वैदेशिक रोजगार भिलेज बनाइने

10 Mar, 2014

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले सेवाग्राहीलाई एउटै छानोबाट सबै सुविधा दिएर खर्च घटाउन ‘वैदेशिक रोजगार भिलेज’ को अवधारणा ल्याएका ्रछन् । उनले त्यसका लागि १२ देखि १५ रोपनी जग्गा खोजी भइरहेको जनाउँदै २/३ महिनाभित्र काम सक्ने बताएका छन् । ‘वैदेशिक रोजगार विभागमा ठाउँ अभावले भद्रगोल छ,’ राज्यमन्त्री गुरुङले भने, ‘सेवाग्राहीले दुःख पाएका छन् । यो अवस्थाको अन्त्य गर्न विभिन्न विभाग र शाखालाई एकै ठाउँमा व्यवस्थित रूपमा राखी सेवाग्राहीलाई एउटै छानामुनि सम्पूर्ण सेवा उपलब्ध गराउन वैदेशिक रोजगार भिलेज बनाउन खोजेको हुँ ।’ उनले त्यसका लागि उपयुक्त ठाउँ खोजी भइरहेको जनाए ।  योजनाअनुसार कतार शाखा, साउदी शाखा, मलेसिया शाखा, विभागको काठमाडौं शाखा, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यालय, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीको कार्यालयलगायत वैदेशिक रोजगारमा जाने कामदारसँग सम्बन्धित सम्पूर्ण कार्यालय एउटै छानामुनि ल्याइनेछ । यसले कामदारले वैदेशिक रोजगारीमा जान छरिएर रहेका विभिन्न कार्यालयमा पुग्नु पर्दैन । यसबाट कामदारको समय र पैसा बचत हुन्छ । त्यसबाहेक एकै ठाउँमा बस्दा भाडा र अन्य शीर्षकमा हुने विभागको खर्च पनि घट्ने जनाइएको छ । विभागले अहिले ठाउँ अभावले सेवाग्राहीको भीड बिहानैदेखि लाग्ने जनाएको छ । ‘अहिले विभागमा उपसचिवस्तरका कर्मचारी बस्ने ठाउँको समेत अभाव छ,’ विभागका महानिर्देशक कृष्णहरि पुष्करले भने, ‘वैदेशिक रोजगार भिलेज बने राम्रो हुन्छ । यस विषयमा राज्यमन्त्रीसँग सामान्य कुराकानी भइसकेको छ ।’ उनले वैदेशिक रोजगार भिलेज बनाउने विषयमा मन्त्रालयस्तरमा काम भइरहेको बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024