सांसदद्वारा बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनाको मानव अधिकार आयोगबाट अनुसन्धान सुरु 

13 February, 2025

लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले ६ वर्षसम्म एक बालिकालाई बन्धक बनाई श्रमशोषण गरेको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ। आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालयसमक्ष पेस गरेको रायसहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘दाङ जिल्लानिवासी एक बालिकालाई सोही जिल्लाका लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा प्रकाशित समाचारपछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको छ। सो क्रममा उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालयसमक्ष पेस गरेको रायसहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन आयोगले आजै पत्राचार गरेको छ।’

काठमाडौं महानगरपालिकाले सांसद शर्माको घरमा काम गर्न राखिएकी बालिकाको गत जेठमा उद्धार गरी कारबाहीका लागि प्रहरीमा जाहेरी दिएको थियो। तर, सत्ताको आडमा उनलाई मुद्दा नचलाउने निर्णय गरिएकोमा सर्वत्र आलोचना भइरहेको छ। जसमा मानव अधिकार आयोगले पनि छानबिन थालेको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024