वैदेशिक रोजगारीमा ४० लाख युवा महिला ३.४५ प्रतिशत मात्र

28 August, 2015

वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर जाने कामदारको संख्या ४० लाख पुगेको छ। सरकारले पछिल्लो समय विदेसिने युवाको संख्या घटाउने नीति ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन। 

 

साउनमामात्रै ३८ हजार ८१ जना युवा विदेसिएका छन्। श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ। यो निर्णयसँगै विदेसिने कामदारको संख्या ह्वात्तै घट्न सक्ने अनुमान गरिएको थियो। तर साउनको तथ्यांकले संख्या खासै नघटेको देखाएको छ।

 

श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन्। यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ। 

 

आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो।विदेसिनेको कुल संख्या बढे पनि देश तथा क्षेत्रगत आधारमा भने विविधता हुन सकेको छैन। 

 

वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तव्य खाडी मुलुक र मलेसिया हुने गरेको छ। देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबैभन्दा बढी छ । आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले पहल गरेको छैन। 

 

परम्परागत गन्तव्यमा मात्र सीमित हुँदा जाने संख्या बढे अनुपातमा नेपाली कामदारको सीप र कमाइमा भने गुणात्मक वृद्धि हुन सकेको छैन। अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा ९० प्रतिशतभन्दा अदक्ष र अर्धदक्षमात्र छन्। अदक्ष कामदारको बाहुल्य रहेकाले कमाई थोरै र काम जोखिमयुक्त भएको हो।

 

वैदेशिक रोजगारीमा जानेमा लैंगिक आधारमा ठूलो अन्तर देखिएको छ। सरकारको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा महिलाको संख्या जम्मा एक लाख ३७ हजार सात सय ५२ जना मात्र छ। 

 

पुरुषको संख्या ३८ लाख ६० हजार दुई सय ७२ पुगेको छ। प्रतिशतका आधारमा हिसाब गर्दा औपचारिकरूपमा वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष ९६.५५ प्रतिशत र महिला ३.४५ प्रतिशत छन्। 

 

अधिकांश परिवारमा पुरुष कमाउन बाहिर जाने र महिलाले घरको काम गर्ने प्रवृत्ति रहेकाले महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक धेरै भएको हो। देशगत आधारमा अध्ययन गर्दा मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार गएका छन्। 

 

हालसम्म १० लाख ५३ हजार ९७ जना नेपाली काम गर्न मलेसिया पुगेका छन्। मिल्दोजुल्दो हावापानी, तुलनात्मक रूपमा खुला समाज भएकाले त्यहाँ जान चाहनेको संख्या धेरै भएको हो। यसबाहेक मलेसियाले सन् २०१८ भित्र आफूलाई विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा पुर्‍याउने योजना बनाएको छ । 

 

यसका लागि पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा अत्याधिक लगानी बढाएकाले विदेशी कामदारको माग बढ्दो छ। सजिलै जान सकिने भएकाले नेपालका म्यानपावर कम्पनीले त्यहाँ कामदार पठाउन प्राथमिकता दिएका हुन्। 

 

नेपाली कामदारको रोजाइको दोस्रो मुलुक कतार परेको छ। कतारमा आठ लाख ४२ हजार ६ सय ३७ जना नेपाली काम गर्न पुगेका छन्। 

 

कतारपछि तेस्रो स्थानमा साउदी अरब परेको छ। साउदीमा अहिलेसम्म ६ लाख २७ हजार पाँच सय १० जना नेपालीले काम गरिरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024