श्रम स्वीकृति लिएका अन्योलमा

11 Mar, 2020

रुद्र खड्का

काठमाडौं – कतारले नेपालीलाई प्रवेशमा रोक लगाएको खबर सुनेपछि धादिङ, गजुरीका रामकृष्ण त्रिपाठी निराश छन्। दुई साताअघि बिदामा घर आएका त्रिपाठी अर्को साता कतार उड्ने तयारीमा थिए। ‘कतारले नेपालीलाई प्रवेशमा रोक लगाउने निर्णय गरेपछि रोजगारदाता कम्पनीसँग सम्पर्क गर्ने प्रयास गरिहेको छु,’ उनले मंगलबार नागरिकसँग भने, ‘अहिलेसम्म ठोस जवाफ पाउन सकेको छैन।’

त्यस्तै यसबारे वैदेशिक रोजगार विभागमा सम्पर्क गर्दा पनि प्रस्ट जवाफ पाउन नसकेको उनको भनाइ छ। कतार सरकारले नेपाल लगायत १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेपछि यतिखेर त्रिपाठी जस्ता हजारौं युवा अन्योलमा परेका छन्। विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णयले रोजगारीका लागि कतार जान तयारी गरेका भन्दा भिसा र अन्तिम श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया पूरा गरेका युवा अन्योलमा परेका छन्। नेपाल लगायत १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको कतार सरकारले त्यसबारे विस्तृत सूचना नदिएका कारण अन्योल सिर्जना भएको गुनासो गरिएको छ।

दोहा विमानस्थलमा कार्यरत काठमाडौं, लाजिम्पाटका नरेश खनालले आफ्नो बिदा सकिन तीन दिनमात्र बाँकी रहेको बताए। ‘अबको तीन दिनमा दोहा पुगिसक्नु पर्नेछ,’ उनले भने, ‘तर त्यहाँको सरकारले प्रवेशमा रोक लगाएका कारण कसरी जाने हो टुंगो छैन।’ बिदा सकिएलगत्तै काममा हाजिर नहुनेको हकमा के हुने भन्नेबारे कतार सरकारले प्रस्ट नपारेका कारण हजारौं श्रमिक अन्योलमा परेको उनको भनाइ छ। ‘सरकारले नै रोक लगाएका कारण जागिर नगुम्ला भन्ने अपेक्षा गरेका छौं,’ उनले भने, ‘तैपनि यसबारे सुरुमै निर्णय गरिदिएको भए श्रमिकलाई सहज हुने थियो।’

कतारले आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएका अधिकांश श्रमिक आपूर्ति गर्ने स्रोत मुलुक हुन्। कतार सरकारले नेपालसहित बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि वैदेशिक रोजगार विभागले सोमबारदेखि कतार जानेलाई श्रम स्वीकृतिमा रोक लगाइसकेको छ। विभागका अनुसार कतारले प्रवेशमा रोक लगाउनुअघि चार हजार दुई सयले श्रम स्वीकृति लिएका छन्। ‘श्रम स्वीकृति लिएकामध्ये को संस्थागत (म्यानपावर) मार्फत र को विदामा सकेर पुनः कतार जान थालेका हुन् भन्नेबारे खोज्दै छौं,’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने। उनले संस्थागतमार्फत पहिलोपटक कतार जानेको हकमा कुनै समस्या नहुने भए पनि बिदामा आएकाको श्रम स्वीकृति र भिसा अवधि सकिने भएकाले छलफल गर्नुपर्ने देखिएको बताए।

विभागले कतारको रोजगारीमा जानेलाई दुई वर्षको श्रम स्वीकृति दिने गर्छ। श्रम स्वीकृति जारी भएको संख्याको आधारमा चालु आर्थिक वर्षको सबभन्दा ठूलो गन्तव्य कतार हो। चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) करिब तीन लाख ४० हजारले श्रम स्वीकृति निकाल्दा कतार रोजगारीमा जाने ६० हजार हाराहारीमा श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ। यस्तै, यसअघि गइसकेकामध्ये हाल कतारमा करिब चार लाख कार्यरत रहेको अनुमान छ। विभागले वैदेशिक रोजगारीमा जानेको मात्रै विवरण राख्ने तर फर्कर्नेको विवरण राख्न थालेको करिब एक महिनामात्रै भएकाले गन्तव्य मुलुकमा रहेका कामदारको संख्यालाई अनुमान गर्ने गरिन्छ।

विभागका महानिर्देशक दहालले अर्को सूचना नआउँदासम्म श्रम स्वीकृति जारी नहुने बताए। यसअघि कुवेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको छ। त्यस्तै दक्षिण कोरियाको हकमा भने विभागले हवाई उडानको तालिकालाई एक महिना पछि सारेको छ। कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष ०७५/७६ मा नयाँ र पुराना गरी पाँच लाख आठ हजार आठ सय २८ ले श्रम स्वीकृति निकाल्दा सबभन्दा बढी एक लाख ६१ हजार दुई सय १५ रोजगारीका लागि कतार पुगेका थिए। हाल श्रम स्वीकृति निकालेर वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन्। ती मुलुकबाट आउने रेमिटेन्सको हिस्सा ७५ प्रतिशत हाराहारी रहँदै आएको छ। आर्थिक वर्ष २०७५/७६ मा नेपालमा आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे स्वास्थ्यका कारण कतार लगायतका गन्तव्य मुलुकले प्रवेशमा रोक लगाएपछि श्रमिकको सुरक्षाका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूताबास सक्रिय हुनुपर्ने बेला आएको बताउँछन्। कतिपय व्यक्ति भने चीनबाट जसरी विद्यार्थीलाई उद्धार गरियो त्यसरी कोरोना फैलिएका मुलुकबाट पनि श्रमिकको उद्धार गर्नुपर्ने तर्क गर्छन्। ‘चीनमा अध्ययन गर्न गएका विद्यार्थी र कतार लगायतका मुलुकमा काम गर्न गएका श्रमिकको स्वास्थ्य अवस्था एउटै हो,’ एक व्यवसायीले भने, ‘त्यसैले सरकारले कोरोना प्रभावित खाडी लगायत जुनसुकै मुलुकमा रहेका नागरिकको स्वास्थ्यमा समस्या आउन नदिन चनाखो भएर काम गर्नुपर्‍यो।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024