वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई तीन महिने अल्टिमेटम

3 June, 2019

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिनाभित्र आफूहरूको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरूद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। संघका अध्यक्ष रोहन गुरुङले आफूहरूको माग ३ महिनाभित्र पनि सम्बोधन नगरे सरकारविरूद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।

संघले आफूहरूको माग सम्बोधन गराउन सरकारलाई दबाब दिँदै गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरूलाई जान प्रतिबन्ध लगाएको छ। त्यसै, कार्यक्रम अन्तर्गत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका भएका संघका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरूद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने स्पष्ट पारे। उनले सरकारले धरौटी राखिएको आफ्ना पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरू मर्ज गर्दा सुविधा दिनुपर्ने आफूहरूको माग बेवास्ता गरेपछि सरकारविरूद्ध आन्दोलनमा उत्रनु परेको पनि स्पष्ट पारे। संघका अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढी नेपाली युवाहरूलाई वैदेशिक रोजगारको व्यवस्था गरे पनि सरकारले आफूहरूको कामको सम्मान गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।

यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ। नेपाल राष्ट्र बैंकका निर्देशक नरबहादुर थापाले वार्षिक करिब ७ खर्ब ३३ अर्ब विप्रेषणको आप्रवाहलाई समेत संघको यो बन्दले प्रतिकूल असर पुर्‍याइरहेको बताए। सरकारी तथ्यांक अनुसार नेपालमा हाल ४३ लाख नेपाली नागरिकहरू वैदेशिक रोजगारमा गएका छन्। उनीहरूले पठाएको विप्रेषणको रकमबाट मुलुक धानिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024