सरकारले स्वदेशमै रोजगारी सिर्जना गरी विदेश पलायन रोक्नुपर्छ : मन्त्री कुँवर

5 Dec, 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन्। आइतबार नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले स्वदेशमै रोजगारी सिर्जना गरी नागरिकलाई विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताए।

देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको तथा सिर्जना गरेको ठाउँमा पनि नेपाली श्रमिकको आकर्षण नभएको मन्त्री कुँवरको भनाइ छ। उनले नेपालमा रहेका कम्पनीहरूमा काम गर्ने नेपाली मजदुरहरूभन्दा विदेशीहरू बढी रहेको भन्दै नेपाली श्रमिकलाई नेपालमै रोजगारी दिन सरकार लागिपरेको बताए।

‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ। जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकको आकर्षण पनि छैन। मजदुरहरूको अवस्था हेर्दा विदेशी धेरै छन्। नेपालीहरू कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरूमा काम गर्ने। हामी खाडीमा गइरहेका छाैँ, हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजदुर छैनन्,’ उनले भने।

मन्त्री कुँवरले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार नागरिक श्रम स्वीकृति लिएर विदेश गएका तथ्यांक प्रस्तुत गरे। नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा वैदैशिक रोजगारीका लागि गएको भन्दै उनले यसलाई नियन्त्रण गर्नेबारे गम्भीर हुन आवश्यक रहेको औँल्याए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024