साउदीमा सात वर्षदेखि बन्धक

19 May, 2016

होम कार्की 

 

गोठ माथिबाट जब पखेटा फिँजाउँदै परेवा उडेर जान्छ, नरबहादुर तामाङको आँखा झिमिक्क हुँदैन । त्यो परेवा जति पर उडदै जान्छ, त्यति नै जोडले उनको आँखा पनि तन्किँदै जान्छ । परेवा आकाशमै अलप भएपछि नरबहादुरको आँखाबाट आँसुका धारा बग्न थाल्छ । ‘म पनि पन्छी भइदिएको भए खोटाङको सिम्मपानी बर्रे डाँडामा कुरी बसेका जहान छोराछोरी भेट्न यसैगरी उडेर जान सक्थें होला,’ उनलाई घरीघरी लाग्छ, ‘कस्तो अभागी मानव भएर जन्मिएछु ?’ 

 

उनले साउदी अरबको साखरा क्षेत्रको गिर्न ममोतियामा पाइला राखेको ७ वर्ष १ महिना बित्यो । ५ वैशाख २०६६ को दिन साउदी इन्भारोमेन्ट प्रोजेक्ट कम्पनीका लागि हेल्पर बनेर आएका थिए, काठमाडौंस्थित मेट्रा इन्टरनेसनल म्यानपावरमार्फत । परिवारको सुखद भविष्यको कल्पना गर्दै साउदी उडेका थिए । त्यहाँ पुगेपछि मात्रै थाहा पाए यो कुनै प्रोजेक्ट थिएन । ३५ वटा गाई, सयभन्दा बढी बाख्रा रहेको गोठ थियो । जसलाई अरबी भाषामा ‘मजरा’ भनिन्थ्यो । राजधानी रियादबाट पुरानो जेद्दा रोड हुँदै २ सय ७० किलोमिटर पार गरेपछि त्यो गोठमा पुगिन्थ्यो ।

 

उनको समूहमा १२ जना थिए । त्यसमा जनकपुरका नेपाली पनि थिए । नरबहादुरहरू त्यतिबेलै नेपाल फर्कन खोजेका थिए । ‘नेपाल जाने भए तिमीहरू सबैले ३ हजार रियाल बुझाउनुपर्छ,’ मालिक तबाब मेहेली अल तेजीले धम्क्याए, ‘नसके मैले भनेको काम गर्नुपर्छ, तीन वर्षसम्म ।’ 

 

मालिक जतिखेर पनि मजारामा बस्दैनथे । सुत्छन् भनेर उनले कोठामा एसी राखेका थिएनन् । उनीहरूका लागि बाहिर गाईबाख्रा हेर्नु र कोठामा बस्नु केही फरक थिएन । ‘तिमीहरू मालिकलाई रिझाएर काम गर,’ मालिकनजिक भनेर चिनिएका जनकपुरका रामसिंहले भन्थे, ‘काम नगरे राजा नै आए पनि यहाँबाट लान सक्दैन ।’

 

७ सय ५० रियाल तलब पाउने भनेर आए पनि पाउने बेला ६ सय रियाल मात्रै पाए उनीहरूले । त्यो पनि नियमित थिएन । दुई महिनाको रोकेर एक महिनाको दिन्थे । ज–जसले गर्मीलाई जित्न सके, रापिलो वातावरण पचाउन सके र मलमूत्रको गन्ध सहन सके, उनीहरू बसे । नसक्नेहरू बिस्तारै छाडेर भाग्न थाले । बाँकी दु:खै सहेर भए पनि तीन वर्ष कटाउने ध्याउन्नमा लागे । त्यतिन्जेल आउँदा लागेको ऋण तिरेर घर फर्किने आशा थियो उनीहरूलाई । 

 

सक्नेहरूले तीन वर्ष कटाए । तर मालिक नेपाल पठाइदिने पक्षमा थिएन । नेपाली दूतावाससँग उनीहरूको सम्बन्ध स्थापित पनि भएन । गाईगोठबाट ४० किलोमिटर टाढा दोआद्मी भन्ने ठाउँमा श्रम कार्यालय रहेको सूचना पाएका थिए । त्यस भेगमा काम गर्ने अरू नेपालीले बताइदिएका थिए । पुरानो रोड भएकाले गाडीहरू खासै गुडदैनथे । जुन पायो त्यो गाडीले नचिनेको व्यक्ति बोक्दैनथ्यो । रोडबाट हिँडेर जाँदा बीचबाटै मालिकले पक्रेला भन्ने डर थियो । ‘हामी बालुवा नै बालुवा भएको ठाउँमा निकै कष्ट गरी हिँडेर गयौं । गर्मीले मुख सुक्दै जान्थ्यो । पैंताला त्यतिकै दुख्थ्यो । हावा निकै तातो हुन्थ्यो । एकअर्कालाई हेर्दै ३० किलोमिटर त पुगेका थियौं,’ उनले भने, ‘साथीहरू थप हिँड्न नसक्ने भएपछि रोडमा निस्किएर गाडी कुर्न बसेका थियौं । सुनसान सडकमा नेपाली देखेपछि प्रहरी आइपुग्यो । उसले श्रम कार्यालय लैजानुको सट्टा प्रहरी स्टेसन लिएर गयो । त्यहाँ मालिकलाई बोलाएर जिम्मा दियो । मालिकसँग मिलेर काम गर्न धम्की दियो ।’ 

 

उनीहरू श्रम कार्यालय पुग्न सकेनन् । ‘प्रहरीले मालिकबाट बाख्रा उपहार पायो,’ नरबहादुरले भने, ‘हाम्रो फेरि दुर्गति सुरु भयो ।’ मालिकले सबैको मोबाइल खोसिदिए । वरिपरि साथीहरू भेट्न पनि प्रतिबन्ध लगाइदिए । तलब त पहिलादेखि नै रोकिएको थियो । जनकपुरका रामसिंह पहिलादेखि मालिककै पक्षमा थिए । स–साना कुरा लगाइदिन थालेपछि आवेगमा आएका खोटाङका कुन्दन राईले भक्कु कुटेर गोठ छोडेर हिँडे । रामसिंह पनि बिदामा गएर फर्केनन् । अन्तिममा नरबहादुर तामाङ र महेन्द्रनगर ५, सुनसरीका २५ वर्षीय नीलमणि गौतम बाँकी भए । 

 

६ वर्ष कट्यो । मालिक आश्वासन दिन्थे, ‘नयाँ मान्छे ल्याएपछि तिमीहरू दुई जनालाई पठाइदिउँला ।’ तलब नपाएको पनि तीन वर्षजस्तो पुगिसकेको थियो । बेलाबेला खाना र फोनका लागि खर्च दिन्थे । पहिलाजस्तो गाईले दूध दिन पनि छोडेको थियो । बाख्रा पनि राम्रो भएन । घरबाट आउने मिसकलले उल्टो तनाव हुन्थ्यो । परिवार रोएको सुन्थे । आफ्नो गहिरो पीडा आफैंभित्र लुकाउँथे । फोन राखेपछि गौतम बाख्राको गोठमा गएर रुन्थे, नरबहादुर गाईगोठमा पुग्थे । 

 

कसोकसो परिवारको मद्दतले नीलमणिले रियादस्थित नेपाली दूतावासको सम्पर्क पाएका थिए । परिवारले पनि परराष्ट्र मन्त्रालयमार्फत नेपाली दूतावासलाई उद्धारका लागि निवेदन हालेको थियो । ‘गौतमसँग मेरो सम्पर्क भइरहेको छ । उसको मालिकसँग सम्पर्क हुन सकेको छैन,’ गत जुलाईमा दूतावास पुग्दा कान्तिपुरसँग तत्कालीन श्रमसहचरी कृष्ण दुवाडीले भनेका थिए, ‘उनीहरूले आफू रहेको निश्चित ठाउँ बताउन सकिरहेका छैनन् । जेद्दा रोडतिरको मरुभूमि भनेका छन् । पत्ता लगाउन नै गाह्रो भयो ।’ 

 

नीलमणिले आफूलाई निकाल्न सक्नेको रूपमा धरानका दीपक कार्कीलाई देखेका थिए । उनकै मजराबाट आधा घण्टाको दूरीमा रहेका उदयपुरका पुष्पराज मगर खेतीकै काम गर्थे । आरम्कोको ट्ेरलर चलाउने कार्की बाटो पर्दा पुष्पराज मगरलाई भेट्न आउँथे । नीलमणिले धेरै अगाडिदेखि नै आफूलाई गोठबाट बाहिर निकाल्न अनुरोध गर्दै आएका थिए । 

 

गत सेप्टेम्बरको एक साँझ पुष्पराजलाई भेट्न पुगेका बेला दीपक पनि त्यहीं आइपुगेका थिए । उनी झन्डै एक वर्षपछि भेटिएका थिए । त्यतिखेर पुष्पले पनि रियादसम्म लागिदिन अनुरोध गरे । दीपकले ठूलो जोखिम लिए । अर्काको कामदारलाई भगाउनु गैरकानुनी थियो । जेल र जरिवाना दुवैसम्म हुने कानुनी व्यवस्था छ । ‘जाने भए अहिल्यै जाऔं,’ दीपकले भने । नीलमणिले नरबहादुरलाई लैजाने आँट गरेनन् । उनले पहिलादेखि नै भागेर बाहिर जाऊ भने पनि नरबहादुर सकभर मालिकले रोकिदिएको तीन वर्षको तलब लिएर जानुपर्छ भन्थे । त्यही रात आफूले लगाएको कपडाको भरमा नीलमणिले गोठ छोडे । दीपकले ट्ेरलरको क्याबिनको पछाडि सिटमा गौतमलाई लुकाएर रियादसम्म पुर्‍याइदिए । 

 

रियादमा नीलमणिले दूतावासका श्रम सहचारीलाई फोन गरे । श्रम सहचारीले ‘आफूले मालिकसँग सम्पर्क गरिरहेको बताउँदै फर्केर जान’ भने । ‘साह्रै दु:ख लाग्यो । बल्लतल्ल त्यहाँबाट उम्किएर पुगेको थिएँ,’ उनले भने, ‘फेरि त्यही मालिकको गोठमा फर्कनु मूर्खता थियो ।’ 

 

उनले तीन वर्षको तलब माया मारिदिए । रियादमै एउटा साथीमार्फत बंगाली चिने । उसलाई ५ सय रियाल दिएर नक्कली परिचय पत्र बनाए । त्यहाँबाट काम खोज्दै अर्को सहर दमाम पुगेका छन् । ‘एउटा क्लिनरको काम पाएको छु । खाना र बस्न राम्रै छ,’ उनले फोनमा भने, ‘बरु नरबहादुर दाइलाई पो त्यहाँबाट कसरी निकाल्ने होला ?’ 

 

नीलमणि हिँडेदेखि नरबहादुर एक्ला छन् । बोलचाल गर्न साथी छैनन् । एक्लैले १५ वटा गाई हेर्नु परिरहेको छ । उनका जेठो छोरा बाबुलाई उद्धार गर्न साउदी अरब पुगेका छन् । ‘छोरो काम गर्न र मलाई पठाउन भनेर यतै आएको छ । रियादमा बस्छ,’ उनले भने, ‘हाम्रो भेट भएको छैन । ऊ समय मिलाएर दूतावास जाने कुरो भएको छ ।’ 

 

७ वर्ष एक महिना रोएर नै बित्यो । ‘गर्मी बढेकाले आकाशमा उडेको परेवा भ्याटभ्याट तल झर्छ । गर्मीले टाउको चर्किएर आउँछ । वरिपरि शीतल दिने केही छैन,’ उनले भने । 

 

उनलाई आफ्नो जिन्दगी ‘थुनिएको कैदी जस्तो’ लाग्छ । ‘रगत जसरी बगाएको पसिनाको मूल्य कसरी छोडूँ ?’ भन्छन्, ‘न भाग्न सक्छु न बस्न सकेको छु ।’ 

 

यस्तो बँधुवा मजदुरबाट उनी उम्किन त चाहन्छन् । तर ४५ वर्षीय नरबहादुरलाई सधैं एउटै कुराले सताउँछ, ‘यो बालुवाघारीमा अल्झिएको गाई गोठालोलाई उद्धार गर्न सक्ने कोही छ ?’ 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024