स्वदेशमा काम छाडी विदेशतिर

3 October, 2018

 रुद्र खड्का

रोजगारी नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति बिदेसिइरहेको बेला स्वदेशकै इँटा उद्योगमा तत्काल एक लाख ५० हजार श्रमिक आवश्यक परेको व्यवसायीले बताएका छन् । मासिक औसत २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने ती उद्योगमा नभइनहुने श्रमिक भारतबाट ल्याएर व्यवसायीले काम चलाइरहे पनि तत्काल एक लाख ५० हजार थप श्रमिक आवश्यक परेको इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए।

भारतबाट मजदुर ल्याएर जसोतसो उद्योग चलाइरहेका व्यवसायी भारतीय मजदुर जुनसुकै बेला फर्कन सक्ने भएकाले लगानी डुब्ने खतरा रहेको बताउँछन् । ‘श्रमिक नपाए जुनसुकै बेला उद्योग बन्द हुन सक्छ,’ चित्रकारले भने, ‘इँटा उद्योगका लागि चाहिने श्रमिक जुटाउन सरकारको सहयोग चाहिएको छ।’

देशभर करिब एक हजार इँटा उद्योग दर्ता भएर सञ्चालन भइरहेका छन् । चित्रकारका अनुसार सबै उद्योगमा एक लाख ५० हजार जतिले रोजगारी पाएका छन् । ‘देशभरका इँटा उद्योगको क्षमता कम्तीमा तीन लाखलाई रोजगारी दिन सक्नेछ,’ चित्रकारले भने, ‘तर जति प्रयास गर्दा पनि श्रमिक भेट्न सकेका छैनौं।’

चित्रकारले श्रमिक अभाव घटाउने उपायस्वरूप रोजगारीका लागि मलेसिया पुगेका युवालाई स्वदेशमै काम गर्न आग्रह गर्दा उल्टै ती युवाले वैदेशिक रोजगारीमा नगए बिहे नै नहुने बताएको प्रसंग सुनाए । विदेश नगए बिहे नै हुँदैन भन्ने सोच युवामा आउनु नेपाली समाज दिनप्रतिदिन वैदेशिक रोजगारीमा निर्भर हुँदैछ भन्ने गतिलो उदाहरण भएको समाजशास्त्री बताउँछन्।

स्वदेशी उद्योगलाई आवश्यक पर्ने जनशक्ति पूर्ति हुन नसके उद्योगधन्दा धराशयी हुन बेर नलाग्ने ठहर गर्दै विज्ञहरू त्यसका लागि समयमै सरकार, युवावर्ग र सम्बद्ध निकायको ध्यान जानुपर्ने औंल्याउँछन् । कतिपय विज्ञ न्यून पारिश्रमिक पाइने मुलुकमा कामका लागि जानै दिन नहुने बेला भइसकेको बताउँछन्।

वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने अधिकांश युवाको पारिश्रमिक प्रतिमहिना ३० हजार रुपैयाँ हाराहारी हुन्छ । ती मुलुकमा गर्ने काम निकै कठिन हुन्छ । वैदेशिक रोजगारीमा जाने अधिकांशले गर्ने काम थ्रिडी (खतरनाक, कठिन र फोहरी) हो भन्ने कुरा सरकारले बुझाउन सक्नुपर्ने विज्ञको सुझाव छ । म्यानपावर र दलालले विदेश गए मनग्य कमाउन सकिने भन्दै प्रचारप्रसार गर्दा युवायुवतीलाई झुक्याउन मद्दत गरिरहेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले डेढ लाख युवालाई रोजगारी दिन सक्ने इँटा उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘इँटा उद्योगमा कस्ता खाले श्रमिक चाहिन्छ । त्यसबारे सरकारले सहयोग गर्नेछ,’ विष्टले भने । सरकारले बालश्रममुक्त गरिसकेकाले इँटा व्यवसायीलाई उद्योगमा बालबालिकालाई काममा नलगाउनसमेत उनको आग्रह छ।

मन्त्रालयका सचिव महेश दाहालले इँटा उद्योगमा काम गर्ने विदेशी श्रमिकलाई विस्थापन गर्न आवश्यक रहेको बताए । भारतबाट श्रमिक ल्याएर इँटा उद्योग चलाउनुपर्दा खर्चिलो पनि भइरहेको व्यवसायीको गुनासो छ । विदेशी श्रमिक ल्याउँदा उद्योगलाई महँगो परेपछि त्यसको मार उपभोक्ताले खेप्नुपर्ने व्यवसायी बताउँछन्।

सचिव दाहालले युवालाई स्वदेशमै बस्ने वातावरण बनाउन व्यवसायीले पनि श्रमिकको हितका लागि बनाइएको ऐनकानुन पालना गर्नुपर्ने तथा सरकारले अघि सारेका कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेको बताए । ‘भर्खरै पास भएको श्रम ऐन व्यवसायीले कार्यान्वयन गर्नुपर्छ,’ दाहालले भने।

स्वदेशमा रोजगारी नपाएको भन्दै बिदेसिने ठूलो संख्याका युवाले खाडी मुलुक र मलेसियामा स्वदेशी उद्योगको तुलनामा न्यून पारिश्रमिक पाउने गरेको गुनासो उस्तै छ । वैदेशिक रोजगारीमा न्यून पारिश्रमिक पाएको तथा ठगीमा परेको गुनासो गर्नेको संख्या ठूलो रहे पनि स्वदेशमै रोजगारी गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेको पाइँदैन।

तत्काललाई वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्र धाने पनि दीर्घकालीन रूपमा त्यसबाट वैदेशिक रोजगारीमा जाने तिनै युवाको जीवनस्तर सुधार नहुने र अन्ततः स्वदेशी उद्योगको उत्पादन शून्यमा झर्न सक्ने विज्ञहरूले सुझाएका छन् । हाल स्वदेशी इँटा उद्योगमा काम गरिरहेका डेढ लाख श्रमिकमध्ये कम्तीमा एक लाख जति भारतीय रहेको व्यवसायी बताउँछन् । ‘भारतीय श्रमिककै भरमा नेपाली उद्योग चलिरहेका छन्,’ महासंघका वरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्दले भने।

इँटा उद्योगमा चाहिएका श्रमिक जुटाउन सरकारले तत्काल विशेष कार्यक्रम नल्याउने हो भने उद्योग धराशयी हुने व्यवसायीको चिन्ता छ । कतिपय युवाले इँटा उद्योगको कामलाई कठिन ठाने पनि व्यवसायी भने विदेशको काम भन्दा सहज रहेको दाबी गर्छन्।

‘नेपाली युवाले विदेशमा गरिरहेको कामको तुलनामा इँटा उद्योगको काम सहज छ,’ चित्रकारले भने, ‘समस्या वैदेशिक रोजगारीमा नगई हुँदैन भन्ने सोचको हो । सबैको जोड त्यसलाई परिवर्तन गर्नेतर्फ हुनुपर्छ ।’ बर्सेनि नेपाली श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवामध्ये स्वदेशमा रोजगारी नपाएको भन्दै चार लाख हाराहारीमा विदेश जाने गर्छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024