साउदी अरबमा दुई महिने एम्नेस्टी घोषणा, एक लाख अवैध नेपाली कामदारलाई स्वेदश फर्कने अवसर

15 May, 2013

सुरेन्द्र पौडेल 

 

साउदी अरबले अवैध रुपमा बसोबास गरेका आप्रवासी कामदारलाई वैध बन्न तथा बिनासजाय स्वदेश फर्काउन ५५ दिने आममाफी कार्यक्रम (एम्नेस्टी) घोषणा गरेको छ। साउदीले आप्रवासी कामदारलाई लक्ष्य गरी १५ वर्षपछि खुला गरेको एम्नेस्टी वैशाख २७ मा सुरु भई असार १९ गते सकिनेछ।

 

एम्नेस्टी घोषणासँगै साउदीमा अवैध रुपमा रहेका करिब एक लाख २० हजार नेपाली कामदारले वैध बन्न तथा बिनासजायँ स्वदेश फर्कने अवसर पाएका छन्। ६८ लाखभन्दा बढी आप्रवासी कामदार रहेको साउदीमा वैध/अवैध गरी ६ लाख नेपाली कामदार रहेको अनुमान छ। ‘साउदीले अवैध आप्रवासी कामदारलाई वैध बन्न तथा बिनाकारबाही स्वदेश फर्कन दुईमहिने एम्नेस्टी घोषणा गरेको छ,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘साउदीमा रहेका नेपाली कामदारमाझ एम्नेस्टीबारे जानकारी दिने कार्य हामीले सुरु गरिसकेका छौं।’

 

राजदूत पाण्डेका अनुसार साउदीमा कार्यरत कूल नेपालीमध्ये ७० हजार पुरुष अवैध छन्। ५० हजार महिला अवैध तरिकाले घरेलु कामदारका रुपमा त्यहाँ प्रवेश गरी कष्टकर जीवन बिताइरहेको अनुमान छ। वैध तरिकाले साउदी पुगी काम गर्ने नेपाली महिला कामदार ३ सयमात्र रहेको उनले जनाए।

 

घरेलु कामदारका रुपमा महिलालाई साउदी जान सरकारले रोक लगाउँदै आएको छ। सरकारले साउदीको अस्पताल, क्याटरिङ सेवाजस्ता संगठित क्षेत्रमा मात्र महिला कामदार पठाउन सक्ने व्यवस्था गरेको छ। अवैध रुपमा साउदी पुग्ने घरेलु महिला कामदार अधिकांश भारतको बाटो हुँदै जाने गर्छन्।

 

बितेका २२ महिनामा दूतावासले अवैध रुपमा साउदी पुगी कष्टकर जीवन बिताइरहेका ६ सय ३५ नेपाली घरेलु महिला कामदारलाई उद्धार गरी स्वदेश फर्काएको उनले जानकारी दिए। एम्नेस्टी दिइएको ५५ दिनभित्र वैध नबन्ने तथा स्वदेश नफर्कने आप्रवासी कामदारलाई साउदीले कडा कारबाही गर्ने जनाएको छ।

 

‘यस पटक घरेलु महिला कामदारले पनि एम्नेस्टी उपभोग गर्ने अवसर पाएका छन्। साउदीमा रहेका नेपाली घरेलु महिला कामदारले एम्नेस्टीका बेला वैध तरिकाले वैध बाटो स्वदेश फर्कन पाउनेछन्,’ राजदूत पाण्डेले भने।

 

वैधानिक कामदारलाई मात्र साउदीले परिचयपत्र (रेसिडेन्ट परमिट) दिने गर्छ। यही परिचयपत्रका आधारमा बैंक खाता खोल्ने, मोबाइलको सिमकार्ड किन्न पाउने, पैसा स्वदेश पठाउन पाउने सुविधा कामदारले पाउँछन्। कामदारको सम्पूर्ण व्यक्तिगत विवरण र कार्य परिचयपत्रमार्फत हुने गर्छ। परिचयपत्र नहुनेलाई अस्पतालले भर्ना लिनसमेत मान्दैन।

 

साउदीले यसअघि १९९८ मा अवैध आप्रवासी कामदारलाई बिनाजरिवाना स्वदेश फर्कन आममाफी (एम्नेस्टी) दिने घोषणा गरेको थियो। १५ वर्षअघि आह्वान गरेको ६ महिने (अप्रिल–सेप्टेम्बर) आममाफी कार्यक्रममा ९ लाख २० हजार ३ सय ७५ अवैध आप्रवासी कामदार देश फर्केका थिए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024