श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव भन्छन्– कामदार ल्याउने परराष्ट्रले हो, भाडा तोक्ने पर्यटनले हो, हामीले यसो गर भन्न सक्दैनौँ

15 June, 2020

विदेशमा महिनौँदेखि रोजगारी गुमाएर नेपाली कामदार अलपत्र परेका छन् । तर, नेपाल सरकारले अहिलेसम्म पनि उद्धार गर्न सकेको छैन नि । किन ? 

विदेशमा अप्ठ्यारोमा परेका नेपाली आइरहेका छन् । सबैलाई एकैपटक ल्याउन सकिन्न । बिस्तार–बिस्तार आउनेछन् । कस्ताकस्ता नेपालीलाई ल्याउने भनेर नेपाल सरकारले तोकेको क्राइटेरियामा पर्नेलाई तत्काल उद्धार गर्ने निर्णय भएको छ ।

विदेशमा रोजगारी सुरक्षित भएका, पारिश्रमिक पाइरहेका नेपाली मजदुरले घर फर्कन खोजेका होइनन् । काम र दाम गुमाएका मजदुर आउन खोजेका छन् । यसरी देशका लागि रेमिट्यान्स ल्याउन गएका नेपाली दुःखमा पर्दा उनीहरूलाई सरकारले निःशुल्क उद्धार गर्न किन सकेन ? उनीहरूबाट चर्को भाडा किन उठाइरहेको छ ?

उनीहरूलाई सस्तोभन्दा सस्तो भाडामा ल्याउने भन्ने सरकारको नीति हो । त्यो पनि तिर्न नसक्नेलाई सरकारले आफैँले पनि भाडा तिरेर ल्याउने हो । त्यसमा हामी तयार छौँ । त्यसरी नै कुराकानी भइरहेको छ ।

सरकारले नेपालीलाई उद्धार गर्ने भनेर जुन भाडा तोक्यो, त्यो सामान्यभन्दा तीन गुणाभन्दा धेरै थियो । पटकपटक गरेर घटाउँदा पनि दोब्बर पर्ने देखिन्छ । तपाईंले भनेजस्तो सस्तो भाडा यो कसरी भयो ?

ओमानबाट हाम्रो प्लेन गएर ल्याउने भनिएको थियो । तर, त्यहाँको राजदूतले सस्तो भाडामा अर्को प्लेन खोजेर पठाउनुभयो त । त्यसलाई सरकारले त रोकेन नि । हामी यस्तै क्राइटेरियामा जाँदै छौँ । कसैले पनि श्रमिकको शोषण गर्न पाइँदैन । त्यसैले न्यूनतम भाडादरमा ल्याउने, त्यो पनि तिर्न नसक्नेलाई सरकारले तिरिदिने भनेको छ ।

नेपाली मजदुर अप्ठ्यारोमा परे, उनीहरूलाई उद्धार तथा सहयोग गर्न कल्याणकारी कोष स्थापना भएको छ । मजदुर विदेश गएर पैसा कमाएपछि होइन, जानुअघि नै कोषमा पैसा जम्मा गरेपछि मात्र श्रमस्वीकृति पाउँछन् । त्यो कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी जम्मा भएको छ । मजदुर अप्ठ्यारोमा पर्दा त्यो कोष परिचालन हुन सक्दैन भने कोषको प्रयोजन के हो ?

त्यही कोषको रकम प्रयोग गरेर भाडा तिर्न नसक्ने कामदारको भाडा तिरिदिने भनेको हो । कल्याणकारी कोषको रकम खर्च गर्ने पनि केही आधारहरू छन् । अहिले आउने कामदारमध्ये कतिपय श्रम स्वीकृति लिएर गएका, कल्याणकारी कोषमा १५ सय वा २५ सय रुपैयाँ तिरेर गएका छन् । तर, कतिपय गैरकानुनी रूपमा, भिजिट भिसामा वा अन्य कुनै हिसाबले गएका पनि छन् । गैरकानुनी रूपमा गएका वा भिजिट भिसामा गएकाहरूलाई कल्याणकारी कोषको पैसाले ल्याउन सकिँदैन ।

श्रम मन्त्रालयले वा कल्याणकारी कोषले विदेशबाट नेपाली नेपाल आइसकेपछि एयरपोर्ट वा होल्डिङ सेन्टरमा गएर उनीहरूलाई सहयोग गरिरहेको छ । नेपाल आइसकेका कामदारलाई आ–आफ्नो स्थानीय तहमा जान यातायातको सुविधा दिने गरी कार्यक्रम बनेको छ । होल्डिङ सेन्टरमा कामदारहरू बसुन्जेल उनीहरूलाई टेलिभिजन लगाइदिने, मनोरञ्जनको व्यवस्था गरिदिने, मनोविद्हरूको काउन्सिलिङ उपलब्ध गराउने काम हामी गरिरहेका छौँ ।

भाडा तिर्न नसक्ने मजदुरको भाडा तिरिदिने भन्नुभयो । त्यसरी कल्याणकारी कोषको रकम तिरेर नेपाली ल्याउन थाल्नुभयो त ? अहिलेसम्म कतिजना त्यसरी सरकारले तिरिदिएको भाडामा आए ?

अहिलेसम्म सरकारले नै भाडा तिरिदिनुपर्ने कोही पनि देखापरेका छैनन् । त्यस्तो देखाप¥यो भने तिरिदिने हो ।

विदेशबाट उद्धार गर्ने श्रमिकले तिर्ने भाडाको विषयमा पक्कै पनि श्रम मन्त्रालयसँग छलफल भएकै होला । विषय मजदुरले भाडा तिर्नैपर्ने हो भने पनि प्रतिस्पर्धाका आधारमा सस्तोमा आउन पाउनु उनको अधिकार हो । तर, सरकारले एयरलाइन्स कम्पनीहरूबीच प्रतिस्पर्धा नगराई दुई–तीन गुणा महँगो पैसा किन असुुल्दै छ ?

भाडा तय गर्ने विषयमा श्रम मन्त्रालयसँग कुनै छलफल भएको छैन ।

तैपनि विदेशी एयरलाइन्स कम्पनीहरूले सस्तोमा लग्छौँ भन्न सक्ने, आफ्नै देशको सरकारले सञ्चालन गरेको एयरलाइन्सले महँगो असुल्ने पाउने निर्णय कसरी भयो ? विदेशी एयरलायन्ससँग प्रतिस्पर्धा किन गराइएन । हिमालय एयर र नेपाल एयरलाइन्सबीच पनि प्रतिस्पर्धा किन भएन भन्ने विषयमा त तपाईंलाई जानकारी पक्कै होला ? 

भाडाको विषय व्यापारिक कुरा हो । एयरलायन्सले आफ्नो भाडा तयार गर्ने हो । नेपाल एयरलायन्सलाई यति नै भाडामा कामदार ल्याइदे भन्ने स्थिति छैन । प्रतिस्पर्धा गराउने र भाडा तय गर्ने विषय पर्यटन मन्त्रालयले हेर्ने हो । त्यो पनि एउटा सरकारी निकाय हो । एयरलायन्सहरू व्यापारिक संस्था भएकाले सबै कुरा व्यापारिक रूपमा सोच्छन् । अर्को समस्या के छ भने एउटा सिट छोडेर ल्याउनुपर्ने हुन्छ । त्यसैले आधा क्षमतामा मात्रै यात्रु ल्याउन सकिन्छ । त्यसले पनि भाडा बढी पर्न गएको छ ।

तर, सरकारले भाडा तोक्दा नै ८५ प्रतिशत यात्रु नभई उडान नगर्ने भनेको छ । कसरी आधा यात्रु मात्रै बोक्ने भन्ने भयो र ?

सामाजिक दूरी कायम गरेर यात्रु ल्याउनुपर्छ । त्यसो गर्दा पनि धेरै महँगो पर्न जान्छ ।

तर, हिमालय एयरलायन्स र नेपाल वायुसेवाको व्यापार बढाउन कामदारले महँगो भाडा तिरिदिनुपर्ने हो र ? 

यसमा मेरा पनि सीमितता छन् । म श्रमिकको हकमा बोल्ने, अभियान गर्ने र कराउने काम मात्रै गर्न सक्छु । मेरो मन्त्रालयको भूमिका जे छ, म त्यसैमा सीमित हुन्छु । त्यसभन्दा बाहेक परराष्ट्र मन्त्रालयलाई मैले यसै गर भन्न मिल्दैन । पर्यटनलाई पनि यसै गर भन्न मिल्दैन ।

विदेशबाट कामदारको कसरी उद्धार गर्ने विषयमा पनि तपाईंहरूसँग सल्लाह भएको छैन उसो भए ?

स्पष्ट रूपमा भन्दा यो परराष्ट्र मन्त्रालयको समन्वयमा हुन्छ, त्यसमा हाम्रो भूमिका हुँदैन । हामीचाहिँ यहाँ आएका कामदारलाई सेवा दिन्छौँ ।

तपाईं श्रम मन्त्रालयको नेतृत्वमा हुनुहुन्छ । मजदुर अप्ठ्यारोमा पर्दा काम गर्ने मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, तपाईंको नेतृत्वमा छन् । विदेशमा नेपाली कामदार यति ठूलो समस्यामा पर्दा केही गर्न नसक्ने हो भने तपाईं के नैतिकतामा नेतृत्वमा हुनुहुन्छ ?

यो सबै समन्वय विदेशका राजदूतमार्फत हुने रहेछ । जुन देशबाट कामदार ल्याउनुपर्ने हो, त्यही देशको राजदूतले व्यवस्थापन गर्छ । उसले समन्वय पनि उसको लाइन मन्त्रालय अर्थात् परराष्ट्र मन्त्रालयलाई नै गर्छ । श्रम मन्त्रालय त होइन । त्यसैले यो सबै व्यवस्थापन परराष्ट्र मन्त्रालयले नै गर्ने भएको हुनाले एकद्वार प्रणालीबाटै काम होस् भनेर हामीले यस्तो व्यवस्था गरेका हौँ ।

दूतावासहरूमा श्रम मन्त्रालयका प्रतिनिधिहरू अर्थात् श्रम सहचारी पनि हुन्छन् नि ?

सबै ठाउँमा श्रम सहचारी छैनन् । भए पनि उनीहरूको कार्यालय प्रमुखका रूपमा राजदूतले नै निर्णय गर्ने हो ।

विदेशमा भएका श्रमिक कुन अवस्थामा छन्, के सहयोग गर्नुपर्ने हो सबै कुरा हेर्ने त श्रम मन्त्रालय नै हो नि ?

श्रमिकको विषयमा श्रम सहचारीले हेर्छ, तर ऊ दूतावासको अधीनमै हुन्छ । फाइनल अथोरिटी राजदूत नै हुन्छ ।

त्यसो भए श्रम मन्त्रालय र यसअन्तर्गतका निकायचाहिँ अहिलेसम्म के गरेर बसेका छन् त ? 

मैले भनिसकेँ नि । तपाईंले फलो गर्नुभएन ?

विदेशमा अप्ठ्यारोमा परेका कामदारको उद्धार गर्ने, त्यहाँ मृत्यु हुनेको शव ल्याउने नैतिक मात्रै होइन, कानुनी जिम्मेवारी पनि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको हो । कामदार मात्रै होइन, विदेशमा एक सयभन्दा बढी शव अलपत्र छन् । त्यो जिम्मेवारीचाहिँ पूरा गर्नुपर्दैन ?

शव ल्याउने काम हुन्छ । परिवारका सदस्यले शव त्यहीँ दाहसंस्कार गरिदेऊ भनेर अनुमति दिए भने उतै दाहसंस्कार गरेर ५० हजार रुपैयाँ उसको घरमा बोर्डले नै पु¥याइदिन्छ । त्यस्तो भएन भने उनीहरूको शव प्लेनमा राखेर दूतावासले नेपाल पठाइदिन्छ । त्यसपछि त्यसलाई गाडीमा राखेर उसको घरसम्म पु¥याइदिने काम पनि बोर्डले गर्छ ।

अप्ठ्यारोमा परेका मजदुरको उद्धार गर्ने जिम्मेवारी पनि कानुनले बोर्डलाई नै दिएको छ नि ?

उच्चस्तरीय समितिले कामदारले आफ्नो भाडा आफैँले तिर्ने भन्ने निर्णय गरेको छ । तर, उद्धार गरिएका मजदुर नेपाल आएपछि घरसम्म जाने भाडा बोर्डले तिरिदिइरहेको छ । यो पनि ठूलो सहयोग हो नि । यो लेबललेबलको कुरा हो । विदेशको पाटो दूतावासले हेर्छ, नेपालभित्र ल्याइसकेपछिको पाटो अर्को हो । त्यसमा बोर्डले काम गरिरहेको छ । प्रदेशहरूले पनि भूमिका खेलेका छन् । समन्वयकै आधारमा सबै काम हुन्छ ।

कामदारलाई नेपाल ल्याएपछि क्वारेन्टाइनमा राख्न थ्री स्टार, फोर स्टार होटेलको व्यवस्था गरिएको छ । पैसा कामदारले नै तिनुपर्ने हो ?

हो, त्यसमा बसेको पैसा कामदारले तिर्नुपर्ने हो ।

खाडी–मलेसियामा काम गर्ने नेपाली मजदुरको आयस्तर के छ भन्ने दुनियाँलाई थाहा छ । सरकारलाई थाहा नहुने प्रश्नै भएन । तर, पैसा तिर्नुपर्ने भएपछि उनीहरूको आर्थिक हैसियतअनुसारको होटेलसँग समझदारी गर्न तपाईंहरूले किन सक्नुभएन ?

टेलमा बस्नैपर्ने बाध्यता छैन नि त । हरेक प्रदेश र स्थानीय तहहरूले व्यवस्था गरेको क्वारेन्टाइनमा विनाशुल्क राख्ने व्यवस्था छ । जसले म पैसा तिर्न सक्छु, काठमाडौंमै बस्छु भन्यो भने ऊ बस्न सक्छ ।

हाम्रा क्वारेन्टाइनको हालत कस्तो छ भन्ने त तपाईंलाई थाहै छ । थोरै पैसा तिरेर होटेलमा बस्न पाए कामदार त्यहीँ बस्थे होला । तर, कामदारले तिर्न सक्ने दर तोक्नचाहिँ किन नसकिएको ? लिकति सुरक्षित पनि हुनुप¥यो । अलि एकान्त पनि होस् भनेर होटेल तोकिएको छ । तपार्इंले भनेजस्तो होटेलको दर महँगो छैन । दुई हजार रुपैयाँदेखि पैसा तिरेर कामदार बस्न सक्छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026