काठमाडौँ — सहरमा ‘राइड सेयरिङ’ले यात्रीका लागि मात्रै सहज भएको छैन कतिपयका लागि रोजगारी र राम्रो खर्च जुटाउने स्रोत बनेको छ । क्याम्पस पढ्ने हुन् कि विदेश जाने तयारीमा रहेकोहरु । युवा हुन् कि वयस्क, महिला हुन् कि पुरुष ‘राइड सेयरिङ’ले धेरैलाई आम्दानीको अवसर सिर्जना गरिदिएको छ ।
त्यसो त दिनभरि रोजगारीमा रहेकाले पनि ‘राइड सेयरिङ’मार्फत आयआर्जन गरिरहेका छन् । आफ्नो दुई पाङ्ग्रे साधन प्रयोग गरी कमाइ गर्दै खर्चको व्यवस्थापन गर्ने युवाको संख्या बजारमा ठूलो छ ।
‘राइड सेयरिङ’मार्फत आयआर्जन गर्दै लोकसेवा तयारी खर्च जुटाइरहेका छन्, कैलालीका शक्तिराम चौधरी । कृषिमा डिप्लोमा सकेर काठमाडौं पसेका २५ वर्षीय चौधरी बागबजारमा लोकसेवा तयारी कक्षा सकिएपछि मोटरसाइकल लिएर यात्रीको प्रतीक्षा गर्छन् । लोकसेवाको तयारी गरिरहँदा महिनैपिच्छे घरबाट पैसा माग्न अप्ठ्यारो हुने भएर पठाओ चलाउन थालेको उनले बताए ।
‘घरमा कमाउने कोही छैनन्, बुढा बुबाआमा काम गर्न सक्नुहुन्न । ऋण खोजीखोजी हरेक महिना पैसा पठाउ भन्न निकै गाहृो भएर पठाओ चलाउन थाले,’ उनले भने । पठाओ चलाएर भएको आम्दानीले शक्तिराम आफूमात्र होइन उनकी श्रीमती पनि लोकसेवाको तयारी गरिरहेकी छन् । जागिर नभए पनि पठाओ चलाएको आम्दानीले गर्दा काठमाडौंमा श्रीमान्–श्रीमतीको ट्युसन शूल्क, कापीकिताब तथा कोठाभाडा तिरेर बचेको पैसा कैलालीको भजनी नगरपालिकामा बस्दै आएका बाआमालाई पनि पठाउन पुग्छ ।
‘कुनै जागिरबिना पढ्दै गरिरहँदा समय मिल्ने बित्तिकै पठाओ गरेर पनि घरभाडा, रासनखर्च, दुई जनाको पढाइखर्च, आमाबुबालाई कहिलेकसो थोरै भए पनि पैसा पठाउन पुगेको छ, अहिलेलाई यसमै खुसी छु,’ उनले भने । ‘राइड सेयरिङ’ मार्फत उनले दिनमा १५ सय रुपैयाँभन्दा बढी कमाउँदै आएका छन् ।
नेपालमै बसेर खाली समयमा बाइक चलाएरै पैसा कमाउन सकिने कुराले भने उनी दंग छन् । शक्तिरामको सपना लोकसेवा पास गरेर सरकारी जागिर खाने छ । विदेश गएर दुःख गर्नुभन्दा स्वदेशमै संघर्ष गर्ने उनको चाहना छ । ‘साथीहरु विदेश गइसके मलाई नेपालमै बसेर मिहिनेत गरेर परिवारसँग बस्न मन छ,’ शक्तिराम भन्छन् ।
चितवन घरभएका भीमबहादुर गुरुङ हरेकदिनजसो बिहान ७ बजेदेखि राति १० बजेसम्म ‘राइड सेयरिङ’ गरेरै महिनाकै ७० हजारसम्म कमाइरहेका छन् । काठमाडौं बस्दै आएका उनी दिनभर खटिएर राम्रो आम्दानी गरिरहेका छन् । ‘अरु जागिर छैन राइड सेयरिङको कमाइ नै आम्दानीको स्रोत हो । अरु केही नगरे पनि आफ्नै बाइक चलाएर कमाएको पैसाले म निकै नै खुसी छु,’ उनले भने, ‘आधा त पेट्रोल, बाइक सर्भिसिङ र खाँदा, बस्दै सकिन्छ । महिनामा ३०/४० हजार बचत हुन्छ । नेपालमै बसेर यत्तिको कमाएकोमा म सन्तुष्ट छु ।’
४७ वर्षका मेघ गुरुङ काठमाडौंको ठमेलस्थित एक होटलमा ‘सेफ’ छन् । बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म होटलमा सेफको रुपमा काम गर्ने उनी घर फर्कँदा छिटोछिटो अनलाइन बसिहाल्छन् । ‘राइड सेयरिङ’ले तलब आएपछि मात्र किन्छु भनेका सामान अहिले सहजै किन्न सकेको उनी बताउँछन् । मेघ भन्छन्, ‘पहिले पठाओ नचलाउँदा साधारण सामान किन्न पनि कहिले तलब आउला भनेर दिन गनेर बस्नुपर्थ्यो । अहिले हरेक दिन धेरथोर पैसा साथमा भइराखेको हुन्छ ।’
मेघ दिउँसोको २ बजेदेखि राति १० बजेसम्म पठाओ चलाउँछन् । उनी आफूले फरक फरक धर्म, संस्कृति र फरक व्यक्तित्व भएका मानिस हरेक दिन भेट्दा भने आफूले धेरै कुरा बुझ्न पाएको बताउँछन् । दुबईको होटलमा ९ वर्ष सेफ रहेका उनी कोरोना महामारीपछि घर फर्किएका थिए । खाली समयमा पठाओ चलाउने सोच बनाएर उनले एक वर्षयता होटलको काम सकेर पठाओजस्ता ‘राइड सेयरिङ’ एपबाट यात्रु बोकिरहेका छन् । उनी ‘राइड सेयरिङ’ले गर्दा आफूलाई काठमाडौंको महँगीमा थोरै भएपनि राहत भएको महसुस गर्छन् । उनी भन्छन्,‘बढ्दो महँगीले एक महिनामा आउने तलबले मात्र दैनिकी चलाउन गाह्रो भएको बेला ‘राइड सेयरिङ’ गर्दा कमै भएपनि हरेक दिन पैसा आउँदा केही सास्ती हटेको छ ।’
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा बीआईएम (ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट) छैटौं सेमेस्टर पढ्दै गरेका २१ वर्षका निलकण्ठ पौडेल पोखरामा खाली समय पठाओ चलाउँछन् । स्याङ्जा अर्जुनचौपारी घरभएका उनी दिउँसो कलेज पढ्छन्, ४ बजे छुट्टी भएलगत्तै ‘राइड सेयरिङ’ गरिहाल्छन् । आफूलाई आवश्यक पर्ने पैसा पनि कति परिवारसँग मागेर चलाउने भनेर ‘राइड सेयरिङ’ चलाउन सुरु गरेको उनी बताउँछन् ।
निलकण्ठ भन्छन्, ‘म ठूलो भइसकेँ अब पनि गाउँमा बस्ने आमाबुबालाई साथीसँग खाजा खान जाने पैसा भएन, घुम्न जाने पैसा भएन भनेर माग्न नराम्रो लागेर पठाओ गर्न थाले ।’ निलकण्ठ पनि ‘राइड सेयरिङ’ आर्फत आफ्ना साधारण आवश्यकता पूरा हुँदै गएका छन् । त्यसैले उनी निकै खुसी छन् । उनी २ वर्षयता ‘राइड सेयरिङ’ गरेरै कोठाभाडासहित आफ्नो खर्च आफैं जुटाइरहेका छन् । आफूले जम्मा गरेको पैसा धेरथोर सेयरमा लगानी पनि गरेको उनी बताउँछन् ।
गोजी कहिल्यै खाली नहुने र थोरै पैसाका लागि पनि घरमा फोन गरेर पैसा पठाइदिनु भन्न गाह्रो भएका कारण ‘राइड सेयरिङ’ सुरु गरेका निलकण्ठ यसबाट कमाइ हुने कुराले सन्तुष्ट छन् । ‘कसैको प्रेसर हुँदैन आफ्नै तरिकाले, आफ्नै साधन चलायो पैसा आउन महिना कुर्न पर्दैन आनन्दै छ,’ निलकण्ठ भन्छन् ।
सिन्धुपाल्चोक घर भएका वेद तामाङ ३० वर्षका भए । काठमाडौंमा बस्दै आएका उनी एक वर्षदेखि जागिर छाडेर ‘राइड सेयरिङ’ चलाउने काम गरिरहेका छन् । वेद अरुको जागिर खाएर भनेजस्तो तलब सुबिधा नपाएका कारण काम छाडेर ‘इन्ड्राइभ’ चलाउन लागेको र जसोतसो खर्च पुगेको बताउँछन् । उनी भन्छन्,‘जागिरमा भनेजस्तो तलब पनि नहुने, न त भनेको जस्तो सुविधा । त्यसैले इन्ड्राइभ चलाएर धेरै कमाइ नभए पनि आफ्नो खर्च धानेको छु ।’ उनले ‘राइड सेयरिङ’ गरेर काठमाडौंको महँगीमा कोठाभाडादेखि रासनखर्चसम्मको जोहो गरिरहेका छन् । वेद ‘राइड सेयरिङ’ ले गर्दा जागिर नभए पनि बेरोजगार बस्न नपरेकोमा भने खुसी छन् ।
शान्ति मगरले एक वर्षयता पठाओ चलाइरहेकी छिन् । कोरोना र जन्डिसका कारण श्रीमान् बितेपछि कामका लागि धेरै ठाउँमा भौंतारिइन् । धेरैले जागिर दिने आश्वासन दिएपनि छोराछोरी सानै भएका कारण काम दिएनन् । दुई छोराछोरी पढाउन र अन्य खर्च जुटाउन नसक्ने भएपछि उनले आफ्नो भएको स्कुटरले ‘राइड सेयरिङ’ सुरु गरिन् । अहिले उनले समय मिल्नासाथ ‘राइड सेयरिङ’ गरेरै कमाइरहेकी छिन् । शान्ति आफ्नै स्कुटर चलाएर पनि पैसा कमाउन सकेकोमा खुसी छिन् । उनी भन्छिन्,‘आफ्नै स्कुटर जतिबेला चलाए पनि भयो । आफैं साहु आफैं चालक हो । कसैको दबाबमा काम पनि गर्न परेन आफ्नै तरिकाले हरेक दिन पैसा आउँछ ।’
शान्ति बिहान छोराछोरीलाई स्कुल पुर्याएर त्यहीँबाट पठाओमा अनलाइन बसिहाल्छिन् । उनीहरुलाई स्कुल लिन जाने बेलासम्म पठाओ चलाएर आम्दानी गरिरहेकी हुन्छिन् । ‘राइड सेयरिङ’ ले आफूले आयआर्जन गर्न बाटो खोलिदिएकोमा उनी निकै खुसी भएको बताउँछिन् । ‘आफ्नो साधन (स्कुटर) चलाएरै हरेक दिन पैसा आउँछ । नत्र बालबच्चासँग कसरी काठमाडौंको महँगीमा बाँच्न सक्थेँ होला भनेर कल्पना पनि गर्न सक्दिनँ ।’