सिरियालीलाई अनअराइभल भिसा रद्द

25 December, 2015

शम्भु कट्टेल

 

शरणार्थीको भेषमा आतंककारी सञ्जाल आईएसआईएसमा संलग्न व्यक्ति आउनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले सिरियाली नागरिकलाई दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) रद्द गरेको छ। 

 

पुस ६ गतेको मन्त्रीस्तरीय निर्णयबाट पुस १७ गतेदेखि लागू हुने गरी सिरियाली नागरिकले अनअराइभल भिसा नपाउने भएका हुन्।अब नेपाल आउन चाहने सिरियाली नागरिकले इजिप्टको राजधानी कायरोमा रहेको नेपाली दूतावासबाट अग्रीम भिसा लिनुपर्ने छ। 

 

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सिरियाली नागरिकलाई जनवरी १ बाट अनअराइभल भिसा नदिने निर्णय भएको बताए। गृह मन्त्रालयले सिरियाली शरणार्थीको भेषमा आतंकवादीसमेत प्रवेश गर्नसक्ने भएकाले कडाइ गर्न यस्तो निर्णय गरेको हो।

 

आतंकवादी सञ्जाल आईएसआईएसले सिरिया र इराकलाई आधारइलाका बनाएर आफ्नो प्रभाव फैलाउन खोजिरहेको छ । विकसित मुलुकमा आईएसआईएसले आक्रमणको निसाना बनाएपछि विश्वका धेरै मुलुकले सिरियाली नागरिकलाई प्रवेशमा कडाइ गरेका छन्।

 

सिरियासँगै नेपालमा अनअराइभल भिसा नपाउने मुलुकको संख्या १२ पुगेको छ। अध्यागमन विभागले नाइजेरिया, स्वाजिल्यान्ड, लाइबेरिया, प्यालेस्टाइन, घाना, क्यामरुन, अफगानिस्तान, जिम्बाब्बे, सोमालिया, इथियोपिया र इराक गरी ११ मुलुकका यात्रुलाई अनअराइभल भिसा दिँदैन। 

 

अध्यागमन विभागले दुई वर्षमा नक्कली राहदानीमा नेपाल भित्रिएका झन्डै दुई दर्जन सिरियालीलाई कारबाही गरिसकेको छ।पछिल्लोपटक पेरिसमा भएको आतंकवादी आक्रमणपछि गृह मन्त्रालयले सिरियालीको नेपाल प्रवेशमा कडाइ गर्न लागेको हो।

 

सिरियाली नागरिकलाई आगमन भिसा नदिने निर्णयसँगै अध्यागमन विभागले परराष्ट्र मन्त्रालयमार्फत सबै दूतावासमा त्यसको जानकारी दिन पत्राचार गर्ने तयारी गरेको छ।अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले नेपालबाट उड्ने सम्बन्धित एयरलाइन्स र नेपालका सबै अध्यामगन नाकालाई समेत यसबारे पत्राचार गर्ने बताए। 

 

न्यौपानेले मुलुकको समग्र सुरक्षालाई ध्यानमा राखेर विभिन्न बहानामा नेपाल प्रवेश गर्न खोज्ने विदेशीलाई कडाइ गरिएको बताए। ‘अध्यागमन मुलुकको प्रत्यक्ष सुरक्षासँग जोडिएको निकाय हो’, उनले भने, ‘हामी त्यहीअनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर काम गरिरहेका छौं। अध्यागमन सुरक्षाप्रति हामी गम्भीर छौं।’

 

पछिल्लोपटक फ्रान्स र अमेरिकामा आईएसआईएसबाट भएको आतंकवादी हमला र सिरियामा जारी गृहयुद्धबाट प्रभावित भएका नागरिक शरणार्थीका रूपमा अन्य मुलुक जाने क्रम बढेको छ। सिरियाली नागरिकले युरोपेली मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाउन थालेपछि अध्यागमन विभागले अनअराइभल भिसा दिन नहुने प्रस्ताव गृह मन्त्रालयसँग गरेको थियो।

 

गृह मन्त्रालयले कूटनीतिक विषय भएकाले परराष्ट्र मन्त्रालयसँग समेत यसबारे सल्लाह लिएको थियो। तत्कालीन गृहसचिव सूर्यप्रसाद सिलवालको संयोजकत्वमा झन्डै एक वर्षअघि बसेको सुरक्षा बैठकले इरान, सिरिया, इराकलगायत देशका नागरिकलाई निगरानीमा राख्ने निर्णय गरेको थियो।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024