श्रम मन्त्रालयमा अब विगतको जस्तो कटुता रहँदैन : श्रममन्त्री

10 January, 2020

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले अब आफ्नो मन्त्रालयमा विगतमा जस्तो कटुता नहुने प्रस्ट पारेका छन्। वैदेशिक रोजगार बोर्डको सचिवालयले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले मन्त्रालय र अन्य निकायबीच बढेको खाडल अन्त्य गर्न आफूले पहल गर्ने बताए।

‘वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सबैसँग मिलेर काम गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसैले विगतको जस्तो कटुता अब अन्त्य हुन्छन्।’ सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवाला निकायसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विनोद केसीले सरकार बाध्यताको वैदेशिक रोजगारीलाई अन्त्य गर्ने प्रयासमा रहेको बताए। वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि सुझाव संकलन गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्रालयका सहसचिव उमेश ढुंगाना, पूर्व सचिव पूर्णचन्द्र भट्टराई र रामेश्वर नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए।

ती कार्यपत्रमा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन यसअघि नै निर्णय भइसकेको निःशुल्क भिसा र टिकटको निर्णय लागू हुनुपर्ने, सीप सिकेर मात्र युवालाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने, रेमिटेन्सलाई उपयुक्त क्षेत्रमा प्रयोग गर्न ठोस योजना बनाउनुपर्ने लगायत सुझाव दिइएका छन्। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विश्वव्यापीकरण र पुँजीवादका कारण आप्रवासनलाई नियन्त्रण गर्न सम्भव नभएको बरु सबैको प्रयासबाट मर्यादित र व्यवस्थित गर्न जरूरी रहेको बताए।

पछिल्ला दिनमा वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित गर्नुपर्ने आवाज उठ्दै गए पनि वैदेशिक रोजगारीमा जोखिम थपिएका छन्। स्वास्थ्य परीक्षण गरेर वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुक पुगेको युवाको अकालमै मृत्यु हुने गरेको, रोजगारीका नाममा ठगीमा हुने क्रम बढेको सरकारी तथ्यांकले देखाइरहेको छ। स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै हाल वर्षमा पाँच लाख हाराहारीका युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024