श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

7 January, 2022

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २३ गते । पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् ।

पछिल्लो सातादेखि कतारमा दैनिक औसत ५०० जना कोरोनाका नयाँ सङ्क्रमित देखिने गरेका छन् भने साउदी अरबमा दैनिक औसतमा ७०० भन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । यस्तै कुुवेत र यूएईमा दैनिक एक हजारको हारहारीमा नयाँ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।

कतार, साउदी, यूएई, कुवेत र ओमानमा रहेका नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै सम्बन्धित देशले लागू गरेका सबै स्वास्थ्य मापदण्ड तथा रोकथामका उपायको कडाइका साथ पालना गर्न नेपालीलाई अनुरोध गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएका नेपालीका मुख्य श्रम गन्तव्य देशमा रहेको राजदूतावासले सूचना निकालेर मात्रै दायित्व पूरा नहुने भन्दै वैदेशिक रोजगारविज्ञ डा. गणेश गुुरुङले बढ्दो सङ्क्रमणका कारण नेपाली जोखिममा परेको खण्डमा उद्धारका लागि अहिलेबाटै पूर्वतयारीमा रहनुुपर्ने बताउनुुभयो ।

साउदी अरबको रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा दुुई साता अगाडिसम्म दैनिक कोरोना सङ्क्रमण दर ३० जनाभन्दा कम रहेकामा अहिले दैनिक ७०० माथि पुगेको छ । साउदीले बाहिर निस्किँदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको दूतावासको सूचनामा उल्लेख गरिएको छ ।

कतारमा रहेको नेपाली दूतावासले कतार सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । सूचनामा बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरेकाले सोबमोजिम सतर्क रहनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै नयाँ मापदण्डअनुसार कार्यक्रममा सहभागीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको हुनुपर्नेछ । कुवेतमा रहेको नेपाली दूतावासले कुवेतको सरकारले ९ जनवरीदेखि २८ फेब्रुअरीसम्म सबै कोठाभित्र हुने सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेकाले सतर्क रहन आग्रह गरेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा कुवेत प्रवेश गर्ने सबै यात्रुसँग यात्रा गर्नुपूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने उल्लेख छ । यसका साथै कुवेत सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप छिट्टै लगाउनसमेत अनुरोध गरेको छ ।

सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षण देखापरेमा नजिकैको स्वास्थ्य केन्द्र र अस्पतालमा तुरुन्तै सम्पर्क गर्न कुवेतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यूएईको अबुधाबीमा रहेको नेपाली दूतावासले यूएईले सार्वजनिक स्थानमा मास्क नलगाएको पाइएमा (तीन हजार दिराम) झन्डै एक लाख रुपियाँ जरिवाना तोकिएकाले यस जरिवानामा नपर्ने गरी यूएई सरकारले तोकेको स्वास्थ्य मापदण्ड सावधानीपूर्वक पालना गर्न नेपालीलाई आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024