वैदेशिक रोजगारीमा ९ महिनामा ६०७ जनाको मृत्यु

16 Apr, 2018

कमल न्यौपाने

 

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये पछिल्लो नौ महिनामा ६ सय ७ को मृत्यु भएको छ। सबैभन्दा बढी मलेसियामा दुई सय नौको मृत्यु भएको हो। मृत्यु भएकामध्ये एक सय ४८ को मृत्यु हृदयाघातकै कारण भएकोे छ। पछिल्लो नौ महिनामा मृत्यु भएका कामदारमध्ये पाँच सय ९२ जना पुरुष र १५ जना महिला रहेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए।

 

काफ्लेका अनुसार यो अवधिमा ९९ ले आत्महत्या गरेका छन् भने प्राकृतिक कारणले ९८ को मृत्यु भएको छ। आत्महत्या गर्नेमा मलेसिया गएका कामदार बढी छन्। बोर्डका अनुसार साउदीमा एक सय ५४, मलेसियामा २०९, ओमनमा ९२, युएईमा ६९, कुवेतमा १४, दक्षिण कोरियामा १८ को मृत्यु भएको छ। वैदेशिक रोजगारीमा गएर नेपाली फर्किएपछि नेपालमै ३५ जना कामदारले ज्यान गुमाएको निर्देशक काफ्लेले बताए।

 

उनका अनुसार मृत्यु भएका ६ सय ७ मध्ये ट्राफिक दुर्घटनामा ९३, विभिन्न रोगका कारण ४७, कार्यस्थल दुर्घटनामा ४४, प्राकृतिक दुर्घटनामा ९८, हृदयाघातका कारण १४७, अन्य कारण ३६ मृत्यु भएको हो। एकको हत्या भएको हो भने ३१ को मृत्युका कारणबारे अनुसन्धान जारी छ। सबै मृतकका आफन्तले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आर्थिक सहायताबापत रकम लिइसकेका छन्।

 

काफ्लेका अनुसार ६ सय सात मृतकका लागि बोर्डले शुक्रबारसम्म ३२ करोड ७० लाख ८० हजार रुपैयाँ आर्थिक सहायताबापत प्रदान गरिसकेको छ। गत वर्ष असार मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा सात सय ५५ नेपालीको मृत्यु भएको थियो। गत वर्षको तुलनामा अहिले एरिया र कामदारको करार अवधि बढेका कारण यस वर्ष मृतकको संख्या बढेको देखिएको हो।

 

दैनिक तीन शव

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक दुईदेखि तीन शव आउने गरेका छन्। यी शव खाडीलगायत मुलुकबाट आउने गरेका हुन्। बोर्डका अनुसार चैतमा मात्रै ७० शव ल्याइएका छन्। कतिपय शव आएकोबारे बोर्डलाई दूतावासले नै थाहा नदिने कारण यकिन विवरणमा समस्या आउने गरेको काफ्लेले बताए। साउनदेखि चैतसम्मको तथ्यांक हेर्दा औसतमा प्रतिमहिना ६६ शव नेपाल ल्याइने गरेका छन्। आत्महत्या र सडक दुर्घटनाबाहेक स्वस्थ जीवनशैली नहुँदा, नियमित स्वास्थ्य परीक्षण नहुँदा हृदयाघात भएर धेरैको ज्यान जाने गरेको छ। पारिवारिक मनमुटाव, चर्को ऋण, श्रमसम्झौताअनुसार काम नहुनु, तलब–सेवासुविधा नपाउनुका कारण आत्महत्या बढेको अनुमान छ।

 

कुन देशमा कति ?

 

साउदी : १५४

 

मलेसिया : २०९

 

आमेन : ९२

 

युएई : ६९

 

कुवेत : १४

 

कोरिया : १८

 

नेपालमै आएर : ३५

 

अन्य : ११६

 

जम्मा : ६०७

 

       

के कारण ?

 

प्राकृतिक प्रकोप : ९८

 

आत्महत्या : ९९

 

हृदयाघात : १४८

 

ट्राफिक दुर्घटना : ९३

 

विभिन्न रोग : ४७

 

कर्मस्थल दुर्घटना : ४४

 

अनुसन्धान भइरहेको –मृत्युपछि) : ३१

 

अन्य : ३६

 

हत्या : एक जना

 

जम्मा : ६०७

 

स्रोत : वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024