रोजगारीको खोजीमा मलेसिया पुगेका दाङ नारायणपुरका भक्तबहादुर बस्नेत दुई महिना पनि नपुग्दै नेपाल फिर्ता हुनुपर्यो। एक लाख ६० हजार रुपैयाँ दलाललाई बुझाएर बिदेसिएका उनलाई त्यहाँ स्वास्थ्य परीक्षणमा फेल भएपछि रोजगारदाताले कामबाट निकालिदिए।
नेपालमै स्वास्थ्य परीक्षण गर्दा फेल भए पनि गाउँकै रेमन्त श्रेष्ठले दोहोर्याएर परीक्षण गर्दा पास भएको भन्दै नक्कली रिपोर्ट बनाएर मलेसिया पठाइदिएका थिए। सरकारले मलेसिया जाने कामदारसँग ८० हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने नियम बनाएको भए पनि उनले दलाललाई दोब्बर बढी पैसा बुझाएका थिए। ‘मलेसिया पुगेको डेढ महिनामा स्वास्थ्य परीक्षण गर्दा छातीमा दाग देखिएपछि मलाई नेपाल फिर्ता पठाइयो’, भक्तबहादुरले भने, ‘नेपाल फर्किएपछि दलालसँग पैसा फिर्ता माग्दा उल्टै मार्ने धम्की आयो। प्रहरीलाई खबर गरेपछि बल्लतल्ल ६० हजार रुपैयाँ फिर्ता पाएँ।’ २४ प्रतिशत ब्याज तिर्ने गरी गाउँका साहुसँग ऋण लिएर वैदेशिक रोजगारीमा गएका उनले रोजगारीबाट हात धुनु त पर्यो नै, ऋण काढेको एक लाख रुपैयाँसमेत डुब्यो। उनले अन्नपूर्णसँग भने,’अब साहुसँग लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ।’
वैदेशिक रोजगारीका क्षेत्रमा भएका ठगीको यो एउटा प्रतिनिधि घटनामात्रै हो। भक्तबहादुरजस्तै ठगिएका सयौं अन्य उजुरी वैदेशिक रोजगार विभागमा आउने गरेको छ। चालू आर्थिक वर्षको चार महिनामा मात्रै नक्कली स्वास्थ्य रिपोर्ट बनाएर पठाउने, जाने कामदारसँग रकम लिएर दलाल फरार हुने, सम्झौता एउटा तर काम र तलब अर्कै दिइएकोलगायतका नौ सय ९८ वटा उजुरी विभागमा परेको छ। महिनैपिच्छे उजुरी संख्या बढ्दो क्रममा रहेको विभागले उपलब्ध गराएको तथ्यांकले देखाउँछ। गएको कात्तिक महिनामा ६१ वटा ठगीका उजुरी दर्ता भएको छ।
क्यानडा जान पाइने लोभमा एक वर्षअघि दलाललाई अग्रीम पाँच लाख रुपैयाँ बुझाएका कास्कीका खेमराज अधिकारी अहिले चर्को मारमा परेका छन्। ‘पैसा लिएपछि दलाल बेपत्ता भयो। दुई महिनादेखि मोबाइल पनि स्विच अफ छ’, उनले भने। पैसा फिर्ता पाइने आसमा खेमराजले अहिलेसम्म सरकारी निकायमा उजुरी भने गरेका छैनन्। भक्तबहादुर र खेमराजजस्तै वैदेशिक रोजगारी नाममा ठगिएको भन्दै गएको चार महिनाको अवधिमा २२ करोड २७ लाख ४८ हजार रुपैयाँको दाबीसहितको उजुरी विभागमा परेको छ।
वैदेशिक रोजगार विभागमा चालू आर्थिक वर्षको चार महिनामा ठगीका नौ सय ९८ वटा उजुरी परेका छन्।
वैदेशिक रोजगार विभागले चार महिनामा अदालतमा ४६ वटा मुद्दा दायर गरिसकेको छ। विभागले संस्थागत ठगीमा सकेसम्म दुई पक्षलाई झिकाएर सहमति कायम गराउने गरेको छ भने व्यक्तिगत ठगीका धेरै मुद्दा अदालत पुर्याउने गरेको छ।
संस्थागतमा म्यानपावर कम्पनी पर्ने भएकाले सञ्चालकलाई बोलाएर छलफल गर्न सजिलो हुने विभागका अधिकारी बताउँछन्। जाने कामदार र पठाउने म्यानपावर कम्पनीका सञ्चालकलाई बोलाएर आपसी सहमति गरी गएको साउनदेखि कात्तिकसम्ममा चार करोड ७९ लाख ६६ हजार रुपैयाँ बिगो भराइसकेको छ। वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्की बिदेसिने कामदार धेरैजसो ग्रामीण क्षेत्रका अशिक्षित व्यक्ति हुने भएकाले दलालले उनीहरूलाई सजिलै झुक्याउन सकेको बताउँछन्। जनचेतना बढाउन नसकेसम्म ठगीका घटनामा कमी ल्याउन कठिन हुने उनको ठम्याइँ छ।
हाल कामको खोजीमा सरकारी अनुमति लिएर ३५ लाख नेपाली विदेशमा गएका छन्। अनुमति नलिई अवैध तरिकाबाट जानेको संख्या पनि २० हाराहारीमा रहेको अनुमान छ। दैनिक औसतमा १५ जना नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। जाने संख्यासँग ठगीका घटना पनि बर्सेनि बढ्दो क्रममा रहेको छ।