सरकारले बुझ्न नसकेको वैदेशिक रोजगारी

21 February, 2021

शान्ता मरासिनी

गएको दशैंको नवमीको दिन काठमाडौंमा मेरो डेरासँगै डेरा गरी बस्ने पाँचथरकी कमला थापाका ३७ वर्षे पतिको निधन भएको खबर मलेसियाबाट आयो । उनी आफ्ना छोराछारीलाई बोर्डिङमा पढाउन यता आएकी थिइन् ।

पतिले पठाएको पैसाले उनको सानो परिवार चलेको थियो । उताबाट शव आएपछि पतिको काजक्रियाका लागि उनी गाउँ गइन् । पतिको निधन भएको करिब दुई महिनापछि काठमाडौंमा उनले मसँग भनिन्, ‘अब छोराछोरी यहाँ पढाउन सकिन्न, गाउँ नै फर्कन्छु ।’ यो सुनेर म अवाक् भएँ । उनका ससुरा बिरामी रहेछन् । घर–व्यवहार पनि ससुराले नै चलाउँदा रहेछन् । उनको नाममा जग्गा–जमिन केही थिएन, न त निर्णय गर्ने अधिकार नै । एकातिर पतिको मृत्यु, अर्कोतिर छोराछोरी हुर्काउनुपर्ने जिम्मेवारी । त्यसमाथि आर्थिक अभावका कारण छोरोछोरीको काठमाडौंको पढाइ टुट्नु । पतिको निधनपछि उनका इच्छा र चाहना हराए, जिम्मेवारी थपियो ।

वैदेशिक रोजगारीमा गएकाहरूको मृत्युको खबर हरेक दिनजसो आउने गरेको छ । बाकसमा बन्द भएर आउने शवहरू प्रायः युवाका हुन्छन् । हालै मलेसियामा कामको सिलसिलामा मृत्यु भएका १८ युवाका शव स्वदेश ल्याइए । शव विमानस्थल आइपुग्दा तिनका आफन्त भावविह्वल अवस्थामा काठका बाकस तान्दै थिए । यसरी ल्याइएका शवलाई वैदेशिक रोजगार बोर्डले सद्गत गर्ने स्थानसम्म निःशुल्क पुर्‍याउने रहेछ । मृत्य हुनेहरू सबै पुरुष थिए । अब तिनका परिवारको सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा आइपुगेको छ । कमलाको जस्तै नियति ती महिलाले पनि भोग्नुपर्नेछ ।

सरकारले औपचारिक रूपमा ११० देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ । औपचारिक–अनौपचारिक रूपमा खाडीलगायतका मुलुकमा गएका नेपाली कामदारको संख्या करिब ८० लाख छ भनिन्छ । आव २०७५/७६ मा ३२,१२३ महिला रोजगारीका लागि विभिन्न मुलुक पुगेको तथ्यांकले देखाउँछ । २०७७ भदौदेखि पुससम्म घरेलु कामदारका रूपमा २,००० महिला खाडी पुगेका छन् । तर, तिनको अवस्था कस्तो छ, कसैलाई थाहा छैन, न त तिनका बारे सरकारी स्तरबाट सोधीखोजी नै हुन्छ । पछिल्ला आठ महिनामा ५९७ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ, जसमध्ये १६ महिला छन् ।

चरम गरिबी, स्वदेशमै रोजगारीका अवसर नहुनु, सन्तानको भविष्य अनि प्रलोभनजस्ता विभिन्न कारण धेरै अशिक्षित र बेसहारा महिला खाडी मुलुकमा बेचिने गरेका छन् । श्रम मात्र नभई मान्छे नै किनबेचमा परेका हाम्रा दिदीबहिनीको संख्या पनि निकै छ । अवैध रूपमा जानु, पूर्वसूचनाको कमी, कामको प्रकृतिबारे शून्य जानकारी, कामदारको हक–अधिकार र सेवा–सुविधा पत्तै नहुनु, क्षतिपूर्तिमा हकदाबी गर्न नसक्नुजस्ता कारणले आप्रवासी महिला कामदारहरू समस्यामा पर्ने गरेका छन् ।

अवैध रूपमा काम गरिरहेका कति नेपालीको ज्यान विषाक्त मद्यपानले लिने गरेको छ । रक्सी पिएर बिरामी परेपछि पक्राउ पर्ने डरका कारण उनीहरू उपचार गर्दैनन् र मृत्युको मुखमा पुग्छन् । दलालको फन्दामा परी खाडीमा पुर्‍याइएका त्यस्ता अवैध कामदारहरूको कमाइ हुँदैन, कागजपत्र नहुँदा घर फर्कन पनि सक्दैनन् । यसले उनीहरूलाई रक्सीको अम्मली बनाउँछ । यस्ता कामदारको संख्या धेरै छ । र, बेलैमा यस्ता व्यक्तिहरूको उद्धार हुन नसके अबका दिनमा मृत्यु हुनेहरूको संख्या बढ्नेछ । विश्लेषकहरूले अचेल श्रम कूटनीतिलाई ‘कफिन कूटनीति’ भन्न थालेका छन् । हुन पनि हो, सरकारको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत विप्रेषणले ओगट्छ र विप्रेषण भित्र्याउन कफिनभित्र फर्केकाहरूको पनि योगदान छ । राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष योगदान गर्नेहरूले आफ्नो परिश्रमको फल भोग गर्न पाउँदैनन् । कफिनमा फर्केपछि उनीहरूका आश्रित परिवारको बिचल्ली हुन्छ, सबैभन्दा बेसी कष्ट महिलाले भोग्नुपर्छ । घर चलाउने सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा थपिन्छ ।

विदेश जाने क्रम बढेसँगै प्रतिभा पलायन भइरहेको छ भन्ने आम बुझाइ छ । तर, खाडीमा जाने कामदारहरूलाई हामी प्रतिभा ठान्दैनौं । उनीहरू अदक्ष वा अर्धदक्ष जे भए पनि यो देशकै ऊर्जाशील जनशक्ति हुन् । उनीहरूलाई कहिलेसम्म कफिनमा भित्र्याइरहने ? लोककल्याणकारी राज्यका उद्देश्यहरू हुन्— अर्थतन्त्रको विस्तार, रोजगारीका अवसर सृजना, नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति, सामाजिक सुरक्षा, औद्योगिक विकास, पूर्वाधार र शिक्षामा लगानी, विप्रेषणको उत्पादनशील उपयोग, विप्रेषण भित्र्याउनेको सामाजिक सुरक्षा, प्रतिभा व्यवस्थापन, लैंगिक र सामाजिक न्याय स्थापनाका सवालहरूको सम्बोधन । वैदेशिक रोजगारी हाम्रो देशको अभिन्न अंग हो, अहिले प्रायः परिवारका सदस्यहरू विदेशमा काम गर्न पुग्छन् । त्यसैले तीनै तहका सरकार रोजगारी सृजना गर्ने विषयमा गम्भीर हुनैपर्छ ।

वैदेशिक रोजगारीमा जाने महिलाको अवस्था अझ कहालीलाग्दो छ । पारिश्रमिक नपाउने वा कम पाउने, यौन हिसांको सिकार हुनुपर्ने र अवैध बच्चा हुन सक्नेजस्ता समस्या महिलाले भोग्नुपरिरहेको छ । स्वदेशमै रहेका महिलालाई पनि बिदेसिएका पतिहरूले दुःख दिइरहेका छन् । कतिको सम्बन्धविच्छेद भएको छ । वैदेशिक रोजगारीका कारण महिला हिंसा झनै बढेको देखिन्छ । वैदेशिक रोजगारीमा रहेका महिलाहरू राज्यको नजरमा आर्थिक योगदानकर्ताका रूपमा अदृश्य छन् । तर, उनीहरूको पैसाले भने राज्यको ढुकुटी बढाउन सहयोग गरिरहेकै छ । ठूलो अंकमा विप्रेषण भित्र्याउने फिलिपिन्सले वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि पेन्सन योजना लागू गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केकाहरू सीपयुक्त छन् । उनीहरू श्रमिकबाट मालिक बन्न सक्छन् तर उनीहरूको क्षमता र सीपलाई राज्यले प्रयोग गर्न सकेको छैन, न त स्वदेशमै उनीहरूलाई रोक्ने योजना ल्याइएको छ । गुल्मीकी एक महिला केही समय खाडीमा काम गरेर फर्किइन् । उनले अहिले यतै काम गरिरहेकी छन् । आम्दानी पनि ठीकै छ । तर, उनलाई फेरि विदेशै जान मन छ । भन्छिन्, ‘दिन–रात लोग्ने भनाउँदाको कुटाइ खाएर बस्नुभन्दा उतै आनन्द हुन्छ ।’ एकपटक महिला विदेश गएर फर्केपछि उनलाई घर–समाजमा राम्रो दृष्टिले हेरिन्न । विडम्बना, परिवार र समाजले लगाउने लाञ्छनाले महिलाको आत्मसम्मानमा चोट पुगेको छ । वैदेशिक रोजगारीबाट उद्धार गरिएका महिलाहरूको कथा अझ भयानक छ । त्यस्ता महिलाहरूलाई सामाजिक संस्थाहरूको प्रयासमा आश्रयगृहमा राखिएको छ भने तिनलाई समाजमा पुनःस्थापित गर्ने चुनौती पनि त्यत्तिकै छ ।

दक्ष–अदक्ष जनशक्ति मात्र होइन, राज्यले नै ठूलो मूल्य चुकाएर तयार गरेका डाक्टर, इन्जिनियर, प्राविधिक, प्रशासकहरू पनि बर्सेनि ठूलो संख्यामा बिदेसिँदै छन् । अमेरिका, अस्ट्रेलियाजस्ता स्रोत–साधनसम्पन्न शक्तिशाली देशले तेस्रो विश्वका अधिकांश प्रतिभाशाली जनशक्तिलाई आकर्षित गरिरहेका छन् । र, यो क्रम तत्काल रोकिने अवस्था छैन । दक्ष जनशक्ति परिचालनका दृष्टिले हामी लगभग खोक्रो भइसकेका छौं । प्रतिभा व्यवस्थापनतर्फ अग्रसर चीन, भारत र फिलिपिन्सजस्ता देशले पछिल्लो दशक आफ्नो प्रतिभाशाली जनशक्तिलाई कसरी स्वदेशमै राख्ने भन्ने योजना बनाउन धेरै ध्यान दिए । विश्वव्यापीकरण र उदारीकरणले श्रम बजारलाई विस्तार गर्‍यो । तेस्रो विश्वका श्रमिकहरू काम गर्न पहिलो विश्वमा पुगे । यसको सकारात्मक पक्ष पनि छ । तर, योसँगै हाम्रोजस्तो देशले थुप्रै सामाजिक समस्या भोग्नुपरिरहेको छ । स्वदेशमै रोजगारी सृजना नगरे यो समस्या झन् विकराल बन्नेछ ।

युएन विमेनको हालैको एउटा अध्ययनअनुसार, वैदेशिक रोजगारीबाट प्राप्त आयमध्ये परिवारले ऋण तिर्न ५२ प्रतिशत, नयाँ व्यवसाय गर्न ४ प्रतिशत, ब्याज तिर्न ५ प्रतिशत, सम्पत्ति खरिदमा १४ प्रतिशत, शिक्षामा १९ प्रतिशत र अन्यमा ५ प्रतिशत खर्च भइरहेको छ र त्यसैले बचत हुन सकेको छैन । विप्रेषण आयबाट हाम्रो अर्थतन्त्र परनिर्भर हुँदै गएको, निर्यात अत्याधिक वृद्धि भई व्यापारघाटा बढेको जस्ता असर देखिएका छन् ।

सुरक्षित र भरपर्दो गन्तव्य मुलुक खोज्नु, वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन आर्थिक र श्रम कूटनीतिलाई प्रभावकारी बनाउनु, ठगी नियन्त्रण गर्नु, ज्यान गुमाएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउनु, वैदेशिक रोजगारीको सूचना प्रणालीलाई प्रभावकारी बनाउनु, विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण मिलाई विप्रेषणकर्तालाई प्रोत्साहन गर्नु र फर्केका सीपयुक्त जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुजस्ता वैदेशिक रोजगारी व्यवस्थापनका चुनौती हुन् ।

वैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक नतिजाहरूले व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने गर्छन् । यो यथार्थलाई मनन गरी वैदेशिक रोजगारीलाई छोटो अवधिको विकल्पका रूपमा लिई हाम्रो श्रमशक्तिका लागि स्वदेशमै रोजगारी सृजना गर्ने पहल थाल्नु अत्यावश्यक भइसकेको छ । यसका लागि औद्योगिक विकास, पूर्वाधारमा लगानी वृद्धि, विकास योजना तर्जुमा, लैंगिक संवेदनशील बजेटमा बढोत्तरी, उद्यमशीलता विकास तालिमको व्यापकता, सहुलियतपूर्ण ऋण, स्थानीय बैंकहरूको क्षमता विकास र कार्यक्षेत्रको विस्तार गरी विभिन्न क्षेत्रगत रोजगारीका योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024