५० हजार रकम छुट्याइएको उनले जानकारी दिए।

 

राम्रो कमाइको आशामा विदेशिने सयौँ युवा समस्यामा पर्ने र उनीहरूलाई समाजमा स्थापित हुन गार्‍हो हुने गरेको उल्लेख गर्दै बोर्डले नयाँ कार्यक्रम अगाडि बढाउन लागेको हो।

 

बोर्डले चालु आर्थिक वर्षमा ५०० युवाका लागी सीप विकास तथा उद्यमशीलता तालिम, सुरक्षित गृह एवम् छात्रावृद्धिजस्ता प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो।

 

चालु आर्थिक वर्षमा बोर्डले वैदेशिक रोजगारबाट फर्केका कामदारका लागि उद्यमशीलता तालिम दिन लागेको हो।

 

विदेशमा समस्या परेका कामदारका बालबालिकालाई प्रत्येक जिल्लामा न्यूनतम १२ देखि २२ जनासम्मका लागि बोर्डले छात्रवृत्ति उपलब्ध गराउँछ।’

 

उनका अनुसार वैदेशिक रोजगार व्यवसायलाई प्रबर्द्धन, सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्ने उद्देश्यले सरकारले बोर्ड गठन गरेको हो।

 

बोर्डमा हाल रु ९० करोड जम्मा भएको छ। बोर्डमा विदेश जाँदा प्रत्येक कामदारले रु एक हजार तिर्छन् भने सो सम्बन्धित कम्पनीको नवीकरण शुल्क र कम्पनीले धरौटी राखेको रकमको ७५ प्रतिशत ब्याज बोर्डको कोषमा जम्मा हुने गर्दछ। 

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024