वैदेशिक रोजगार सम्बन्धी ठगीमा प्रहरीले कसरी गर्छ अनुसन्धान?

19 June, 2025

सन्जिब बगाले

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगिएका व्यक्तिहरू हरेक दिन आउँछन्। कोही प्रमाण लिएर आउँछन् त कसैसँग आफ्नो पीडा मात्र हुन्छ।

कोही युरोप, अमेरिका जाने प्रलोभनमा परेका हुन्छन् त कोही दलाल (बिचौलिया) ले बीच बाटामा अलपत्र पारेपछि फर्केर आएका हुन्छन्।

वैदेशिक रोजगारीका लागि पैसा बुझाएको भन्ने उजुरीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार विभागले अनुसन्धान गर्छ। अनुसन्धान त हुन्छ तर वैदेशिक रोजगार विभाग भन्दा दलालहरू एक कदम अगाडि हुन्छन्। दलालहरूले प्रमाण नपुग्ने गरी पैसा लिएका हुन्छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रहेका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार वैदेशिक रोजगारीको सन्दर्भमा ठगिनेको संख्या बढ्दो क्रममा छ।

पछिल्लो दस महिनामा पाँच सयभन्दा धेरै पीडितहरू उजुरी लिएर आएको उनको भनाइ छ।

‘युरोप र अमेरिका जाने क्रममा ठगिनेहरूको रकमको बिगो ठूलो हुने गरेको छ। वैदेशिक रोजगारीको ठगी मुद्दा वैदेशिक रोजगार विभागले हेर्ने भए पनि कतिपय अवस्थामा उजुरी प्रहरीमा आइपुग्छ,’ उनी भन्छन्, ‘कतिपय मुद्दा प्रमाण नपुगेर दर्ता गर्न सकिएको छैन।’

वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्नेको संख्या साढे ११ सयभन्दा धेरै देखिएको उनले बताए। कहीँकतै उजुरी दर्ता गराउन नसकेका व्यक्ति मात्र प्रहरी कार्यालय आइपुग्छन्।

ठगिएकामध्ये कतिपयलाई दलालले अनेक प्रलोभन र त्रास देखाएर उजुरी दिनबाट रोक्ने गरेका छन्।

वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान कार्यालयमा दस महिनामा दर्ता भएका उजुरीको बिगो एक अर्ब रूपैयाँभन्दा धेरै छ।

एसपी आचार्यका अनुसार वैदेशिक रोजगार विभागमा ६५ करोडभन्दा धेरै र अपराध अनुसन्धान कार्यालयमा ४० करोड रूपैयाँभन्दा धेरै बिगो दाबी भएको छ।

‘न्युजिल्यान्ड, पोर्चुगल, माल्टा, क्रोएसिया लगायत देशमा लैजाने भनेर बिचौलियाले ठगेको उजुरी हामीसँग धेरै आउने गरेको छ,’ उनले भने, ‘यी देशमा नेपालीहरू कामदारका रूपमा जान त्यति सजिलो छैन। तर बिचौलियाको विश्वास गरेर पीडित हुन्छन्।’

बिचौलियाहरू नेपाल बाहिर बस्ने भएकाले उनीहरूलाई छिटो कानुनी दायरामा ल्याउन कठिन हुने गरेको एसपी आचार्यको अनुभव छ।

‘विदेशमा बसेर बिचौलियाले एकपछि अर्को व्यक्तिलाई ठगेको देखिन्छ। ठग्नेहरू पीडितकै गाँउठाउँका हुन्छन्,’ उनले भने, ‘विदेशको रहनसहन र जीवनशैली अर्कै हुन्छ, पैसा कमाइ हुन्छ भनेर दलालले प्रलोभनमा पारेका हुन्छन्।’

यस्तो प्रलोभनमा परेर विदेश जान खोज्नेहरू ठगिने गरेका छन्। अमेरिका जान भनेर एकै जनाले दलाललाई ५० लाख रूपैयाँसम्म बुझाएको भन्ने उजुरी परेको छ।

दलालहरूले सुरूमा थोरै पैसा लिएर अर्को देशमा पुर्‍याएपछि परिवारमा फोन गरेर पैसा माग्छन्। यसरी पैसा माग्ने सिलसिला अन्तिम गन्तव्य मुलुकमा नपुगुन्जेल चलिरहन्छ। कुनै कारणले बीचैबाट फर्किनेहरूको पैसा फिर्ता हुँदैन।

ठगिनेहरूमध्ये धेरैले सामाजिक सञ्जालमा देखेको आकर्षक विज्ञापनका आधारमा पैसा बुझाएको पाइएको एसपी आचार्यको भनाइ छ।

‘जसको पैसा ठगिएको छ, उनीहरू आर्थिक रूपमा मात्र पीडित छैनन्, उनीहरूको पारिवारिक र सामाजिक जीवन पनि समस्यामा छ,’ उनले भने, ‘बिचौलिया खोज्ने क्रममा काठमाडौंमा डेरा गरेर बस्नुपरेको छ। धेरैतिर भौंतारिँदा उनीहरूले भोगेको पीडा अझै डरलाग्दो छ।’

उनका अनुसार विदेश जानुअघि त्यो देशमा काम गर्न आफ्नो सीप र क्षमता छ कि छैन भन्ने थाहा पाउनुपर्छ। वैदेशिक रोजगारीका लागि भनेर विवरण खुलाएर बैंकमार्फत पैसा बुझाउनुपर्छ। यसो नगरी प्रलोभनमा पर्ने र बलियो प्रमाणबिना बैंकबाहिर पैसा बुझाउनेहरू ठगिने गरेको एसपी आचार्यले बताए।

विदेशमा बसेर ठग्नेहरू पनि प्रहरी अनुसन्धानको घेराभन्दा बाहिर नभएको उनले बताए।

‘कतिपय कानुनी अवस्थाले गर्दा उनीहरू उम्किन पाएका हुन् तर पीडितको उजुरी र हाम्रो अनुसन्धानको आधारमा दोषी देखिएकालाई हामी छोड्दैनौं,’ एसपी आचार्यले भने, ‘विदेशमा बसेकै आधारमा उन्मुक्ति पाउँछु भन्ने भ्रममा नपरे हुन्छ। हाम्रो पहुँचमा आउनासाथ नियन्त्रणमा लिन्छौं।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024