साउदी अरेबियामा बहिर्गमन भिसाको निवेदन खुल्यो

30 Aug, 2020

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १४ गते । साउदी अरेबियास्थित नेपाली राजदूतावासले बहिर्गमन भिसा लगाउनुपर्ने अवस्थामा रहेका नेपालीलाई कागजातसहित निवेदन दिन आग्रह गरेको छ । 

दूतावासले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबियामा कार्यरत रहँदा शुरुदेखि नै ईकामा नबनाइदिएका वा पाँच महिनाभन्दा लामो समयदेखि ईकामाको म्याद गुज्रेका कामदारले निवेदन दिनसक्ने बताएको छ ।

साथै, कार्यरत कम्पनी छोडेर अर्को ठाउँमा गएका कामदारले पनि स्वदेश फर्कन बहिर्गमन भिसा लगाउनुपर्ने भएमा कागजातसहित दूतावासमा निवेदन दिन सक्नेछन् ।

निवेदन दिन ०५०००२१४०९ मा ह्वाट्सएपमार्फत् कागजात पठाउन सकिने दूतावासले बताएको छ । उक्त भिसा प्राप्त गर्न निवेदनका साथ पासपोर्टमा आफ्नो फोटो रहेको पाना पठाउनु पर्नेछ ।

ईकामा नबनाएको भए साउदी अरेबियामा आउँदा एयरपोर्टस्थित अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर पठाउन दूतावासको अनुरोध छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024