श्रमिकलाई म्यानपावरवालाले भने-मलेसिया जानु अमेरिका सरह हो

19 Dec, 2019

‘मलेसिया जानु भनेको अमेरिका सरह हो,’ विदेश जान लागेका कामदारले एक लाख रुपैयाँ बढी किन तिर्ने भन्ने प्रश्नमा म्यानपावर व्यवसायीले दिएको जवाफ हो यो । यसले शुन्य लागतमा कामदार पठाउने सरकारी नीतिलाई व्यवसायीले कसरी मिच्दैछन् भन्ने प्रष्ट पारेको छ । वैदेशिक रोजगार विभागका अनुसार गुल्मी रेसुंगाका अनिल बिक, सन्दीप बिक र दीपकबहादुर सुनारसहित सुनसरी बराह नगरपालिकाका सन्तोष बिष्ट मलेसिया जाँदै थिए ।

मलेसियाको अबिबा प्लाष्टिक कम्पनीमा जानका महाराजगञ्ज स्थित लाइफ इन्टरनेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दानबहादुर सोमैलाई सम्पर्क गरे । तर, सुरुमै शर्त तेस्र्याइयो, मागेजति रकम दिनुपर्छ । उनीहरुले कम्तिमा प्रतिव्यक्ति १ लाखभित्रै पठाउन निकै अनुनय-विनय गरे । तर, सोमैको अडान रह्यो, ‘मलेसिया जानु भनेको अमेरिका जानु जस्तै हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न ।’

यो मलेसियन कम्पनीबाट नेपाल र मलेशियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्रि भिषा फ्रि टिकट अन्तर्गतको मागपत्र आएको थियो । उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा चारसहित ३६ जनाले श्रम स्वीकृति लिएका थिए । तर, बुधबार कामदारसँग ४ लाख ५० हजार लिँदै गरेको अवस्थामा रंगेहात विभागको टोलीले फेला परेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए । रोचक त के छ भने कामदारसँग पैसा लाइफ इन्टरनेशनलमा उठाइँदै थियो भने उनीहरुको श्रम स्वीकृति अर्कै म्यानपावरविन रिक्रुटमेन्टबाट निकालिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024